लिभरपुलको विजय,सेमिफाइनल पुग्न रोमालाई चमत्कार चाहिने

एनफिल्ड, बैशख १३ गते।(एजेन्सी)
एनफिल्डको फ्लडलाइट्समा लिभरपुलले युरोपेली फुटबलमा धेरै मीठो स्वाद चाखेको छ । यसमध्ये एएस रोमाविरुद्ध मंगलबार राति युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा प्राप्त ५–२ को जित कहाँनिर पर्ला त ? यो सूचीमा पक्कै पनि सन् २०१६ मा बोरुसिया डर्टमन्डविरुद्ध प्राप्त गरेको पुनरागमन, सन् २००५ मा ओलम्पियाकोजमाथि प्राप्त सफलता अनि सन् १९७७ मा सेन्ट इस्टेयनविरुद्ध आत्मसात् गरेको जित पर्नेछ ।

कम्तीमा यसपल्ट यो सूची अझ लम्बिएको छ । रोमामाथि प्राप्त जित पनि कस्तो भने यसपछि मे २६ मा युक्रेनको किभमा हुने फाइनलमा लिभरपुलले फाइनल खेलेको कल्पना गर्न सक्छ । यसमा खाली एउटा बाधामात्र छ । त्यो हो, रोमाले यसअघि अन्तिम १६ मा बार्सिलोनामाथि प्राप्त गरेको जितसँगै स्थापित गरेको नजिर । ओलम्पिक स्टेडियममा खेल्न अगाडि रोमा ४–१ ले पछाडि थियो । तर रोमाले यसलाई उल्टाउन सफल रह्यो ।

यस्तोमा रोमाले लिभरपुलविरुद्ध पनि घरमा यस्तै नतिजा ल्याउने हो भने चमत्कार गर्नुपर्नेछ फेरि एकपल्ट । योर्गन क्लोपको लिभरपुल एक समय ५–० अगाडि थियो । त्यसयता टिमले सायद हेलचेक्र्याइँ गरेर खेल्यो कि ? घरेलु क्लबले लिएको यस्तो अग्रतामा जहाँ जादुयी खेल पस्किरहेका मोहम्मद सलाहले दुई गोल गरे । उनले दुई गोललाई अवसर पनि सिर्जना गरे । त्यसमध्ये दुई गोल रोबर्टो फिर्मिनोको नाममा रह्यो ।

अर्को गोल भने साडियो मानेले गरे । तय छ, आफ्नो घरेलु मैदानमा रोमाले उत्कृष्ट खेल्ने प्रयास गर्नेछ । यस्तोमा ‘क्लाइमेक्स’ सम्म पुग्न लिभरपुलले केही आत्तिनुपर्ने समय पनि बिताउनुपर्नेछ । तर पनि एनफिल्डमा भएको खेल लिभरपुलको आक्रामक र सनसनीपूर्ण खेलका लागि सम्झिनेछ । लिभरपुलले ५ गोल गरिसक्दा पनि अझ गोल थप्ने सक्ने स्थिति बनेको थियो । दुई गोल खाएर पनि खेलको अन्त्यमा क्लोपको अनुहारमा खुसी नै थियो ।

अर्को साता बुधबार यिनै दुई टिम भिड्दा लिभरपुलसँग उस्तै आक्रामक फुटबल खेल्ने आत्मविश्वास हुनेछ । रोमाले खेलको सुरुआती २० मिनेट राम्रो खेल्यो अनि खेलको अन्त्यतिर पनि यस्तै खेल्यो । तर यसबीच सिरी ‘ए’ को तेस्रो स्थानको टिम फिक्का जस्तै रह्यो । लिभरपुलले उपलब्धि सबै कोणबाट आक्रमण गरेको थियो । पूरा खेलमा सलाहले यस्तो नियन्त्रण राखेर खेले कि त्यसको प्रशंसा गर्न शब्दको कन्ज्युस्याइँ गर्न मिल्दैन । साँच्चै पूरा खेलमा यी इजिप्टका खेलाडी छाए ।

लिभरपुलका लागि खेलको अन्त्यमा एउटा तथ्यमा भने अपसोच रहने छ । त्यो हो एलेक्स ओक्सलेड चेम्बरलिन । चोटका कारण उनलाई स्ट्ेरचरमा राखेर बाहिर निकाल्नुपरेको थियो । लिभरपुल फाइनल पुग्यो भने पनि एलेक्स त्यसमा खेल्न सक्ने छैनन्, यस्तो डर छ । क्लोप आफैंले पनि उनको चोट गम्भीर रहेको बताएका छन् । डर छ कतै उनले विश्वकप त गुमाउने होइनन् । अहिले तत्काल भने क्लोप सेमिफाइनल पहिलो लेगमा प्राप्त जितको स्थिति गुमाउन चाहने छैनन् ।

Comment with Facebook

Share This News !

Ads




shares