साफ च्याम्पियनसिप: नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

काठमाडौं, भाद्र २५ गते ।
नेपालले दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सको सामना गर्ने भएको छ । यसैगरी, समूह बीको विजेता भारतले समूह एको उपविजेता पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आयोजक दक्षिण एसियाली खेलकुद महासंघले दुवै सेमिफाइनल खेल बुधबार हुने जनाएको छ । समूह एको विजेता नेपालले समूह बीको उपविजेता प्रतिद्वन्द्वी पाउन टस कुर्नुपरेको हो ।

एकै गोलअन्तरमा पराजित
फुटबललाई त्यसै निर्दयी खेल भनिएको होइन । यो वास्तवमै कति निर्दयी छ, श्रीलंकालाई सोधे हुन्छ । अनि फुटबल कसैका लागि भाग्यमानी पनि हुनसक्छ । फुटबलले कसरी भाग्यको ढोका खोल्छ, यो भने माल्दिभ्सभन्दा अरू कसलाई अनुभव होला त ?

श्रीलंका र माल्दिभ्स भारतसँग समान २–० ले पराजित भएका थिए । मादिल्भ्स र श्रीलंकाले २ खेलबाट समान १ अंक बटुल्दा समूह बीको उपविजेता टोलीको छिनोफानो टसबाट गरिएको आयोजकले जनाएको छ । बंगलादेशको ढाकामा सञ्चालन भइरहेको साफ च्याम्पियनसिपमा पहिलोपटक टसबाट सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो भएको हो । टसमा माल्दिभ्सको भाग्य चम्कियो ।

माल्दिभ्स र श्रीलंकाको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो । यस्तोमा यी दुई समान अंक र गोल अन्तरमा रहे । त्यसैले भारतसँगै यो समूहबाट सेमिफाइनल पुग्ने टिमको निर्णय ‘टस’ बाट भयो र यसमा भाग्यमानी रह्यो माल्दिभ्स । टसको निर्णय आएलगत्तै माल्दिभ्सका खेलाडीले मैदानमै खुसी मनाए । अर्कोतर्फ मैदानमा उपस्थित केही श्रीलंकाली खेलाडीको अनुहारमा स्पष्ट निरासा देखियो । आखिर उनीहरूले के नै गर्नसक्थे । ‘हामी साँच्चै भाग्यमानी छौं । भाग्यले हामीलाई सेमिफाइनलसम्म पुर्याएको छ,’ माल्दिभ्सका प्रशिक्षक पिटर सेगरटले भने, ‘तर म दाबी गर्न सक्छु, माल्दिभ्स सेमिफाइनलको पूरा हकदार छ ।’

भारतसँग माल्दिभ्स पराजित
बगबन्धु रंगशालामा भारतले समूह बीको अन्तिम खेलमा माल्दिभ्सलाई २–० ले पराजित गर्यो । खेलको ३६औँ मिनेटमा निखिल पुजारीले भारतलाई १–० को अग्रता दिलाएका थिए । खेलको ४४औँ मिनेटमा मनवीर सिंहले भारतलाई २–० को अग्रता दिलाए ।

भारतले दुई खेलबाट ६ अंक बटुल्यो । भारतले अब फाइनल प्रवेशका क्रममा समूह एको उपविजेता पाकिस्तानको सामना गर्नेछ । भारतले साफ च्याम्पियनसिपमा राष्ट्रिय टोली पठाएको छैन । भारतले दोस्रो रोजाइको टोलीलाई बंगलादेशमा प्रतिस्पर्धा गराइरहेको छ । प्रतियोगिताबाट आयोजक बंगलादेश, भुटान र श्रीलंका बाहिरिएका छन् ।

नेपालसँग फाइनल खेल्ने चाहना
सन् १९९९ मा काठमाडौंमा भएको आठाैँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष फुटबल टोली फाइनलमा प्रवेश गरेको थियो । त्यसवेला नेपालका प्रशिक्षक स्टेफेन कन्स्टाइन थिए । अहिले उनै स्टेफेन भारतको सिनियर पुरुष फुटबल टोलीका प्रशिक्षक छन् । उनको प्रशिक्षणमा भारतले साफ च्याम्पियनसिपमा लगातार सेमिफाइनलमा स्थान बनाएको छ । प्रशिक्षक स्टेफेनले उपाधि भिडन्तमा नेपालसँग प्रतिस्पर्धा गर्ने चाहना भएको बताएका छन् ।

‘मेरो इच्छा भनेको नेपालसँगको फाइनल खेल हो,’ नेपालको पूर्वप्रशिक्षकसमेत रहेका स्टेफेनले भने । उनले प्रशिक्षण गराएका बालगोपाल महर्जनले अहिले नेपाली टोलीमा मुख्य प्रशिक्षकको भूमिमा निर्वाह गरिरहेका छन् । भारतीय प्रशिक्षक स्टेफेनले बालगोपालको प्रशिक्षणमा नेपालले साफमा राम्रो प्रदर्शन गरिरहेको बताए । ‘बालगोपालको प्रशिक्षणमा नेपालले ढाकामा राम्रो नतिजा निकालेको छ,’ स्टेफेनले भने ।

Comment with Facebook

Share This News !

Ads




shares