डिपिएलमा विराटनगरको प्लेअफमा पुग्ने सम्भावना जिवितै

धनगढी,चैत्र २२ गते।
विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्सले टिम चौराह धनगढीलाई १८ रनले हरायो।

विराटनगरको तीन खेलमा यो दोस्रो जित हो । धनगढीले ४ खेलमा २ जित हात पारेको छ भने दुईमा पराजित भएको छ । टस हारेर फिल्डिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

१२८ रनको विजय लक्ष्य लिएर मैदान प्रवेश गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो ।
धनगढीको तर्फबाट शंकर रानाले ३८ बल मा २५ रन बनाए । यस्तै अस्फाक अहमदले १६ बलमा २२ रन बनाए ।

सुनील धमला १२, रोहन मुस्तफा ११, राजेश पुलामी मगर ८, सोनु तामाङ र कप्तान सोमपाल कामी १/१ रनमा आउट भए । बलिङमा विराटनगरका पवन सर्राफले ४ विकेट लिए । पवनले अन्तिम ओभरमा धनगढीको ३ विकेट लिएका थिए। पवन खेलको म्यान अफ दि म्याच घोषित भए। म्यान अफ दि म्याच उनले ४ ओभरमा २५ रन खर्चेका थिए । पारस खड्का र बसन्त रेग्मीले २/२ र सुभम कामतले १ विकेट लिए ।

पहिलो इनिङ्समा सोमपाल कामीसँगै नयाँ बल लिएर आएका सुनीलले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ४ विकेट लिए। सोमपाल र रोहन मुस्तफाले २/२ तथा ललितसिंह भण्डारी र सम्साद शेखले १/१ विकेट लिए। पवन सर्राफले विराटनगरबाट सर्वाधिक ४१ रन बनाए। ३४ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे।

अनिल साहले २४, सुभम कामतले १८ र बाबर हायतले १५ रन बनाए। दीलिप नाथ ४, पृथु बास्कोटा ३, कप्तान पारस खड्का २, मन्जित श्रेष्ठ र बसन्त रेग्मी ६/६ तथा सौरभ खनाल १ रनमा आउट भए। यसअघि भएका खेलमा विराटनगर किंग्सले १ खेलमा जित हात पारेको छ भने १ खेलमा हार व्यहोरेको छ।
टिम चौराह धनगढीले २ खेलमा जित हात पारकेो छ भने १ खेलमा पराजित भएको छ।

आजै हुने दोस्रो खेलमा दिउँसो १ः१५ मा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड आमनेसामने हुँदैछन्।

Comment with Facebook

Share This News !

Ads




shares