डी भिलियर्स विरुद्ध कोहली

केपटाउन, पुस १८ गते

जति बेला दक्षिण अफ्रिका र भारतबीच शुक्रबार तीन टेस्टको शृंखला सुरु हुनेछ । यो हुनेछ विराट कोहली र एबी डी भिलियर्सबीचको आपसी भिडन्त । यो नै शृंखलाको सबैभन्दा आकर्षक पक्ष पनि हुनेछ । ‘त्यसो त यी दुई खेलाडीबीच हुने शृंखला त पक्कै होइन,’ कोहलीले भनेका छन् । यसअघि उनलाई सोधिएको थियो, कतै शृंखला रोयल बेंग्लोरका साथी खेलाडी डी भिलियर्सबीचको व्यक्तिगत टकराव हुने त होइन ?

कोहलीको उत्तर लामो छ, ‘एबी मेरा मिल्न साथी हुन् । उनीप्रति मेरो ठूलो सम्मान छ । उनी जसरी क्रिकेट खेल्छन्, म त्यसको खुबै प्रशंसक पनि हुँ । व्यक्तिगत रूपमा पनि उनी राम्रा साथी हुन् । तर जति बेला एकअर्काविरुद्ध टिमका लागि खेलिन्छ, त्यति बेला मेरो उद्देश्य एबी चाँडै आउट होस् भन्ने नै हो । विपक्षी टिमको रणनीति पनि यस्तै हुँदो हो । म वा अजिन्क्या रहाने या चेतेश्वर पुजाराको विकेट लिनु उनीहरूको उद्देश्य हुनेछ ।’

भारतका लागि रहाने र पुजारा जति अब्बल दर्जाका खेलाडी हुन् । दक्षिण अफ्रिकाका लागि उत्तिकै खेलाडी हुनेछन् हसिम अमला वा डिन एल्गर । तर, कोहलीविरुद्ध एबी, शृंखलाकै सबैभन्दा आकर्षक पक्ष हुनेछ । यसमा कुनै विवाद रहने छैन । उनीहरूकै खेलले शृंखलालाई निर्णायक मोड पनि दिनेछ । कोहली भारतका सबैभन्दा आक्रामक ब्याट्सम्यान हुन् र उनलाई सचिन तेन्दुलकरपछिका सर्वाधिक राम्रो मानिन्छ । डी भिलियर्स विदेशी खेलाडी रहेर पनि भारतमा उत्तिकै लोकप्रिय छन् ।

दुई सिजनअघि दक्षिण अफ्रिकाले भारत भ्रमण गर्दा उनको लोकप्रियता स्पष्ट देखिएको थियो । डी भिलियर्स प्रत्येकपल्ट ब्याटिङका लागि ओर्लिंदा मैदानमा दर्शकले एबीडी एबीडी भनेर नारा लगाएका थिए । उनकै प्रदर्शनले दक्षिण अफ्रिका टेस्ट शृंखलामा सफल नरहे पनि वान डे शृंखलामा भने अब्बल साबित भयो । पाँच वान डे शृंखलामा उनले तीन शतक बनाए । शृंखलाक हारपछि भारतीय टोलीका तत्कालीन निर्देशक रवि शास्त्रीले विदेशीलाई सुहाउँदो स्थिति बनाइएको आरोप पनि लगाए ।

संयोग कस्तो भने टेस्ट शृंखलाको स्थिति भने भारत सुहाउँदो थियो । चार टेस्टको त्यस शृंखलामा पिच स्पिनरअनुकूल थियो । त्यसमा रविचन्द्रन आश्विन तथा रवीन्द्र जडेजा हाबी रहे । कोहलीले अहिलेसम्म दक्षिण अफ्रिका दुई टेस्ट मात्र खेलेका छन् सन् २०१३/१४ को शृंखलामा । तर, त्यसक्रममा उनले दक्षिण अफ्रिकी पेस र बाउन्स आक्रामण सामना गर्न सक्ने खेलाडीमा स्थापित गरेका थिए । उनले जोहानसबर्गमा भएको पहिलो टेस्टमा १ सय १९ र ९६ रन बनाएका थिए ।

डी भिलियर्सले भारतमा १७ टेस्ट खेलेका छन् । त्यसमा उनको औसत छ ४०.१० को । उनको पूरा खेलजीवनको औसत भने टेस्टमा ५०.४७ को छ । सन् २००७/०८ मा उनले जोहानसबर्गमा नटआउट २ सय १७ रन बनाए । शृंखलाअगाडि एउटा तथ्य के निश्चित छ भने टेस्टका दुई शीर्ष टिम भिड्दै छन् । जति बेला वास्तवमै शृंखला सुरु हुनेछ, यो कोहलीविरुद्ध एबीबीचको भिडन्तले त्यसलाई अझ रोचक बनाउने छ नै ।

 

Comment with Facebook

Share This News !

shares