पहिलो इनिङमा सम्हालिँदै इंग्ल्यान्ड

एजेन्सी सिड्नी,२१ पुष २०७४

इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको पाँचौँ तथा अन्तिम एसेज टेस्टको पहिलो इनिङमा सम्हालिएर ब्याटिङ गरेको छ । टस जिती ब्याटिङ गरेको इंग्ल्यान्डले ५ विकेटको नोक्सानीमा २ सय ३३ रनको योगफल खडा गरेको छ । पहिलो ३ टेस्टमा जित नतिजा निकाल्दै अस्ट्रेलियाले सिरिजमाथि कब्जा जमाइसकेको छ । मेलबर्न टेस्ट भने बराबरीमा सकिएको थियो ।

रुटको कप्तानी इनिङ
शीर्ष तीन ब्याट्सम्यानले गतिलो रन जोड्न नसक्दा इंग्ल्यान्डको ब्याटिङ फेरि कमजोर देखियो । अस्ट्रेलियन बलर कुमिन्सले दुई विकेट लिएपछि इंग्ल्यान्डले ३२.२ ओभरमा तीन विकेट गुमाएर ९५ रन जोड्यो । त्यसपछि इंग्लिस कप्तान जोए रुट र मालनले चौथो विकेटका लागि १ सय ३३ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई २८८–४ को अवस्थामा पुर्‍याए । कप्तान रुटले १४१ बलमा आठ चौकाको सहयोगमा ८३ रन जोडे ।

कुक सस्तैमा आउट
चौथो टेस्टमा पाँचौँ दोहोरो शतक लगाएका पूर्वकप्तान एलेस्टर कुक यसपटक जम्न सकेनन् । उनले ३९ रनको योगदान दिए । ओपनर स्टोनम्यानसँग पहिलो विकेटका लागि २८ रनको साझेदारी गरेका कुकले १ सय ४ बलमा तीन चौका प्रहारी गरे । स्टोनम्यानले २४ बलमा चार चौका प्रहार गरी २४ रन जोडे । भिन्सले ५४ बलमा चार चौकाको मद्दतमा २४ रन बनाए ।

मालनको अर्धशतक
पहिलो दिनको खेल समाप्तिसम्म मध्यक्रमका ब्याट्सम्यान मालन ५५ रनमा नटआउट रहे । उनले १ सय ६० बलमा पाँच चौका प्रहार गरेका छन् । मालनले बेयरस्टसँग छैटौँ विकेटका लागि ११ ओभरमा ५ रनको साझेदारी गरे । इंग्ल्यान्डले अन्तिम सेसनको दश ओभरमा दुई विकेट गुमाएर ३८ रन बनायो । बलिङमा जोस हेजलउडले १७.४ ओभरमा दुई मेडन राखी दुई विकेट लिए । उनले ४७ रन खर्चेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares