जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं, साउन २७ गते ।
नेपाली राष्ट्रिय यू–१५ महिला टोली शनिबार महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाली यू–१५ महिला फुटबल टोलीले भुटानमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा शनिबार पाकिस्तानलाई ४–० ले पराजित गरेको छ ।

यसअघि बंगलादेशले पाकिस्तानलाई १४–० को फराकिलो अन्तरले हराउँदा नेपालको एक जित नै अन्तिम चारका लागि काफी भयो । नेपालको नतिजासँगै बंगलादेश पनि अन्तिम चारमा पुगेको छ ।

समूह विजेताको छिनोफानो हुने
लगातार दुई खेलमा हार सामना गरेको पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । १३ अगस्टमा नेपाल र बंगलादेशबीचको खेलले समूह विजेता र उपविजेता छिनोफानो हुनेछ । नेपाल र बंगलादेशले समान ३ अंक जोडेका छन् । बंगलादेश गोल अन्तरमा शीर्ष स्थानमा छ । गत संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

दुवै हाफमा समान २ गोल
कमजोर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध नेपालले दुवैहाफमा समान २ गोल गरेको थियो । पाकिस्तानले पहिलो खेलको तुलनामा दोस्रोमा नेपालविरुद्ध सुधारिएको प्रदर्शन ग-यो । यसपटक पाकिस्तानले डिफेन्समा धेरै सुधार गरेको देखिन्छ । खेलको आठौँ मिनेटमा नेपालकी अनुष्का शेर्पाले १–० का लागि गोल गरिन् । खेलको १४औँ मिनेटमा सबिता रानामगरले नेपाललाई २–० को अग्रता दिलाइन् ।

सविताको २ गोल
पाकिस्तानविरुद्ध सविताले २ गोल गर्न सफल भइन् । पहिलो हाफमा गोल गरेकी सविताले दोस्रो हाफमा समेत व्यक्तिगत गोल गरिन् । दोस्रो हाफमा रजनी थोकरले पनि व्यक्तिगत एक गोल गरिन् ।

शनिबारै अर्को खेलमा आयोजक भुटानले श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हरायो । भुटानको जितमा फरवार्ड सोनाम ल्हामोले ह्याट्रिक गरिन् । नेपालले समूह ‘बी’ को अन्तिम खेलमा सोमबार बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले पराजित गरेको थियो । श्रीलंकालाई १२–० ले पराजित गरेको भारत र भुटान पनि समूह ‘ए’ को अन्तिम खेलमा सोमबार नै भिड्ने छन् । जित हासिल गरेका चारै टोली सेमिफाइनल पुगिसकेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares