विप्लव समूहलाई प्रतिबन्ध ।

२८ फागुन , काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै नेपाल प्रहरीले समूहमा आवद्ध जोकोहीलाई जहाँ भेट्यो त्यहीँ नियन्त्रणमा लिने भएको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई आपराधिक घोषित गर्दै प्रतिबन्ध लगाएसँगै प्रहरीले आक्रामक नीति अपनाउने भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘मैले पनि प्रतिबन्ध लगाएको सुनेँ । तर, आधिकारिकरुपमा जानकारी आइसकेको छैन । यद्यपि, अब यो समूहका सदस्यलाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्छौं ।’

यसअघिझैँ समूहले सार्वजनिकरुपमा सभा, जुलुस पनि गर्न नपाउने सुवेदीले बताए । पर्चा, पम्प्लेट वितरण, संगठन विस्तारदेखि विप्लव समूहका सदस्यलाई आश्रय वा सहयोग दिने पनि कारबाहीको दायरामा आउने प्रहरीले जनाएको छ ।

‘यसअघि भृकुटीमण्डप, रत्नपार्क, शान्ति वाटिका लगायतमा समूहको कार्यक्रम भएको थियो । तर, अब कार्यक्रम गर्न पनि पाइँदैन’, उनले अनलाइनखबरसँग भने । उनका अनुसार समूहका सदस्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार वा कुनै निश्चित गतिविधिमा संलग्न भए सोही कसुर अनुसार कारबाही हुनेछ ।

यसअघि ०६२/०६३ को द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीलाई प्रतिबन्ध लगाएपछि आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजाय) ऐन, २०५८ अन्तरगत कारबाही गथ्र्यों । तर, मुलुकमा गणतन्त्र आएसँगै सो ऐन खारेज भएको छ ।

त्यसैले विप्लव समूहलाई कारबाहीका लागि छुट्टै व्यवस्था नहुँदा प्रहरीले मुलुकी संहितामा भएको अभद्र व्यवहारको कसुरअन्तरगत कारवाही गर्नेछ ।

Comment with Facebook

Share This News !

Ads




shares