आहा-रारा गोल्डकपको क्वार्टरफाइनलमा पुलिस

पोखरामाघ १२ गते।
झापा ११ लाई १–० ले हराउँदै विभागीय टिम नेपाल पुलिस क्लब १६ औं आहा रारा गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेकोछ। पोखरा रंगशालामा शुक्रबार पुलिसका सुमन लामाले निर्णायक गोल गर्दा झापा ११ प्रतियोगिताको पहिलो चरणबाटै बाहिरियो । लामाले खेलको १३ औं मिनेटमा वान भर्सेस वानमा गोल गरे । उनले झापाका डिफेन्स दिलेन लोक्तान र निरज बस्नेतलाई टयाकल गर्दै गोल गर्न सफल भए । पहिलो हाफमा पुलिसका रवि पाश्वानको केही पासलाई भने लामाले सदुपयोग गर्न सकेनन् ।

खेलमा म्यान–अफ–दी म्याच बनेका पाश्वान आफैंले १७ औं र २९ औं मिनेट गरेको प्रहार विपक्षी गोल रक्षक किशोर गिरीले बचाउन सफल भए । पुलिसका गोल रक्षक शत्रुघन चौधरीले उत्कृष्ट प्रदर्शन गर्दा झापा ११ का विकेश लिम्बु र हिसुब थपलियाका प्रहार गोलमा परिणत हुन सकेनन् ।

पहिलो हाफमा आक्रामक खेलेको पुलिस दोस्रो हाफ पुग्दा भने केही रक्षात्मक बन्न पुग्यो । अधिकाशं नयाँ खेलाडी लिएर मैदान उत्रिएको झापाले दोस्रो हाफमा पाएका अवसर चुकायो । झापाका प्रशिक्षक प्रवेश कटुवालले नयाँ खेलाडीबीच तालमेल मिल्न नसक्दा हार व्यहोर्नुपरेको बताए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीले सोचेअनुरुप प्रदर्शन गर्दा जित हात परेको उल्लेख गरे ।

शनिबार उत्तर बरिन्धरा क्लब बंगलादेश र सुदूरपश्चिम स्पोर्टिङ क्लबबीच पहिलो क्वार्टरफाइनल खेल हुने छ । सुदूरपश्चिमले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई हराएर क्वार्टरफाइनल प्रवेश गरेको हो ।

Comment with Facebook

Share This News !

Ads




shares