साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध इतिहास रच्ने अवसर

भाद्र २६ २०७५ ।

ढाकामा जारी साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुग्ने टोली मध्ये सबैभन्दा कमजोर प्रदर्शन माल्दिभ्सको देखिएको छ । समूह ‘बी’बाट १ अंक र विना गोल माल्दिभ्सले सेमिफाइनल सम्मको यात्रा तय गरेको छ । त्यो पनि गोलप्रथामा भाग्यशाली रहँदै । २ खेल जितेको भारत समूह विजेता हुँदा समान १ अंक जोडेको माल्दिभ्स र श्रीलंकाबीच समूह दोस्रोका लागि गोला प्रथा भएको थियो ।

त्यसअर्थमा यसपटक माल्दिभ्स सेमिफाइनल पुग्ने सबैभन्दा कमजोर टोली भन्दा फरक पर्दैछ । त्यहि माल्दिभ्सलाई यसपटक नेपालले प्रतिद्वन्द्विका रुपमा पाएको छ । जबकी नेपाल समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । नेपालले समूह चरणका २ खेलमा जित र १ खेलमा हार बहोरेको थियो । २ गोलको सामना गरेको नेपालले समूह चरणमा सबैभन्दा बढी ५ गोल गरेका छ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार नेपालका लागि ऐतिहासिक दिन हुने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप २०१८ को पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको सामना गर्दैछ ।
‘अहिले नेपाली टिम लयमा रहेको छ। अब हामी माल्दिभ्सलाई हराएर पहिलोपल्ट फाइनल पुग्नेमा आत्मविश्वासी छौं। टिममा कुनैपनि प्रकारको समस्या छैन र सबै खेलाडी शतप्रतिशत योगदान दिन तयार छन्,’ मंगलबार ढाकाको बंगलादेश फुटबल फेडेरेसनमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले भने। नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथोपटक हो। सार्क गोल्डकप सहित यो पाँचौं सेमिफाइनल हुनेछ। तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन।

नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन्। सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ। जसमा नेपाल ४ खेलमा विजयी रहेको छ। यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन। ‘पुरानो इतिहास धेरै नहेरौं, पछिल्लो समय हामी माल्दिभ्समाथि हाबी रहेका छौं। त्यसैले यसपल्ट पनि विजयी रहने विश्वास छ,’ प्रशिक्षक महर्जनले भने।

नेपालले २ वर्ष अगाडि भएको बंगबन्धु कपको सेमिफाइनलमा माल्दिभ्सलाई ४-१ ले हराएको थियो। त्यस खेलमा नवयुग श्रेषठले ह्याट्रिक गरेका थिए। त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई नै हराएको थियो।

‘अब हामी सेमिफाइनल जितको ह्याट्रिक गर्न चाहन्छौं,’ उनले भने।
सेमिफाइनल खेल अगाडि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान विराज महर्जनले सबै खेलाडी माल्दिभ्सलाई हराउनेमा आत्मविश्वासी रहेको बताए। उनले भने, ‘हामी आत्मविश्वासी छौं। तर यो चाहिने भन्दा बढी चाहिँ आत्मविश्वासी छैनौं। मैदानमै मेहनत गरेर जित निकाल्ने छौं।’

त्यसअवरमा प्रशिक्षक महर्जनले सेमिफाइनलको लागि नेपाली फुटबललाई माया गर्ने सबैको शुभेच्छा चाहिएको बताए। उनले भने, ‘भोलिको खेलमा बंगबन्धु रंगशालामै आएर नेपालीहरुले हाम्रो टिमको समर्थन गर्ने विश्वास गरेका छौं। यस्तै बंगलादेशी फुटबल फ्यानले पनि हामीलाई नै सपोर्ट गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं।’

नेपालले सेमिफाइनलमा पुग्न अगाडि लिग चरणमा भुटान र बंगलादेशलाई हराएको थियो। नेपाल पाकिस्तानविरुद्ध भने पराजित रहेको थियो। अर्को तर्फ माल्दिभ्सले लिग चरणमा कुनै खेल जित्न सकेको थिएन। यस्तै उसले अहिलेसम्म गोल पनि गर्न सकेको छैन। यसको ठिक उल्टो नेपालले लिग चरणमा ७ गोल गरेको थियो।

यो नेपाली फुटबल इतिहासमै कुनैपनि प्रतियोगिताको लिग चरणमा गरेको सबै भन्दा बढी गोल हो।
नेपाल र माल्दिभ्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार ३ बजरे ४५ मिनेटमा हुनेछ। यस्तै अर्को सेमिफाइनल नेपाली समयअनुसार पौने ७ बजे भारत र पाकिस्तानबीच हुनेछ।

साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्स हेड टु हेड
सन् १९९९ नेपाल विरुद्ध माल्दिभ्स (२–३) समूह चरण (हरि खड्काको दुई गोल)
सन् १९९९ नेपाल विरुद्ध माल्दिभ्स (०–२) तेस्रो स्थान
सन् २००३ नेपाल विरुद्ध माल्दिभ्स (२–३) समूह चरण (निराजन रायमाझी र देवनारायण चौधरी)
सन् २००८ नेपाल विरुद्ध माल्दिभ्स (१–४) समूह चरण (विसन गौचन)
सन् २००९ नेपाल विरुद्ध माल्दिभ्स (१–१) समूह चरण (जुमानु राई)
सन् २०११ नेपाल विरुद्ध माल्दिभ्स (१–१) समूह चरण (सन्दीप राई)

Comment with Facebook

Share This News !

Ads




shares