एपिएफ महिला लिग च्याम्पियन

अपराजित रहँदै एपिएफले १६औँ राष्ट्रिय महिला लिग फुटबलको उपाधि उचाल्यो

नेपाल एपिएफ क्लब राखेप च्याम्पियनसिपअन्तर्गत १६औँ राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । एपिएफले समूह तथा लिग चरणमा अपराजित रहँदै उपाधि जित्यो ।

सुपर लिगमा एपिएफले सर्वाधिक नौ अंक जोड्यो । उपाधिसँगै एपिएफले दुई लाख र त्रिभुवन आर्मीले उपविजेता हुँदै एक लाख पाएका छन् । आर्मीले सुदूरपश्चिमलाई ७–० ले पाखा लगाउँदै दोस्रो स्थान रक्षा गरेको हो । आर्मीले लिगमा ६ अंक बटुल्यो ।

 

उत्कृष्ट विधामा एपिएफ अगाडि
प्रतियोगिताको उत्कृष्ट विधामा एपिएफका खेलाडी अगाडि रहेका छन् । एपिएफकी सावित्रा भण्डारी उत्कृष्ट स्ट्राइकर घोषित भइन् । एपिएफकी एञ्जिला थुम्बापो उत्कृष्ट गोलरक्षक तथा एपिएफकै जनक सिंह उत्कृष्ट प्रशिक्षक बनेका छन् । उपविजेता आर्मीकी दीपा राई उत्कृष्ट डिफिल्डर र डिफेन्समा आर्मीकै अञ्जली वाइबाले उपाधि हात पारे ।

उत्कृष्ट सबै खेलाडीले जनही २५ हजार रुपैयाँ पाएका छन् । एपिएफले सुपर लिगमा तीनै खेल आफ्नो पक्षमा पारेको थियो । महिला लिगमा एपिएफकी सावित्राले दमदार प्रदर्शन गरिन् । राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख स्ट्राइकरसमेत रहेकी सावित्रा लिगमा कुल २९ गोल गर्न सफल भइन् । उनले समग्रमा नौ खेलमा २९ गोल गरेकी हुन् ।

सावित्राले अन्तिम लिगमा खेलमा पुलिसविरुद्ध दुई गोल गरेकी थिइन् । लिग चरणमा एपिएफले मध्यपश्चिमाञ्चललाई २६–० को अन्तरले हराउँदा सावित्राले एक्लैले १२ गोल गरेकी थिइन् । नेपालको फुटबल इतिहासमा एकै खेलमा १२ गोल गर्ने सावित्रा एक्लो खेलाडी हुन् । महिला लिगमा विपक्षीमाथि २६ गोलअन्तरले जित निकाल्ने इतिहास एपिएफले बनाएको छ ।

कृष्णाको ह्याट्रिक
आर्मीले सुदूरपश्चिममाथि सानदार जित निकाल्दा कप्तान कृष्णा खत्रीले पाँच गोल गरिन् । खेलको १५औँ मिनेटमा कृष्णाले व्यक्तिगत पहिलो गोल गरिन् । खेलको ५३औँ मिनेटमा उनले ह्याट्रिक पूरा गरिन् ।

खेलको ६३औँ मिनेटमा कृष्णाले व्यक्तिगत पाँचौँ गोल थप्दा आर्मी ७–० ले अगाडि रह्यो । खेलको नवौं मिनेटमा शर्मिला थापामगरले आर्मीलाई १–० को अग्रता दिलाइन् । खेलको २५औँ मिनेटमा आर्मीकी विमला चौधरीले ३–० को लागि गोल गरिन् ।

मध्यान्तरमा दुई गोल
लिगको अन्तिम खेलमा एपिएफले मध्यान्तरअघि २–१ को अग्रता लियो । खेलको १७औँ मिनेटमा सावित्राले पुलिसकी गोलरक्षक सुस्मिता ठकुरीले बल राम्ररी ग्रिप गर्न नसकेको फाइदा उठाउँदै एपिएफलाई १–० को अग्रता दिलाइन् । डिबक्सअगाडि रेनुका नगरकोटीको फ्रिकिकलाई गोलरक्षक ठकुरीले नियन्त्रणमा लिन सकिनन् ।

खेलको १९औँ मिनेटमा सरु लिम्बूले गोल गरी एपिएफलाई २–० को स्थितिमा राखिन् । खेलको ३४औँ मिनेटमा रूपा रानामगरले पुलिसलाई खेलमा फर्काउने कोसिस गर्दै २–१ का लागि गोल गर्न सफल भइन् खेलको ७५औँ मिनेटमा सावित्राले थप एक गोल गर्दै एपिएफलाई ३–१ को जित दिलाइन् ।

 

Comment with Facebook

Share This News !

shares