बार्सिलोनाले काउन्टिन्होलाई भित्रायो

 

एजेन्सी लन्डन, २४ पुस गते

स्पेनिस क्लब बार्सिलोनाले लिभरपुलका स्टार फिलिप काउन्टिन्होेलाई फुटबल इतिहासकै दोस्रो ठूलो सरुवा मूल्यमा आबद्ध गरेको छ । बार्सिलोनाले काउन्टिन्हो भित्र्याउन इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई १४ करोड ५० लाख पाउन्ड तिरेको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नेमारलाई बार्सिलोनाबाट अनुबन्ध गर्दा विश्व कीर्तिमानी रकमका रूपमा १९ करोड ५० लाख पाउन्ड खर्चेको थियो ।

पाँचवर्षे सम्झौता
बार्सिलोनाले तीन करोड ३५ लाख पाउन्ड रिलिज क्लजमा काउन्टिन्होलाई पाँच वर्षका लागि सम्झौता गरेको छ । २५ वर्षीय काउन्टिन्हो २०१३ मा लिभरपुलमा आबद्ध भएका थिए । इन्टरमिलानबाट लिभरपुलमा आबद्ध हुँदा काउटिन्होको बजार भाउ आठ करोड ५० लाख पाउन्ड थियो । बार्सिलोनाले काउन्टिन्होले बिहीबार स्पेनिस कपअन्तर्गत सेल्टाभिगोविरुद्ध डेब्यु गर्ने जनाएको छ ।

 

लिभरपुललाई धक्का
बार्सिलोनाले लिभरपुल स्टार खेलाडी काउन्टिन्होलाई भित्र्याउन तीनपटक प्रयास गरेको थियो । गत सिजनमा बार्सिलोनाले काउन्टिन्होका लागि ११ करोड ४० लाख पाउन्ड प्रस्ताव राखेको थियो । तर, लिभरपुलले बार्सिलोनाको त्यो प्रस्ताव स्वीकार गरेन । लिभरपुलमा उत्कृष्ट प्रदर्शन गरिरहेका काउन्टिन्होले चार वर्षभित्र लिभरपुलका लागि ५४ गोल गरेका छन् ।

किन तयार भयो लिभरपुल ?
यस सिजनमा लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्न प्रयासरत छ । यस्तोमा लिभरपुलको शीर्ष चार यात्रामा काउन्टिन्हो मुख्य खेलाडीका रूपमा अगाडि थिए । अर्को अर्थमा काउन्टिन्हो लिभरपुलको वर्तमान समयका अति नै भरपर्दा खेलाडी हुन् । तर, लिभरपुरले आफ्ना स्टार खेलाडीलाई किन बार्सिलोना पठायो भन्ने प्रश्न उब्जिएको छ । यस्तोमा लिभरपुलले आफूलाई आत्तिनुपर्ने कुनै कारण नभएको मान्छ ।

लिभरपुलमा काउन्टिन्होको बहिर्गमनलाई छायामा पार्ने सामथ्र्य राख्ने खेलाडी छन् । लिभरपुल निराश भने छैन । लिभरपुलका लागि जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका मोहमद सलाह, साडियो माने र फिर्मिनोले उनको अभाव टार्न सक्ने प्रशिक्षक जर्गे क्लोपले बताएका छन् । तर, मिडफिल्डमा काउन्टिन्होको जादुलाई टार्न भने लिभरपुलले चाँडोभन्दा चाँडो वैकल्पिक खेलाडी छान्नुपर्ने बाध्यता छ ।

बार्सिलोनामा काउन्टिन्होको स्थान ? 
मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने भएकाले स्वाभाविक रूपमा बार्सिलोनाले उनलाई एन्डे«स इनिस्टाको ठाउँमा खेलाउने मानसिकता बनाएको छ । इनिस्टा क्लबकै प्राप्त खेलाडीमध्ये पुराना हुन् । इनिस्टा अहिले नै आफ्नो स्थान अरूले लेओस् भन्ने अवस्थामा छैनन् । इनिस्टा आफ्नो स्थान कसैलाई पनि दिन तयार छैनन् । बार्सिलोनाले मिडफिल्डको भूमिका दिँदा इनिस्टाले क्लब छाड्ने किसिमको प्रतिक्रिया दिइसकेका छन् । इनिस्टाको चेतावनीपछि बार्सिलोनाले काउन्टिन्होलाई कसको स्थानमा स्थानान्तरण गराउला भन्ने द्विविधा छ ।

Comment with Facebook

Share This News !

shares