नेपाल आर्मीलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लब सेमीफाइनलमा

बुटवल, फागुन ३० गते।
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब मंगलबार त्रिभुवन आर्मीलाई ३–० ले पराजित गर्दै २० औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।मनाङले झापा गोल्डकपमा आर्मीसँग बेहोरेको हारको बदला लिएको छ । आइतबार झापा गोल्डकप जितेको आर्मीले यहाँ भने दोस्रो रोजाइका खेलाडी उतारेको थियो । मनाङले बिहीबार थ्रीस्टारसँग फाइनल पुग्नका प्रतिस्पर्धा गर्नेछ ।

मनाङको जितमा विशाल राईले दुई र विदेशी खेलाडी अमोबी भिक्टरले एक गोल गरे । विवेक बस्नेतको कर्नर सदुपयोग गर्दै विशालले पहिलो हाफको ४० औं मिनटमा गोल गरे । दोस्रो गोल थप्न भने मनाङले लामो समय कुनुपर्यो । ९० औं मिनेटमा मध्यभागमा एक्लै अगाडि बढाएको बलमा विशालले गोल गरेका थिए । त्यसपछि इन्ज्युरी समयमा भिक्टरले गोल थपेर खेल ३–० मा टुंग्याए । फ्लोरेन्सको पासमा भिक्टरले गोल गरेका हुन् ।
आर्मी पटक–पटकको अवसर सदुपयोग गर्न चुक्यो । आर्मीका विवेक बस्नेत, अनिश शाक्य, राजीव गुरुङ र युद्ध शाहीले पोस्टमा आक्रमण गरे पनि मनाङका गोलरक्षक विशाल श्रेष्ठ बाधक बने ।

पहिलो हाफ आक्रामक खेलेको आर्मी दोस्रो हाफमा कमजोर बन्यो । पहिलो हाफ समन्वय अभावमा आर्मीको आक्रमण खेपेको मनाङले दोस्रो हाफमा लय समात्यो । आर्मीका युद्ध शाहीलाई हात हालेपछि मनाङका दोर्ण थापाले रातो कार्ड पाए । मनाङ प्रशिक्षक शैलेश कर्माचार्यले निरन्तरको खेलले थाकेको र नयाँ खेलाडी संयोजनका कारण उत्कृष्ट खेल पस्कन नसके पनि जित निकालेको बताए ।

आर्मीका प्रशिक्षक महेन्द्र खवासले जुनियर खेलाडीलाई मैदानमा उतारेकाले टिम समन्वयमा अभाव खडकएको बताए । झापा गोल्डकपका कारण मुख्य खेलाडी उतै रहेकाले अतिरिक्त र बी समूहका खेलाडीबाट काम चलाउँदा हार बेहोरेको उनले सुनाए ।
मनाङका विशाल राई म्यान अफ द म्याच घोषित भए । उनले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाए । बुधबार नेपाल पुलिस र आयोजक लाली रूपन्देही ११ बीच पहिलो सेमिफाइनल हुनेछ ।

Comment with Facebook

Share This News !

Ads




shares