भारतसहित चार राजदूत नियुक्तिको प्रक्रिया अघि

काठमाडौं, कार्तिक ११ गते ।
सरकारले भारत लगायतका मुलुकमा राजदूत नियुक्तिको प्रक्रिया थालेको छ । पूर्ववर्ती शेरबहादुर देउवा सरकारको पालमा नियुक्त भएका तर कार्यकुशलता देखाउन नसकेका राजदूतलाई फिर्ता बोलाएर नयाँ राजदूत नियुक्तिको गृहकार्य सरकारले गरिरहेको छ । सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ ।

अर्को महिनाबाट अन्य देशमा पनि राजदूतको पदावधि सकिँदैछ । तर, पहिलो चरणमा भारत, मलेसिया, संयुक्त राष्ट्रसंघ र संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिने स्रोतले जनाएको छ । भारत र मलेसियाका लागि यसअघि राजदूत सिफारिस भए पनि निर्णय कार्यान्वयनमा ल्याइएको थिएन ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मापदण्ड बनाएर राजदूत नियुक्त गर्ने बताइसकेका छन् । सरकारले न्यूनतम स्नातक पास गरेको र अग्रेजी भाषा बोल्न जान्नेलाई राजदूत बनाउने मापदण्ड बनाउन लागेको छ । यसअघि राजनीतिक भागवण्डाका आधारमा कुटनीतिक मामिलाको जानकार नभएका म्यानपावर व्यबसायी र राजनीतिक दलका कार्यकर्तासमेत राजदूत बनेर गएका थिए ।

भारतको लागि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वपरराष्ट्रमन्त्री तथा नेकपाका नेता महेन्द्रबहादुर पाण्डे, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, नेकपाका सदस्य एवं नेपाल भारत प्रबुद्ध समूहका सदस्य डा राजन भट्टराइको समेत चर्चा हुने गरेको भएपनि नेताद्दय राजनीति मै सक्रिय रहने चाहाना देखाएका छन् ।

विशेष गरी भारतमा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूत बनाउने निर्णयप्रति सत्तारुढ नेकपाका शीर्ष नेताले नै असहमति जनाएपछि प्रधानमन्त्री ओलीपछि हटेका थिए । मलेसियाका लागि नेकपाका नेता महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस भएको थियो । नीलकण्ठको नाममा विवाद भएपछि अब भारतको राजदूत कसलाई पठाउने भन्नेबारेमा अहिलेसम्म प्रधानमन्त्रीले संकेत दिएका छ्रैनन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतको राजदूत बनाएर पठाउन योग्य व्यक्ति अहिलेसम्म भेटिएका छैनन् । कतिपयले पूर्वपरराष्ट्रमन्त्री तथा नेकपाका नेता महेन्द्रबहादुर पाण्डेको नाम चर्चा गरेका छन् ।

पाण्डे यसअघि ओली प्रधानमन्त्री हुँदा चीनको राजदूतमा सिफारिस भएका थिए । तर, ओली सरकार ढलेर प्रचण्ड नेतृत्वमा कांग्रेस माओवादी गठबन्धन सरकार बनेपछि सो सिफारिस रद्द गरिएको थियो । भारतको राजदूत कसलाई बनाउने भन्नेबारे शीर्ष तहमा अहिलेसम्म छलफल नभएको नेकपाका एक सचिवालय सदस्यले बताए ।

संविधान जारी भएलगत्त भएको नाकाबन्दी खुलाउन आफूले कुटनीतिक पहल गरेको भन्दै क्षेत्रीले राजदूत बन्न रुची राखेको स्रोतहरुको दावी छ । पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीको पनि राजदूत बन्ने सम्भावना प्रवल रहेको बताइन्छ । छिमेकी मुलुक भारतमा झण्डै ९ महिनादेखि राजदूत नियुक्त हुन सकेको छैन । तत्कालीन राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएपछि नयाँ दिल्लीको दूतावास कर्मचारीको भरमा चल्दै आएको छ ।

दिल्लीमा राजदूत नहुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीमा समेत प्रभाव परेको थियो । भारतसँग भएका रेल्वे लाइन विस्तार लगायत महत्त्वपूर्ण सम्झौता कार्यान्वयका लागि पनि प्रभावशाली व्यक्तिलाई राजदूत बनाएर पठाउने ओली सरकारको तयारी छ ।

त्यस्तै मलेसियाका लागि यसअघि सिफारिस भएकै उदयराज पाण्डेलाई राजदूत बनाइने सम्भावना छ । उनी एकपटक साउदी अरबको राजदूत भइसकेका अनुभवी हुन् । संयुक्त अरब इमिरेट्समा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई बनाउने तयारी मन्त्रालयको छ ।

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा मन्त्रालयका प्रवक्ता डा.भरतराज पौडेलको सम्भावना छ । सचिव शंकरदास बैरागी स्थायी प्रतिनिधिमा जान इच्छुक नदेखिएपछि बरिष्ठताको हिसाबले पौडेलको सम्भावना बढेको हो । बैरागीले भने सचिवको पूरा कार्यकाल मन्त्रालयमै बिताउने ईच्छा व्यक्त गरेका छन् ।

स्थायी प्रतिनिधिका लागि अन्य सहसचिवहरुले पनि लबिङ गरिरहेका छन् । सचिव नजाने भनेपछि दक्षिण अफ्रिकामा राजदूत रहेका अमृत राईले पनि आफ्नो पक्षमा प्रधानमन्त्रीको सचिवालयमा लबिङ गरेका छन् । स्रोतका अनुसार शाही शासनकालका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले आफ्ना छोरा निश्चलनाथ पाण्डेलाई राजदूत बनाइदिन पनि नेकपाका कतिपय नेतासँग लविङ गरिरहेका छन् ।

यसैबीच क्यानडा, दक्षिण अफ्रिका, थाइल्याण्ड, फ्रान्स, जेनेभा, कुबेत,थाइल्याण्ड र ब्राजिलमा पनि राजदूत नियुक्तिका लागि प्रक्रिया अघि बढाइने भएको छ । अब कूटनीतिक नियोगमा राजदूतको पदवाधि सकिनुअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने मापदण्ड पारित भएकाले मन्त्रालयले यसबारेमा गृहकार्य थालेको स्रोतले जनाएको छ ।

यी सबै नियोगमा परराष्ट्रका कर्मचारी राजदूत छन् । उनीहरुको कार्यकाल पुसभित्रमा सबैको सकिँदैछ । अब ती नियोगमा राजदूत सिफारिस गर्दा नयाँ मापदण्ड अनुसार नै गरिने भएको छ । खाली हुने र फिर्ता हुने सबै नियोगमा एकैपटक परराष्ट्रसेवा र विज्ञबाट बराबरीका आधारमा सिफारिस गरिने भएको छ ।

यसका साथै इजराजल, स्पेन, जापान, बंगलादेश, दक्षिण कोरिया र कतारका राजदूतलाई फिर्ता बोलाउने सम्भावना छ । उनीहरुका ठाउँमा विज्ञताका आधारमा राजदूत सिफारिस गर्ने तयारी सरकारको छ ।

स्पेनमा भरतजंग रायमाझी, जापानमा प्रतिभा राणा, बंगलादेशमा डा.चोपलाल भुसाला, दक्षिण कोरियामा अर्जुनजंगबहादुर सिंह र कतारमा रमेश कोइराला कार्यरत छन् । उनीहरु कांग्रेस र राप्रपाको कोटाबाट राजदूत भएका थिए ।

कांग्रेस कोटाबाटै राजदूत भएका श्रीलंकाका डा.विश्वम्भर प्याकुरेल र ओमानकी शर्मिला पराजुलीलाई भने फिर्ता नगरिने भएको छ । पराजुलीले बालुवाटारमा बलियो पकड बनाएकाले उनलाई फिर्ता गर्न नसकिने परराष्ट्र स्रोतले जनाएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares