बूढासुब्बा गोल्डकपको सेमी-फाइनलमा नेपाल पुलिस क्लब

धरान,२३ माघ गते ।(एजेन्सी)

आहा रारा गोल्डकपको विजेता नेपाल पुलिस क्लब धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार धरान रंगशालामा भएको खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २-० गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो। पुलिसले फाइनल प्रवेशका लागि संकटा क्लबको सामना गर्नेछ। संकटाले पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

पुलिसविरुद्ध सुरुदेखि नै आक्रामक देखिएको काँकडभिट्टाले खेलको २०औं मिनेटमा आत्मघाती गोल गरेपछि पुलिसले १-० को अग्रता बनायो। पुलिसका रेजिन सुब्बाको फ्रिकिकलाई काँकडभिट्टाका विकास थुलुङले रोक्न खोज्दा आफ्नै पोस्टमा गोल गरेका थिए। पुलिसका सुमन लामाले खेलको ६३औं मिनेटमा गोल गर्दै खेललाई २-० को अग्रता बनाएका थिए। सुमनले रविन पासवानको पासको सदुपयोग गर्दै जाली चुमाएका थिए। प्रतियोगिताको म्यान अफ दी म्याच पुलिसका सुमन लामा घोषित भए। उनले नगद १० हजार पुरस्कार प्राप्त गरे।

आत्मघाती गोल गरेर निराश बनेको काँकडभिट्टाले पहिलो हाफमा पुलिसलाई दबाब राखेको थियो। काँकडभिट्टाले खेल अवधिभर गोल गर्ने चार सुन्दर अवसरलाई खेर फालेको थियो। खेलको तेस्रो मिनेटमा काँकडभिट्टाका एलिन लोक्तानको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले विफल पारिदिएका थिए। खेलको २२औं र ६८औं मिनेटमा काँकडभिट्टाका विकास लिम्बूको प्रहारलाई पनि गोलरक्षक चौधरीले विफल तुल्याए। ३४औं मिनेटमा दीपक राईको उत्कृष्ट प्रहारलाई पनि चौधरीले बचाउ गरेपछि काँकडभिट्टाको सेमिफाइनल यात्रा समाप्त भयो।

पुलिसले पनि तीन अवसर खेर फालेको थियो। खेलको पाँचौं र ६२औं मिनेटमा निरकुमार राईको प्रहार काँकडभिट्टाका गोलरक्षक किरण गिरीले विफल तुल्याएका थिए। खेलको १०औं मिनेटमा रवि पासवानले विपक्षी गोलरक्षक बिट भएको अवस्थामा गोल गर्न असफल भए।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले आहा रारा गोल्डकपको उपाधि जितेपछि खेलाडीहरू आत्मविश्वासका साथ मैदान उत्रिएकाले विपक्षीलाई हराउन सफल भएको बताए। काँकडभिट्टाका प्रशिक्षक मीन बस्नेतले रेफ्रीको गलत निर्णयका कारण पराजित हुन पुगेको गुनासो गरे। उनले पुलिसका खेलाडीले तीन पटकसम्म डीबक्स एरियामा ह्यान्ड गर्दासमेत रेफ्रीले पेनाल्टी नदिएको दुःखेसो गरे।

मंगलबार थ्रीस्टार र सुदूरपश्चिम-११ बीच खेल हुनेछ। प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले तीन लाख पुरस्कार प्राप्त गर्नेछन्।

Comment with Facebook

Share This News !

Ads




shares