नेमार जुनियर बने ब्राजिलीयन कप्तान

काठमाडौं, भाद्र २५ गते ।
ब्राजिलियन स्ट्राइकर नेमार जुनियर राष्ट्रिय फुटबल टोलीको पूर्णकालीन कप्तान बनेका छन् । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले नेमारलाई पूर्णकालीन कप्तान बनाएको जानकारी दिएका छन् । ब्राजिलले २ वर्षअघि घरमै आयोजित ओलम्पिकअन्तर्गत फुटबलतर्फ स्वर्ण जित्दा नेमार कप्तान थिए  ।
ओलम्पिक खेलकुद प्रतियोगितामा ब्राजिलले पहिलोपटक फुटबलमा स्वर्ण जितेको थियो । ब्राजिललाई ऐतिहासिक पदक दिलाएपछि नेमारले केही समयपछि कप्तानबाट राजीनामा दिएका थिए । अहिले पूर्णकालीन कप्तान भएपछि नेमारले करिअरमा ठूलो सम्मानका साथै चुनौती प्राप्त गरेको बताएका छन् । ‘यो मेरा लागि ठूलो सम्मान हो, यो कर्तव्य निभाउनका लागि सबथोक गर्न तयार छु,’ उनले भने, ‘पछिल्लो समय दबाबकै कारण कप्तानी छोडेको हुँ ।’

नेमार क्षमतावान् खेलाडी
प्रशिक्षक टिटेले नेमारमा राष्ट्रिय टोली हाँक्न सक्ने क्षमता भएको दाबी गरेका छन् । ‘नेमारको कुशल नेतृत्वमा ब्राजिलले पहिलोपटक ओलम्पिकमा स्वर्ण जितेको थियो, अहिले हामीले उनबाट यस्तै सफलताको आशा गरेका छौँ,’ टिटे भन्छन्, ‘उनको नेतृत्वमा ब्राजिलले राम्रो प्रदर्शन गर्ने विश्वास लिएको छु ।’

२०१८ को रसिया विश्वकपमा ब्राजिलको कप्तानी थियोगो सिल्भाले गरेका थिए । २०१६ को ओलम्पिकपछि ब्राजिलका एक दर्जनभन्दा बढी खेलाडीले कप्तानी भूमिका निभाए । जसमा थियोगो सिल्भा र मार्सेलोजस्ता स्टारले पनि राष्ट्रिय टिमको कप्तानी गर्ने मौका पाए । रसिया विश्वकपमा ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

Comment with Facebook

Share This News !

Ads




shares