चक्र बास्तोला सम्झेर शोकसभा

काठमाडौं, कार्तिक ८ गते ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गरेका छन् ।

सभापति देउवाले तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बास्तोलाले भारतमा बसेर पुर्याएको योगदानको स्मरण गरे । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेता बास्तोलाको निधन भएको १३ औं दिनमा आयोजित शोक सभामा बोल्दै उनले नेपालको राजनीति, समाजसेवा र कूटनीतिक क्षेत्रमा बास्तोलाले देखाएको बाटोबाटै पार्टीलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता बास्तोलाले नेपालको राजनीति, कूटनीति र समाजसेवामा दिएको योगदानको चर्चा गरेका छन् । उनले नेता बास्तोलालाई अदुभूत क्षमताका भएका नेताको रुपमा स्मरण गरे । उपसभापति निधिले नेता बास्तोलाले भारतसँगको सीमा समस्या समाधान सम्बन्धि लिएको अडानको पनि तारिफ गरेका छन् ।

शोकसभामा सम्बोधनका लागि बोल्न शुरु गरेका निधिको गला अवरुद्ध भयो । उनी केही सहज हुन प्रयास गर्दै थिए, तर सकेनन् । आँशु पुछे र थप बोल्न थाले । सम्बोधनका क्रममा बास्तोलालाई सम्झेर विक्षिप्त बनेका निधिले उनलाई निष्ठा र अदभूत क्षमता भएका नेताको रुपमा सम्झिनु पर्ने बताए । ‘किसुनजी र गिरिजा बाबु मात्रै होइन, सुशील कोइराला र शेरबहादुर देउवालाई मिलाएर लैजाने भूमिका उहाँले खेल्नुभयो,’ आँशु पुछ्दै निधिले बास्तोलाले विगतमा पार्टीको आन्तरिक विवाद मिलाउन खेलेको भूमिका स्मरण गरे । अहिलेको परिस्थितिमा बास्तोलाजस्तो नेताको आवश्यकता औंल्याउँदै निधिले उनको अभाव पार्टीमा खड्किरहने बताए ।

मस्तिष्क घातका कारण थलिएका नेता बास्तोलाको गत असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो । उनले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदुतको भूमिका पनि कुशलताका साथ निर्वाह गरेका थिए । नेता बास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित छन् ।

Comment with Facebook

Share This News !

Ads




shares