ओल्ड ट्राफोर्डमा चम्कियो रोनाल्डोको युभेन्ट्स

आफ्नै पूर्वक्लबविरुद्घ खेल्न लामो समयपछि ओल्ड ट्राफोर्ड फर्किएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई खेलको नतिजाले निराश बनाएन। च्याम्पियन्स लिगको बुधबार बिहान खेलिएको खेलमा रोनाल्डोको युभेन्ट्सले म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा १–० गोलले हरायो। समूह ‘एच’मा रहेको इटालियन सिरिए क्लब युभेन्ट्सले हालसम्म खेलेका तीनवटै खेलमा जित निकालेको छ।

रोनाल्डोले खेलमा गोल नगरे पनि निर्णायक गोलका लागि पास भने उपलब्ध गराएका थिए। खेलको १७औं मिनेटमा रोनाल्डोले उपलब्ध गराएको कलात्मक पासमा नै पाउलो डिबालाले गोल गरेका थिए। खेलका क्रममा युभेन्ट्सका खेलाडीले ६० प्रतिशत समय आफ्नो खुट्टामा बल नचाउँदै घरेलु टोलीलाई दबाबमा राखे पनि थप गोल भने गर्न सकेनन्। युभेन्ट्सका केही गतिला प्रहारलाई म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड डी गेयाले विफल पारेका थिए। युभेन्ट्सले विपक्षीको पोस्टमा कम्तीमा १० वटा सशक्त प्रहार गरेको थियो।

युभेन्ट्ससँग हारेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक होजे मोउरिन्हो थप दबाबमा परेका छन्। लामो समयदेखि म्यानचेस्टर युनाइटेडले घरेलु लिगमा समेत गतिलो प्रदर्शन गर्न सकिरहेको छैन। सोही कारणले पूर्वखेलाडीदेखि लिएर समर्थकसम्म मोउरिन्होसँग रुष्ट बनेका छन्। यो हारले समर्थकलाई झनै आक्रोशित बनाएको छ।

सन् २०१३ को मार्चयता घरेलु मैदानमा खेलिएका युरोपेली प्रतियोगितामा म्यानचेस्टरले भोगेको यो दोस्रो पराजय हो। सन् २०१३ मा रोनाल्डोकै क्लब रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई हराएको थियो। त्यति बेला रोनाल्डोले निर्णायक गोल गरेका थिए। हालसम्म खेलेका तीनवटै खेलमा जित हात पारेको युभेन्ट्स नौ अंकसहित पहिलो, म्यानचेस्टर युनाइटेड चार अंकसहित दोस्रो, भ्यालेन्सिया दुई अंकसहित तेस्रो र याङ ब्वाइज एक अंकसहित चौथो स्थानमा छन्।

युभेन्ट्स र म्यानचेस्टर युनाइटेडबीच आगामी नोभेम्बर ७ मा अर्को खेल हुनेछ। सोही समूहको अर्को खेलमा स्विस क्लब योङ ब्वाइजले घरेलु मैदानमा स्पेनिस प्रतिद्वन्द्वी भ्यालेन्सियालाई १–१ गोलको बराबरीमा रोक्यो। खेलको २६औं मिनेटमा भ्यालेन्सियाका लागि मिची बात्सुईले पहिलो गोल गरेका थिए। ५५औं मिनेटमा योङ ब्वाइजका गुइलाउम होराउले पेनाल्टीमार्फत जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

यसैगरी समूह ‘जी’ अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा चेक गणतन्त्रको भिक्टोरिया पल्जनलाई २–१ गोलले हरायो। खेलको ११औं मिनेटमा रियलका लागि करिम बेन्जेमाले पहिलो गोल गरे। ५५औं मिनेटमा मार्सेलोले टोलीको अग्रता दोब्बर बनाएका थिए। भिक्टोरिया पल्जनका लागि भने ७९औं मिनेटमा प्याट्रिक हर्सोभस्कीले जवाफी गोल गरेका थिए।
सोही समूहको अर्को खेलमा इटालियन क्लब रोमाले घरेलु मैदानमा रुसी प्रतिद्वन्द्वी सीएसकेए मस्कोमाथि ३–० गोलको जित हासिल गर्यो। रोमाका लागि एडिन डेकोले दुई गोलको योगदान गरे। उनले खेलको ३०औं र ४३औं मिनेटमा गोल गरेका थिए। अर्को एक गोल भने ५०औं मिनेटमा सेन्जिग अन्डरले गरेका थिए। तेस्रो चरणको खेलको समाप्तिपछि ६ अंकसहित रियल म्याड्रिड पहिलो, समान अंक बटुलेको रोमा दोस्रो, चार अंकसहित सीएसकेए मस्को तेस्रो र एक अंकसहित भिक्टोरिया पल्जन चौथो स्थानमा छन्।

डेको जारी सिजनको च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा बार्सिलोनाका लियोनल मेसीसँगै पहिलो स्थानमा उक्लिएका छन्। डेको र मेसी दुवैले पाँच÷पाँच गोल गरेका छन्। सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका युभेन्ट्सका पाउलो डिबालाको चार गोल छ। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का ब्राजिलियन खेलाडी नेमार तीन गोलसहित तेस्रो स्थानमा छन्।
यसैगरी समूह ‘एफ’ अन्तर्गतको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले युक्रेनी क्लब साख्तर डोनेस्कलाई उसैको मैदानमा ३–० गोलले पाखा लगायो। प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीका लागि डेभिड सिल्भा, आइमेरिक लापोर्ट र बेनार्डो सिल्भाले एक÷एक गोल गरे। सोही समूहको अर्को खेलमा जर्मन क्लब होफेनहिमले घरेलु मैदानको फाइदा उठाउँदै फ्रान्सेली क्लब लियोनलाई ३–३ गोलको बराबरीमा रोक्यो। सबै टोलीले तीन÷तीन खेल खेलिसक्दा ६ अंकसहित म्यानचेस्टर सिटी पहिलो, पाँच अंकसहित लियोन दोस्रो, दुई अंकसहित होफेनहिम तेस्रो र समान अंक भएको साख्तर चौथो स्थानमा छन्।

यसैगरी समूह ‘ई’ अन्तर्गतको खेलमा बलियो जर्मन क्लब बायर्न म्युनिखले ग्रिसको एईके एथेन्सलाई उसैको मैदानमा २–० गोलले हरायो। बायर्नका लागि जाभियर मार्टिनेज र रोबर्ट लेवान्डोवस्कीले एक÷एक गोल गरे। अर्को खेलमा नेदरल्यान्ड्सको आयाक्सले घरेलु मैदानमा पोर्चुगिज प्रतिद्वन्द्वी बेनफिकालाई १–० गोलले पराजित गर्यो। सात अंकसहित आयाक्स पहिलो, समान अंक बटुलेको बायर्न दोस्रो, तीन अंकसहित बेनफिका तेस्रो र अंक जोडन नसकेको एथेन्स चौथो स्थानमा आसीन छन्।

Comment with Facebook

Share This News !

Ads




shares