सिपिएल लिगमा सन्दीपको किफायती बलिङ

काठमाडौं, साउन २८ गते ।
नेपालका युवा स्पिनर सन्दीप लामिछानेले क्यारिबियन प्रिमियर लिग (सिपिएल)मा लगातार दुई खेलमा उत्कृष्ट बलिङ गरेका छन् । उनी लगातार विकेट लिन सफल भएका छन् । सिपिएल लिगको दोस्रो खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सका लागि उनले क्रिस लेनको महत्वपूर्ण विकेटका लिए ।

प्याट्रियट्सको पहिलो जित
लिगमा प्याट्रियट्सले पहिलो जित दर्ता गर्यो । शनिबार राति भएको खेलमा प्याट्रियट्सले टोबागो नाइट राइडर्सलाई ४२ रनले हरायो । प्याट्रियट्सको जितमा सबै बलरले समान योगदान दिएका थिए । प्याट्रियट्सले पहिलो ब्याटिङ गरी ७ विकेटको क्षतिमा २ सय ३ रनको योगफल बनायो । प्रत्युत्तरमा राइडर्सले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।

सन्दीपको मेडन विकेट
राइडर्सका लागि वेस्टइन्डिजका अलराउन्डर सुनिल नारिन र अस्ट्रेलियन लेनले ओपनिङ गरेका थिए । कोटेलले सुनिलको विकेट लिँदै प्याट्रियट्सलाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि इनिङको तेस्रो ओभर बलिङ गर्न आएका सन्दीपले प्याट्रियसट्सलाई अर्को सफलता दिलाए । उनले लेनलाई क्लिन बोल्ड गरे । आफ्नो पहिलो ओभरमै सन्दीपले विकेट मात्र लिएनन्, मेडन ओभरसमेत फ्याँके । लेनले १० बलमा ६ रन मात्र बनाए । समग्रमा सन्दीपले ३ ओभर बलिङ गरी १ मेडन राखी १७ रन खर्चे ।

अन्तिम ओभरमा २ छक्का
पहिलो दुई ओभरमा कसिलो बलिङ गरेका सन्दीप अन्तिम ओभरमा खर्चिलो बने । इनिङको अन्तिम ओभर बलिङ गर्नेक्रममा सन्दीपले २ छक्काको सामना गरे । यसअघि उनले गरेका दुई ओभरमा विपक्षी ब्याट्सम्यानले केवल ३ रन मात्र खोसेका थिए । तर, अन्तिम ओभरमा कुपरले छक्का प्रहार गरेका थिए । कुपरले २२ बलमा ५ छक्का र २ चौकाको सहयोगमा ४२ रन जोडे । टी–२० फम्र्याटकै विस्फोटक ब्याट्सम्यान क्रिस गेलको कप्तानीमा रहेको प्याट्रियट्सबाट सन्दीपले गुएना अमेजनविरुद्ध सिपिएलमा डेब्यु गरेका थिए ।

ब्राभो र रामदिनमाथि दबाब
सन्दीपले आठौँ ओभरमा व्यक्तिगत दोस्रो ओभर बलिङ गर्ने अवसर पाए । उनले आफ्नो दोस्रो ओभरमा ३ रन मात्र दिए । उनको यो ओभर वेस्टइन्डिजका ड्वान ब्राभो र दिनेश रामदिनविरुद्ध थियो । ब्राभो र रामदिनले सन्दीपको ओभरमा बाउन्ड्री लगाउन सकेनन् ।

Comment with Facebook

Share This News !

Ads




shares