आहा–रारा गोल्डकपको फाइनलमा पुलिससंग थ्रीस्टार भिड्ने

पोखरा माघ १८ गते।

चार/चारपल्टका उपाधि विजेता पुलिस र थ्रीस्टार १६ औं आहा-रारा गोल्डकपको फाइनलमा भिड्ने भएका छन् । पोखरा रंगशालामा बिहीबार धरानलाई धरानलाई १–० को झिनो अन्तरले हराउँदै पुलिसले थ्रीस्टारसँगको भेट पक्का गरेको हो ।

पुलिसको जितमा खेलको २३ औं मिनेटमा पाएको पेनाल्टी निर्णायक बन्यो । धरानका रोमन लिम्बूले पुलिसका रवी पाश्वानलाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टी सुमन लामाले सेकेन्ड बार च्यापेर प्रहार गर्दै गोलमा परिणत गरे । एक गोलले पछि परेपछि दबाबमा परेको धरानले दोस्रो हाफमा पाएका केही अवसरको सदुपयोग गर्न सकेन । खेलमा पुलिसका गोलकिपर शत्रुघन चौधरी म्यान अफ दी म्याच भए ।
धरानले प्रि-क्वाटरफाइनलमा भारतको युनाइटेड सिक्किम र क्वाटरफाइनलमा आर्मीलाई पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको थियो । पुलिसले यसअघि प्रि-क्वाटरफाइनलमा रमपम झापा ११ र क्वाटरफाइनलमा मनाङ मस्याङ्दीलाई हराएको थियो ।थ्रीस्टार क्लब आहा रारा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ ।  पोखरा रंगशालामा भएको खेलमा बंगलादेशको उत्तर बरिन्धारा क्लबलाई ५-० को फराकिलो अन्तरले हराउँदै थ्रीस्टारले फाइनल यात्रा तय गरेको हो । थ्रीस्टारको जितमा विश्वास श्रेष्ठले ह्याट्रिक गरे  ।बुधबारको खेलमा नीराजन खड्का र विष्णु गुरुङले पनि एकएक गोल गरे । खेलमा म्यान अफ दी म्याच घोषित भएका विश्वासले खेलको ४७, ६७ र ७५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । आहा रारा गोल्डकपको १६औं संस्करणमा विश्वासको पहिलो ह्याट्रिक हो ।

खेल अवधिभर बरिन्धारा क्लबलाई दबाबमा राखेको थ्रीस्टारका विष्णु गुरुङले खेलको ४१औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । बुद्ध चेम्जोङले डीबक्समा मिलाइदिएको पासलाई गुरुङले जाली चुमाएका थिए ।

खेलको ४५औं मिनेटमा विश्वासको पासमा नीराजन खड्काले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयमा नीराजन खड्काले मैदानको बायाँ भागबाट दिएको पासलाई विश्वासले सदुपयोग गरेका थिए ।

खेलको ६७औं मिनेटमा नीराजनको पासमा गोल गरेका विश्वासले ७५औं मिनेटमा सुनील बलको पासलाई सदुपयोग गरे ।
खेलको सुरुआतबाट नै दबाबमा परेको बरिन्धाराले कुनै समय पनि गोलको अवसर सिर्जना गर्न सकेन ।

बरिन्धाराका प्रशिक्षक महाबुब अलाम मनिकले आफ्ना महत्वपूर्ण चार जना खेलाडी घाइते भएको र क्वार्टरफाइनलमा दुई खेलाडीले रातो कार्ड पाएकाले पराजित हुनु परेको बताए ।

Comment with Facebook

Share This News !

Ads




shares