म्यानचेस्टर सिटीको कीर्तिमान यात्रा

लन्डन,पुस १८ गते

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा अगस्टयता पहिलोपल्ट स्पष्ट जित निकाल्न सकेन । यसक्रममा सिटी युरोपका पाँच प्रमुख लिगमा लगातार जितको कीर्तिमान छुन असफल रह्यो । अर्कोतर्फ चेल्सीले म्यानचेस्टर युनाइटेडलाई उछिनेर दोस्रो स्थान कब्जा गर्‍यो भने लिभरपुलले सबै खाले प्रतियोगिताको अपराजित यात्रा १५ खेल पुर्‍याउन सफल भयो । यसका लागि लिभरपुलले पछाडि परेको स्थिति उल्टाएर लेस्टर सिटीलाई हराएको थियो ।

यस सप्ताहन्त प्रिमियर लिगमा देखिएका पाँच प्रमुख विशेषता यस्ता छन् :

सिटीलाई चोटको पीडा

पक्कै पनि म्यानचेस्टर सिटीलाई दु:ख हुनेछ, लगातार जितको यात्रा टुंगिएकोमा । क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको थियो सिटीले । तर व्यवस्थापक पेप ग्वार्डिओलाका लागि त्यो भन्दा ठूलो चिन्ताको विषय हुनेछ, ग्याब्रियल जेसस र केभिन डी ब्रुएनेको चोट । जेससलाई घुँडामा चोटको समस्या छ र यसैक्रममा प्यालेसविरुद्ध पहिलो हाफमा सब्स्टिच्युट गरिएको थियो । डर छ उनी दुई महिना मैदानबाट बाहिर रहने छन् । डी ब्रुएनेलाई प्यालेसविरुद्धको खेलको अन्त्यतिर स्ट्ेरचरमा राखेर बाहिर ल्याउनुपरेको थियो । तर उनको चोट त्यति गम्भीर मानिएको छैन, जति सुरुमा अनुमान

गरिएको थियो ।

हाजार्डबिना चम्केको चेल्सी

चेल्सी लिग उपाधि होडमा म्यानचेस्टर सिटीभन्दा धेरै टाढा छ, दोस्रो स्थानमा रहेर पनि । तर चेल्सीका लागि सन् २०१८ मा तीन अरु उपाधि जित्ने सम्भावना अझै कायम छ । प्रशिक्षक एन्टोनियो कोन्टेका लागि त्यो भन्दा खुसीको उपलब्धि के नै हुन सक्छ र, जति बेला इडेन हाजार्डबिना चेल्सीले स्टोक सिटीमाथि ५–० को जित निकाल्न सक्छ । त्यसो त स्टोकले त्यस खेलमा कमजोर टिम उतारेको थियो । मार्क ह्युजकै निर्णय थियो त्यो । हाजार्डले त्यस खेलमा पूरै आराम पाए, तर गोल भने एकपछि अर्को निस्कियो नै ।

फिक्का म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेडले यस सिजन केही आक्रामक फुटबलको नमुना पक्कै पेस गरेको छ । तर, युनाइटेडले यसलाई निरन्तरता भने दिन सकेको छैन । अझ छिमेकी म्यानचेस्टर सिटी अगाडि त युनाइटेडसामु डाहा गर्ने बाहेक अर्को विकल्प हुन छाडेको छ । अहिले म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो बराबरी खेलेको छ । यी बराबरी लेस्टर सिटी, बर्नली र साउथह्याम्पटनविरुद्ध प्राप्त भएको थियो, जसविरुद्ध म्यानचेस्टर युनाइटेडले जितको अपेक्षा राख्न सक्थ्यो । जोसे मोउरिन्होको म्यानचेस्टर युनाइटेड वास्तवमै फिक्का देखिएको छ ।

लिभरपुलको लयमा सलाह

लिभरपुलका लागि मोहम्मद सलाहको लय यस सिजन चर्चाको विषय बनेको छ । उनले एनफिल्ड टिमबाट सबै खाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् । यो क्लबका लागि कीर्तिमान पनि हो, नयाँ वर्षअगाडि । पहिले यो कीर्तिमान रोजर हन्टको नाममा थियो । लेस्टरविरुद्धको जितमा उनी चोट बोक्दै मैदान छाड्न भने बाध्य रहे । यस्तोमा व्यवस्थापक योर्गन क्लोपका लागि यो चिन्ताको विषय हुनसक्छ । लिभरपुलले आस गर्नेछ, एफए कपमा मर्सिसाइड डर्बी र लिगमा म्याचेस्टर सिटीविरुद्धको खेलअगाडि सलाह त्यस्तै लयमा हुनेछन्, त्यो पनि चोटबिना ।

वेंगरको कीर्तिमान

आर्सेन वेंगरको प्रदर्शनलाई लिएर अचेल समर्थकबीच विभाजन छ । जत्तिकै वादविवादबीच पनि उनले नयाँ कीर्तिमान बनाएका छन्, जुन वास्तवमै दुर्लभ छ । प्रिमियर लिगमा उनले म्यानचेस्टर युनाइटेडका सर एलेक्स फर्गुसनलाई उछिनेर आर्सनलका लागि ८ सय ११ खेलको उपलब्धि आत्मसात् गरे । खेलको नतिजा भने निराशाजनक रह्यो भने पनि हुन्छ,

वेस्ट ब्रोमविरुद्ध १–१ को बराबरी । आर्सनललाई गुनासो के पनि रहने छ भने वेस्ट ब्रोमले पेनाल्टीबाट खेलको अन्त्यतिर गरेको गोल रेफ्रीको विवादास्पद निर्णयबाट सम्भव भएको थियो ।

 

Comment with Facebook

Share This News !

shares