अफगान प्रिमियर लिगमा सन्दीप

काठमाडौं, भाद्र २६ गते ।
नेपालका युवा स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट जगत्मा एकपछि अर्को छलाङ मार्न सफल भइरहेका छन् । सन्दीपले इन्डियन प्रिमियर, क्यारेबियन र क्यानेडियन लिगपछि अब अफगानिस्तान प्रिमियर लिग (एपिएल)बाट खेल्ने भएका छन् । एपिएलको खेलाडी ड्राफ्टमा छनोट भएलगत्तै सन्दीपले यस सिजनमा चार विश्वस्तरीय लिग खेल्न लागेका हुन् ।

सन्दीपको नाम सिल्भर खेलाडीमा रहे पनि त्यसमा उनीमाथि भाउ लागेको थिएन । त्यसपछि आएको एसोसिएटको सूचीमा उनलाई रायन टेन डेस्काथेपछि दोस्रो नम्बरमा ५ सेकेन्डभित्र लिइएको थियो । एसोसिएट खेलाडीका रूपमा खेल्न लागेकाले सन्दीपले १५ हजार डलर पारिश्रमिक पाउने छन् । सन्दीपले आफ्नो एजेन्टमार्फत एपीएलमा दर्ता गरेका थिए । एपीएलको ड्राफ्टमा पर्नका लागि एजेन्ट वा सम्बन्धित देशको बोर्डको सिफारिस लिनुपर्ने हुन्छ । नेपालका कप्तान पारस खड्का र अर्का अलराउन्डर सोमपाल कामी पनि सोमबारको ड्राफ्टमा रहेका थिए । तर दुवै खेलाडीमा भाउ लागेन । सन्दीपले चौथो फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।

दुबईमा सोमबार भएको अक्सनमा नङहार क्लबले सन्दीपलाई अनुबन्ध गरेको हो । प्रतियोगिता ५ देखि २१ अक्टोबरसम्म सारजहाँ क्रिकेट मैदानमा हुनेछ । एपिएलमा पक्तिया, काबुल, नङहार, बल्ख तथा कान्दाहार क्लबले प्रतिस्पर्धा गर्नेछन् । सन्दीपको टोलीमा एन्ड्रय रुसेल, तामिन इक्वाल, मुजिब रहमान, वेन कटिङ, साफिल्लाह सफक, नाजिबुल्लाह, मिसेल मेक्लिनघन, मोहमद हफिज, मुस्फिकर रहिम, रहमत साह, नविन उलहक र जाहिर खान छन् ।

सन्दीप एसोएसिएट राष्ट्रअन्तर्गतबाट अनुबन्धित भएका हुन् । नेपालका कप्तान पारस खड्का र सोमपाल कामी अक्सनमा समावेश हुन सकेनन् । ड्राफ्टमा पक्तियाले पाकिस्तानका साहिद अफ्रिदीलाई आइकन खेलाडीका रूपमा राखेको छ । यसैगरी, काबुलले अफगानिस्तानका स्पिनर रसिद खान, नङहारले वेस्टइन्डिजका रुसेल, वल्खले वेस्टइन्डिजका क्रिस गेल तथा कान्दहारले न्युजिल्यान्डका ब्रेन्डन म्याककुलमलाई आइकन खेलाडीका रूपमा समावेश गरेका छन् । आइकन खेलाडीले १ लाख डलर पाउनेछन् ।

Comment with Facebook

Share This News !

Ads




shares