मेसी र रोनाल्डोलाई उछिन्न एमबाप्पे तयार

पेरिस (एजेन्सी), असोज १० गते ।
फ्रान्सेली राष्ट्रिय फुटबल टोली एवं पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलियन एमबाप्पेका लागि पछिल्लो एक वर्ष निकै सुखद बित्यो । मोटो रकममा पीएसजी अनुबन्धित भएर लिग जितेका उनले राष्ट्रिय टोलीका लागि विश्वकप पनि जिते ।

फ्रान्सलाई विश्वकप फाइनल पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका एमबाप्पेले फ्रान्सको विश्वकप यात्रामा गरेको प्रदर्शनका लागि प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी तथा सिल्भर बल नै हासिल गरे । उनले लगातार राम्रो प्रदर्शन गर्दा फ्रान्सको जित सहज भएको थियो । एमबाप्पेकै २ गोलमा फ्रान्सले राउन्ड अफ १६ मा अर्जेन्टिनालाई हराउँदै उपाधि यात्रामा अगाडी बढेको थियो । पीएसजीका लागि पनि उनले घरेलु प्रतियोगितामा सफलता दिलाउँदा अहम भूमिका खेले ।

फ्रान्सेली फुटबलका दिग्गज डेविड ट्रेजेग्वेटले भने यसै लयमा जाने हो भने एमबाप्पेले मेसी र रोनाल्डोलाई उछिन्न धेरै समय नलाग्ने बताएका छन् । सोमबार घोषित फिफाको उत्कृष्ट ११ खेलाडीमा समेत परेका एमबाप्पेले उत्कृष्ट खेलाडीको मतमा चौथो स्थान हासिल गरेका थिए । सन् २००० को युरोमा इटालीविरुद्ध फाइनलमा गोल्डेन गोल हान्दै टोलीलाई जित दिलाएका ट्रेजेग्वेटका अनुसार एमबाप्पे अब फुटबलको भविष्य जस्तै रहेका छन् ।

‘एमबाप्पे यस्ता खेलाडी हुन् जसले क्लब फुटबल मात्र नभएर अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा ठूलो प्रतियोगितामा आफूलाई सावित गरिसकेका छन् । उनले निरन्तर गोल र असिस्ट पनि गरेका छन्,’ ट्रेजेग्वेटले भने, ‘वर्तमान अवस्थामा उनी सबैभन्दा राम्रो फर्ममा भएका खेलाडी हुन् । समग्रमा भन्नु आधुनिक फुटबलका भविष्य उनी हुन् । अब मेसी र रोनाल्डो युग अन्त्यभएपछि उनले नै यो स्तर माथि उकास्नेछन् ।’

फ्रान्सेली टोलीमा राम्रो छाप बसाइसकेका एमबाप्पे क्लब फुटबलमा पनि सोहि लयलाई कायम राख्न चाहन्छन् । क्लबले यो सिजन च्याम्पियन्स लिग जित्ने लक्ष्य राखेको छ । त्यसका लागि युवा एमबाप्पे सँगै एडिन्सन कभानी र नेयमार उत्तिकै सहयोगी र मिहिनेती हुनु जरुरि छ । मेसी र रोनाल्डोको स्तरसम्म पुग्न च्याम्पियन्स लिग उपाधि मुख्य बाधक हो ।

Comment with Facebook

Share This News !

Ads




shares