इंग्लिस प्रिमियर लिगमा ट्रान्सफर विन्डो ठूलै चलखेल

लन्डन,  माघ १९ गते।(एजेन्सी)
सन् २०१८ को खेलाडी ट्रान्सफर विन्डो (खेलाडी किनबेच) सिजनमा इंग्लिस प्रिमियर लिगमा ठूलै चलखेल भएको छ । ट्रान्सफर विन्डोको अन्तिम दिनमा आर्सनलका ओलिभर गिरुड चेल्सीमा पुगेका छन् । म्यानचेस्टर सिटीले लेस्टरका स्ट्राइकर रियाद महरेजलाई भित्र्याउन सकेन । लेस्टरले ठूलो रकम माग राखेपछि सिटीको महरेजलाई अनुबन्ध गर्ने सपना यतिकै रहन पुग्यो ।

सिटी चुक्यो महरेज भित्र्याउन
यस सिजनको सुरुवाती ट्रान्फर विन्डोमा म्यानचेस्टर सिटीले लेस्टरका रियाद महरेजलाई अनुबन्ध गर्न धेरै कोसिस गरेको थियो । सिटी र लेस्टरबीच यस सम्बन्धमा पटकपटक कुराकानी भएको थियो । तर, अन्तिम समयमा लेस्टरले महरेजका लागि ९ करोड ५० लाख पाउन्ड माग सिटीसमक्ष राख्यो ।

त्यो प्रस्ताव सिटीले स्वीकार्न सकेन । सिटीले महरेजका लागि लेस्टरलाई अन्तिम प्रस्तावस्वरूप ६ करोड ५० लाख पाउन्ड राखेको थियो । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विपक्षी क्लबले माग गरेअनुसार आफूहरूले रकम खर्चन नसकिने बताएका छन्

ओलिभर चेल्सीमा
प्रशिक्षक आर्सेन वेंगरले यसपटक जनवरीमा ठूलै जोखिम उठाएर राम्रा खेलाडी बिक्री गरेका छन् । सुरुमा वेंगरले एलेक्सिस सान्चेजलाई म्यानचेस्टर युनाइटेडमा पठाए । त्यसपछि अर्का प्रमुख खेलाडी ओलिभरलाई पनि उनले बेचेका छन् ।

वेंगरले ओलिभरलाई चेल्सीलाई बेचेका हुन् । ओलिभरका लागि चेल्सीले १ करोड ८० लाख पाउन्ड खर्चेको छ । ओलिभरले अब चेल्सीमा १८ नम्बरको जर्सी लगाउनेछन् । ओलभिरले चेल्सी जस्तो महान् क्लबसँग आबद्ध हुन पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताएका छन् ।

इमेरिक आर्सनलम
प्रशिक्षक वेंगरले नयाँ खेलाडीका रूपमा बोरुसिया डर्टमुन्डका पिएरेर इमेरिक अबामेयाङ भित्र्याएका छन् । वेंगरले यसका लागि ५ करोड ६० लाख पाउन्ड खर्चेका छन् । आर्सनलमा आबद्ध भएलगत्तै इमेरिकले अभ्याससमेत गरेको ब्रिटिस मिडियाहरूले जनाएका छन् ।

प्रशिक्षणको पहिलो दिन नै आफू हर्षित र रमाइलो लागेको इमेरिकले बताएका छन् । अब उनले प्रिमियर लिगमा एभर्टनविरुद्ध डेब्यु गर्नेछन् । २१ वर्षीय खेलाडी इमेरिकले गत सिजनमा २१ गोल गरेका थिए ।

ओजिललाई प्रतिसाता तीन लाख पाउन्ड
प्रशिक्षक वेंगरले एकपछि अर्को स्टार खेलाडी बेच्दा क्लबमा रहेका अन्य स्टार खेलाडीलाई सुरक्षित बनाउन प्रतिसाता पारिश्रमिक बढाएका छन् । उनले जर्मन मिडफिल्डर मेसुत ओजिललाई प्रतिसाता तीन लाख पाउन्ड दिने सर्तमा आर्सनलमै राखेका छन् । इंग्लिस प्रिमियर लिगमा प्रतिसाता बढी पारिश्रमिक बुभ्ने ओजिल पनि परेका छन् ।

लुकास टोटनह्याममा
पेरिस सेन्ट जर्मेन (पिएसजी) का मिडफिल्डर लुकास माउरा इंग्लिस क्लब टोटनहयामसँग आबद्ध भएका छन् । टोटनह्यामले लुकासलाई भित्र्याउन २ करोड ५० लाख पाउन्ड खर्चेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares