डिपिएलको खेलाडी घोषणा

धनगढी ११ माघ गते ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार दोस्रो संस्करणको धनगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको रणनीतिक खेलाडीसहित टोली र मालिक सार्वजनिक गरेको छ । आयोजकले बुधबार एक कार्यक्रमबीच ६ सहरका ६ फ्रेन्चाइज टोलीको घोषणा गरेको हो ।

आयोजकले पहिलो संस्करणकै पाँच टोलीसहित कञ्चनपुर आइकोनको स्थानमा महेन्द्र नगर युनाइटेडलाई सहभागी गराउने निर्णय गरेको छ । रणनीतिक खेलाडीको न्यूनतम मूल्य २ लाख तोकिएको छ । प्रतियोगिता १९ चैत ०७४ देखि १ वैशाख ०७५ सम्म हुनेछ ।

अक्सन ९ फागुनमा
डिपिएलको अक्सन ९ फागुनमा हुँदै छ । प्रत्येक टोलीले अक्सनबाट १२ खेलाडीका लागि ११ लाख खर्च गर्न पाउने प्रावधान आयोजकले तोकेको छ । हरेक टोलीले २ विदेशी खेलाडी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी अनिवार्य रूपमा सहभागी गराउने एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिएका छन् ।

४ समूहमा खेलाडीको वर्गीकरण
डिपिएल अक्सनका लागि खेलाडीलाई ४ समूहमा वर्गीकरण गरिएको आयोजकले जनाएको छ । वर्गीकरण गरिएका खेलाडीको न्यूनतम र अधिकतम मूल्य निर्धारण पनि गरिएको छ । ए वर्गका खेलाडीको न्यूनतम मूल्य १ लाख र अधिकतम मूल्य १ लाख ५० हजार रुपैयाँ राखिएको छ ।

बी वर्गका खेलाडीको न्यूनतम मूल्य ५० हजारदेखि अधिकतम मूल्य १ लाख तोकिएको छ । सी वर्गका खेलाडीको न्यूनतम मूल्य २५ हजारदेखि ७५ हजार रुपैयाँ तोकेको छ । डी वर्गका खेलाडीको मूल्य २० हजारदेखि ४० हजारसम्म रहेको छ ।

विजेतालाई २५ लाख
दोस्रो संस्करणको डिपिएलको विजेताले २५ लाख पाउनेछ । डिपिएलको विजेता धनराशि नेपाली घरेलु क्रिकेटमा सर्वाधिक ठूलो पुरस्कार रकम हो । उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख पाउनेछन् ।

गतवर्षको विजेता चौराहा धनगढीले १५ लाख र उपविजेता विराटनगर किंग्सले ७ लाख पाएका थिए । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार र म्यान अफ द सिरिज हुनेले टिभिएस अपाचे १८० सिसीको मोटरसाइकल पाउने अध्यक्ष शाहीले बताए । उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार व्यवस्था गरिएको उनले जनाएका छन् ।

प्रत्येक टिमले समूहचरणमा एकअर्काविरुद्ध भिड्दा शीर्ष चार टिम प्लेअफमा स्थान बनाउन पाउनेछन् । शीर्ष क्रमका दुई टिम भिडन्तका विजेताले फाइनलमा स्थान बनाउँदा तेस्रो र चौथोका विजेतासँग पराजित हुने टिमले अर्को एक मौका पाउनेछ ।

Comment with Facebook

Share This News !

Ads




shares