उमेर हद लगाउने बहसले नेकपाका विद्यार्थी संगठनमा पनि तरंग

काठमाडौं, असोज २३ गते ।
४५ वर्ष उमेर कटिसकेका अध्यक्षले नेतृत्व गरेको कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाइने भएपछि सत्तारुढ नेकपाका विद्यार्थी संगठनमा उमेरको बहस पुनः शुरु भएको छ । यसअघि तत्कालिन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३० वर्षे उमेर हद लगाउने बहस चले पनि कार्यान्वयन भएको थिएन ।

सर्वोच्च अदालतको आदेश बमोजिम क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्षभन्दा माथिकाले चुनाव लड्न नपाउने व्यवस्था कार्यन्वयन भइसकेपछि विद्यार्थी संगठनहरुमा उमेरहदको बहस चलेको थियो । तर नेतृत्वका दाबेदार अधिकांश नेताहरु ३५ वर्षभन्दा माथिका हुने गरेकाले विद्यार्थीको नेतृत्वमा उमेर हद लगाउन कठिन भएको छ ।

आइतबार मात्रै नेपाली कांग्रेसले विवादका बीच आफ्नो विद्यार्थी संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेपछि नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीभित्र पनि उमेरको बहसले पुनर्जीवन पाएको क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले बताए । उनले सकेसम्म दुई संगठनको एकीकरणबाटै उमेरको हद लगाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

अनेरास्ववियुमा उमेर हद र शैक्षिक योग्यताको बहस ३ वर्षअघिनै भएको थियो । तर तत्कालिन एमालेका अध्यक्ष केपी ओलीले विद्यार्थी राजनीति लोकसेवा पास गर्नका लागि नभएकाले उमेर र शैक्षिक योग्यताको बन्देज लगाउन नपर्ने भनेपछि अखिलमा उमेर हद लागेन ।

उमेर र शैक्षिक योग्यताको बहस अहिले पनि जारी रहेको र पार्टी एकीकरणपछि दुई विद्यार्थी संगठन एकता हुँदै गर्दा उमेर हद लगाउन सकिने अनेरास्ववियुकी सचिव आरती लामा बताउँछिन् । विद्यार्थी राजनीतिमा उमेर हद जरुरी भइसकेकाले आफूहरु पुनः यो बहसमा उत्रिएका लामाको भनाइ छ ।
उनले भनिन्-युवाको परिभाषा ४० वर्ष भनिएको छ । युवा संगठनमा ४० वर्षभन्दा माथिकाले बस्न नपाउने छ तर विद्यार्थीमा ४० कटेका पनि नेतृत्वमा छन् । म आफैं ३२ वर्ष हुन लागेँ, म नेतृत्वमा रहन्छु कि रहन्न भन्ने दोस्रो कुरा हो । तर विद्यार्थी संगठनमा उमेरको हद तोकिनुपर्छ ।

Comment with Facebook

Share This News !

Ads




shares