बल्ल संघीय संरचनामा जाँदै कांग्रेस,केन्द्रीय सदस्यको संख्या बढाइने

संविधान बनेको झन्डै तीन वर्षपछि कांग्रेसले आन्तरिक संरचना संघीय स्वरूपअनुसारको बनाउँदै छ । केन्द्रदेखि निर्वाचन क्षेत्रसम्मका आठ तहका समिति बनाउने गरी विधान मस्यौदा हुँदै छ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी पनि कांग्रेसको छ । नयाँ संरचनामा बुथ समिति, प्रादेशिक निर्वाचन क्षेत्रीय समिति र प्रदेश कार्यसमिति थपिनेछन् । प्रदेश कार्यसमिति ५१ सदस्यीय बनाउने सहमति लगभग भइसकेको छ । अरू तहका समितिको संख्या र अधिकारबारे टुंगो लाग्न बाँकी छ ।

मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले संविधानको भावनाअनुसार समावेशी र संरचनागत रूपमा कांग्रेस फेरिन लागेको बताए । ‘संविधान बनेको तीन वर्ष भइसकेको छ, तर हामीले अलि ढिलो भए पनि पार्टीका संरचनालाई संविधानको भावनाअनुसार फेर्दैछौं,’ उनले भने, ‘पार्टी संरचनाका सबै तहमा ३३ प्रतिशतको हाराहारीमा महिलाको प्रतिनिधित्व गराउनेसहितका समावेशिताका धेरै विषयलाई हामीले वैधानिक व्यवस्था गरेर जाँदै छौँ ।’

केन्द्रीय समिति १३१ सदस्यसम्म
वर्तमान कांग्रेस केन्द्र्रीय समिति ८५ सदस्यीय छ । मस्यौदामा १०१ देखि १३१ सदस्यीय समितिसम्म बनाउने तयारी छ । १०१, १११, १२५ वा १३१ मध्ये एकमा सहमति हुने संरचनासम्बन्धी उपसमितिका सदस्य आनन्द ढुंगानाले जानकारी दिए । ‘केन्द्रीय समिति बढ्छ, तर कति सदस्य हुने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । एक सयमाथि पुग्छ, पदाधिकारीहरूसँग छलफलपछि यसको अन्तिम टुंगो लाग्छ,’ उनले भने, ‘सदस्यतालाई अन्तिम रूप दिन बुधबार पदाधिकारीसँग मस्यौदा समितिले छलफल गर्छ ।’

यसरी बढ्दै आयो कांग्रेस केन्द्रीय समिति
२००३ असोजमा भारतमा बस्ने शिक्षित नेपाली युवाहरूले अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए । देवीप्रसाद सापकोटा सभापति रहेको यो समितिमा बालचन्द्र शर्मा उपसभापति, कृष्णप्रसाद उपाध्याय भट्टराई प्रधानमन्त्री र गोपालप्रसाद उपाध्याय भट्टराई प्रचारमन्त्री बनाइएका थिए । २००३ माघमा कोलकात्तामा भएको पहिलो महाधिवेशनले टंकप्रसाद आचार्यलाई सभापति र बिपी कोइरालालाई कार्यकारी सभापति बनायो । २००४ देखि २०१७ सालसम्म डिल्लीरमण रेग्मी अध्यक्ष बन्नेदेखि नेपाल प्रजातन्त्र कांग्रेस बन्ने, दुई कांग्रेस एक हुने, मातृकादेखि बिपी सभापति हुने, मातृकाको नेतृत्वमा कांग्रेस फुट्ने, २०१२ मा वीरगन्जमा भएको छैटौँ महाधिवेशनबाट सुवर्ण शमशेर सभापति हुनेदेखि २०१४ मा विशेष महाधिवेशनबाट बिपी कोइराला सभापति भए । २०१७ सालमा भएको सातौँ महाधिवेशनबाट पुनः बिपी सभापतिमा चुनिए ।

प्रजातन्त्र स्थापना भएपछि ०४८ सालमा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सर्वसम्मत रूपमा सभापतिमा चयन भए । कांग्रेसमा आठौँ महाधिवेशनसम्म सभापतिको मात्रै निर्वाचन हुन्थ्यो । केन्द्रीय पदाधिकारी र सदस्य सभापतिले आपसी सहमतिमा तय गर्थे । नवौँ महाधिवेशमा गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित भए । सभापतिसहित पाँच विकास क्षेत्र प्रत्येकबाट एक–एकजना केन्द्रीय सदस्य निर्वाचित हुने परम्परा थियो । १०औँ मा १८ केन्द्रीय सदस्य निर्वाचित र १८ जना मनोनीत भए । ११औँ महाधिवेशन दुई कांग्रेसले अलगअलग गरे । १२ र १३औँ महाधिवेशनमा कांग्रेसमा सभापति, महामन्त्री र कोषाध्यक्ष निर्वाचित भएका थिए ।

प्रदेश समिति ५१ सदस्यीय
पहिलोपटक अभ्यास हुन लागेको प्रदेश समिति ५१ सदस्यीय प्रस्ताव गरिएको छ । साथै, प्रदेश समितिको प्रमुखलाई केन्द्रीय समितिमा पदेन सदस्यको रूपमा उपस्थित हुन पाउने व्यवस्था गर्ने गरी मस्यौदा बनिरहेको छ । प्रदेश र केन्द्रबीच समन्वय गर्ने र पार्टीलाई तल्लो तहसम्म जोड्ने गरी सातवटै प्रदेशका लागि सहमहामन्त्री राख्ने कि भन्ने बहस पनि विधान मस्यौदाका क्रममा आएको समिति सदस्य आनन्द ढुंगानाले बताए ।

सदस्यताको स्वरूप फेरिने
यसअघि कांग्रेसमा साधारण र क्रियाशील सदस्यता मात्रै दिइँदै आएकोमा अब चार प्रकारका सदस्यता दिने गरी मस्यौदामा उल्लेख गरिएको छ । सदस्य ढुंगानाका अनुसार साधारण, क्रियाशीलपछि अब पार्टीमा विशेष योगदान गर्दै आएका, समाजमा योगदान पुर्याउँदै आएकालाई पनि समेटेर विशेष सदस्यदेखि मानार्थ सदस्यतासम्म बनाउने गरी छलफल भइरहेको छ ।

मस्यौदालाई अन्तिम रूप दिन यसरी जुट्दै छ समिति
तीनवटा उपसमितिले आ–आफ्नो क्षेत्रको मस्यौदालाई मूल समितिमा बुझाइसकेका छन् । अब मूल समितिले प्रारम्भिक मस्यौदालाई अन्तिम रूप दिन बुधबार बिहान ८ बजे पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै छ । उनीहरूसँगको छलफलपछि ३१ भदौसम्ममा विधानको प्रारम्भिक मस्यौदा तयार हुनेछ । त्यसपछि सातवटै प्रदेश प्रत्येकमा दुईदुईवटाका दरले विधानमा सुझाब माग्ने कार्यक्रम छ । जसमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, क्षेत्र, गाउँनगरका प्रतिनिधिले सुझाव दिनेछन् ।
त्यसपछि असोजको १५ सम्ममा केन्द्रीय समितिमा विधानको मस्यौदा बुझाउने तयारी महामन्त्री संयोजक रहेको विधान मस्यौदा समितिको छ । यही विधानले गरेका व्यवस्था पारित गर्ने, समसामयिक विषयमा छलफल गर्ने कार्यसूचीका लागि आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा महासमितिको बैठक बस्दै छ ।
यस्ता छन् आठ तहका समिति
-केन्द्रीय समिति
-प्रदेश समिति
-जिल्ला समिति
-संघीय निर्वाचन
क्षेत्रीय समिति
-प्रादेशिक निर्वाचन क्षेत्रीय समिति
-गाउँ/नगर समिति
-वडा समिति
-बुथ समिति

मतदातासँग नजिकबाट जोडिन बुथ समिति
मतदातासम्मको सम्बन्ध बढाउन बुथ समितिको अवधारणा ल्याएको कांग्रेसले जनाएको छ । बुथबाटै मतदाताको पारिवारिक तथ्यांक अध्ययन गर्न सकिने र संगठनलाई थप बलियो बनाउन सकिने कांग्रेसको निष्कर्ष छ । भूगोल र जनसंख्यालाई आधार मानेर एउटा वडामा तीनवटासम्म बुथसमिति बनाइनेछन् ।

पदाधिकारी ९, सभापतिमा पराजित वरिष्ठ नेता
कांग्रेसमा अहिले सभापति, एक महामन्त्री र एक कोषाध्यक्षको निर्वाचन हुन्छ । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्छन् । तर, अब दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री मनोनयन गरी नौ सदस्यीय पदाधिकारीको व्यवस्था गरिँदै छ । महाधिवेशनमा सभापतिसँग पराजित नेतालाई वरिष्ठ नेता बनाउने प्रस्ताव मस्यौदा विधानमा गरिएको छ । पदाधिकारी थप्ने विषयमा मस्यौदा समितिले पदाधिकारी र पूर्वपदाधिकारीसँग बुधबार छलफल गर्दै छ । उनीहरूले सहमति दिएपछि पदाधिकारी थपको विषयले औपचारिकता पाउनेछ ।

Comment with Facebook

Share This News !

Ads




shares