लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित

क्रोएसियन स्टार लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित भएका छन् । फिफाले व्यक्तिगत प्रदर्शनका आधारमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड पहिलोपटक हात पार्दै उनले रोनाल्डो र मेसीको एक दशकदेखिको वर्चस्व अन्त गरे ।

लन्डनमा एक समारोहबीच भएको अवार्ड वितरण समारोहमा अन्तिम तीन प्रतिस्पर्धी रोनाल्डो र मोहम्मद सलाहलाई पछि पार्दै मोड्रिच वर्षको उत्कृष्ट खेलाडी चुनिए । पूर्वटोटनह्याम मिडफिल्डर मोड्रिचले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधि जिताउन निर्णायक भूमिका निभाएका थिए भने विश्वकपमा क्रोएसियालाई ऐतिहासिक सफलता दिलाउँदै पहिलोपटक फाइनलमा पु¥याएका थिए । तर, फ्रान्ससँग पराजित हुँदै क्रोएसिया उपविजेतामा सीमित भएको थियो ।

मार्टा उत्कृष्ट महिला
उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्राजिलियन फर्वार्ड मार्टाले जितेकी छिन् । ओर्लान्डो प्राइडबाट खेल्ने मार्टाले अप्रिलमा सम्पन्न कोपा अमेरिकामा ब्राजिलको नेतृत्व गरेकी थिइन् । उनले यसअघि सन् २००६, २००८, २००९ र २०१० मा पनि उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी थिइन् । त्यस्तै, लिभरपुलका मोहम्मद सलाहले वर्षको उत्कृष्ट गोल अवार्ड ‘पुस्कास अवार्ड’ जितेका छन् । एभर्टनविरुद्धको गोलले उनलाई उपाधिसम्म पु-यायो ।

त्यस्तै, फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पार्न सफल भए । विश्वकपमा फ्रान्सलाई उपाधि दिलाएका डेसच्याम्पले रियल म्याड्रिडका जिनेदिन जिदान र क्रोएसियाका ज्लाट्को डालिचलाई पछि पार्दै उपाधि हात पारे । बेल्जियम गोलरक्षक थिवाउट कोर्टोइस उत्कृष्ट गोलरक्षक घोषित भए । पेरूका समर्थकले फिफा फ्यान अवार्ड हात पारेका छन् ।

फिफा ड्रिम टिम (विश्व ११)
गोलरक्षक– डेभिड डी जिया
डिफेन्डर– ड्यानी अल्भेस, राफेल भराने, सर्जिओ रामोस, मार्सेलो,
मिडफिल्डर– लुका मोड्रिच, एनगोलो कान्टे, इडिन हजार्ड
फवार्ड– लियोनल मेसी, केलियन एम्बाप्पे, क्रिस्टियानो रोनाल्डो

सबैको प्रयासले अवार्ड सम्भव
‘यो मेरा लागि नौलो अनुभवका साथमा ठूलो अवसर पनि हो । ट्रफीका लागि उभिँदै गर्दा सम्मानित महसुस गरिरहेको छु,’ उनले अन्तिम तीनमा मनोनीत भएका क्रिस्टियानो रोनाल्डो र मोहमद सलाहलाई सम्झिँदै उनीहरूले बितेको सिजनमा उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले भने, ‘यो अवार्ड मैले मात्र जितेको होइन, रियल म्याड्रिड र क्रोएसियाका समकक्षीहरूको पनि यसमा उत्तिकै हक छ । उनीहरू नभएको भए यो ट्रफी मेरो हुने थिएन ।’ साथै, उनले सम्पूर्ण समर्थक र अग्रजलाई पनि सम्झिए, ‘जसले मलाई फुटबलमा परिचित गराउनुभयो, जसले मलाई रसियामा केही गर्न सकिन्छ भन्ने ठूलो आत्मविश्वास दिनुभयो ।’

Comment with Facebook

Share This News !

Ads




shares