आइसीसीको उत्कृष्ट ११ सूचीमा पारस

काठमाडौँ, चैत्र १ गते।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जिम्बावेमा जारी एकदिवसीय क्रिकेट विश्वकप छनोटको समूहगत चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ खेलाडीको सूचीमा नेपाली टोलीका कप्तान पारस खड्कालाई पनि समेटेको छ। सोमबार सम्पन्न समूहगत चरणको खेलपछि प्रदर्शनको आधारमा आईसीसीले सार्वजनिक गरेको सूचीमा नेपालको एकजना मात्र खेलाडी परेका हुन्। आयोजक जिम्बावे र हङकङका दुई दुई खेलाडी सूचीमा परेका छन्।

समूहगत चरणको चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कप्तान पारस उत्कृष्ट खेलाडीको सूचीमा परेका हुन्। पारसले प्रतियोगितामा उत्कृष्ट बलिङ भएका टोलीविरुद्ध सशक्त प्रदर्शन गरेका थिए। उनले जिम्बावेविरुद्ध ४०, स्कटल्यान्डविरुद्ध ६३ र अफगानिस्तानविरुद्ध ७५ रनको महत्वपूर्ण योगदान गरेका थिए। पारसले हङकङविरुद्धको खेलमा भने ११ रन मात्रै जोडेका थिए।

आईसीसीको छनोटमा समूहगत चरणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा जिम्बावेका ब्रेन्डन टेलर र सिकन्दर राजा तथा हङकङका अंशुमान रथ र ईशान खान परेका छन्। यसैगरी आयरल्यान्डका विलियम पोर्टरफिल्ड, पपुवा न्युगिनीका टोनी उरा, स्कटल्यान्डका कलुम म्याकलियोड, संयुक्त अरब इमिरेट्स (यूएई) का रोहन मुस्तफा, अफगानिस्तानका मोहम्मद नाबी र वेस्ट इन्डिजका जासन होल्डर सूचीमा समेटिएका हुन्।

सोमबार भएको अन्तिम खेलसँगै समूह ‘ए’ बाट वेस्टइन्डिज, आयरल्यान्ड र यूएई तथा समूह ‘बी’ बाट जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर सिक्स चरणमा प्रवेश गरेका छन्। सुपर सिक्स चरणमा नपुगेकामध्ये हङकङका दुई र नेपालका एक खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा स्थान बनाउन सफल भएका हुन्। हङकङका लागि रथ र खानले उत्कृष्ट प्रदर्शन गरेका थिए।
रथले हङकङका लागि अफगानिस्तानविरुद्ध ६५ र जिम्बावेविरुद्ध ८५ रन बनाएका थिए। अफ स्पिनर ईशानले भने ११ विकेट लिँदै उत्कृष्ट खेलाडीको सूचीमा आफ्नो नाम पनि समावेश गराएका हुन्। टेलर र राजाले पनि जिम्बावेका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। यी दुवै खेलाडीले नेपालविरुद्धको खेलमा शतक प्रहार गरेका थिए।

Comment with Facebook

Share This News !

Ads




shares