मेसीसँग सम्बन्धित घटनाहरु

काठमाडौँ, बैशख ३० गते।
बार्सिलोनाका प्ले मेकर लियोनल मेसी वर्तमान समयकै उत्कृष्ट खेलाडी हुन् । बार्सिलोनाले पछिल्ला ५ वर्षभित्र दर्जनौँ उपाधि जित्दा मेसी नै नायक बने । यसपटक बार्सिलोनाले अपराजित रही लालिगा उपाधि जित्दा मेसीको योगदान अहं मानिन्छ । तर, अर्जेन्टिनी राष्ट्रिय टोलीका समेत कप्तान रहेका मेसी वेला–वेलामा विवादमा आउने गर्छन् । अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा तयार पारिएको मेसीसँग सम्बन्धित घटना यस्ता छन् ।

कर छली आरोप
बार्सिलोनामै फुटबल करिअर समाप्त गर्ने घोषणा गरेका मेसी पटक–पटक विवादमा तानिएका छन् । स्टार खेलाडी मेसीमाथि सन् २००७ देखि २००९ सम्म स्पेनिस सरकारलाई ३ करोड १९ लाख पाउन्ड कर नबुझाएको आरोप अहिलेसम्मै यथावत् छ । गत वर्ष बार्सिलोनाको अदालतले मेसीले एडिडास, कोकाकोला तथा डानोने विश्व प्रसिद्ध कम्पतीसँग सम्झौता रकम लुकाएको ठहर गरेको थियो । गत वर्ष बार्सिलोनाको अदालतले मेसी र उनका बुबालाई कर छलेको आरोपमा २१ महिना जेल सजायको फैसला गरेको थियो । यस फैसलाले फुटबलमै हल्लीखल्ली मचाएको थियो । तर, स्पेनमा आपराधिक गतिविधिमा संलग्न नभएका नागरिक जेल जानुनपर्ने नियम भएकाले नै मेसी र उनका बुबा जेल सजायबाट मुक्त भए ।

सन्न्यास र फिर्ता घोषणा
सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग र सन् २०१६ को कोपा अमेरिकामा चिलीसँग स्तब्ध भएपछि अर्जेन्टिनी टोलीका कप्तान मेसीले अचानक सन्न्यास घोषणा गरे । आफ्नो कप्तानीमा अर्जेन्टिनी राष्ट्रिय टोलीलाई उपाधि दिलाउन नसकेको पीडा खप्न नसकेका कारण सन्न्यास घोषणा गरेको उनको प्रतिक्रिया थियो । मेसीको यो अप्रत्याशित निर्णयसँगै कराडौँ समर्थक निराश बने । यद्यपि अर्जेन्टिनाका राष्ट्रपतिले समेत मेसीलाई अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा फिर्ता लिन आग्रह गरेका थिए । समर्थक तथा राष्ट्रपतिबाट चर्को दबाब आएपछि मेसीले तीन महिनापछि सन्न्यास फिर्ता लिए । मेसीको यस प्रकरणलाई मिडियाबाजी भन्ने गरिएको पाइन्छ ।

विश्वकपका उत्कृष्ट खेलाडी
सन् २०१४ को ब्राजिलमा भएको विश्वकपमा मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फाइनलमा पु¥याए । सन् १९९० पछि अर्जेन्टिना पहिलोपटक विश्वकपको उपाधि होडमा उभिएको थियो । तर, फाइनलमा जर्मनीसँग अर्जेन्टिना १–० ले पराजित भयो । खेलपछि विजेता र उपविजेता खेलाडीले पदक थापे । प्रतियोगितामा विभिन्न विधामा खेलाडी पुरस्कृत भए । त्यसमध्ये मुख्य विधा ‘प्रतियोगिताको उत्कृष्ट खेलाडी’ उपविजेताका कप्तान मेसीलाई प्रदान गरिएको थियो । मेसी प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिँदा धेरैले आश्चर्यजनक जनाए । धेरैजसोले उपाधि दिलाउन नसक्ने कप्तानलाई उत्कृष्ट खेलाडी घोषणा गर्न नहुने टिप्पणी दिए । वास्तवमा समर्थक र क्रिटिक्सले कोलम्बियाका जेम्स रोड्रिग्वेज सन् २०१४ को उत्कृष्ट खेलाडी हुने अनुमान गरेका थिए ।

चार खेलमा प्रतिबन्ध
मेसीले धेरैपटक खेलमा प्रतिबन्धको सामना गरेका छन् । तर, गत वर्ष विश्वकप छनोटमा उनीमाथि लागेको चार खेलको प्रतिबन्ध सनसनी नै बन्यो । दक्षिण अमेरिकन विश्वकप छनोटमा अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भएपछि कप्तान मेसीले खेलका म्याच रेफ्रीविरुद्ध अति नै फोहोरी शब्द प्रयोग गरे । ठाडै औँला देखाएर रेफ्रीको निर्णयप्रति उनले असन्तुष्टि जनाए । पछि फिफाको अनुशासन कमिटीले मेसीलाई ठोषी ठहर गरी चार अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध सुनायो । चार खेलमा प्रतिबन्ध हुँदा मेसीको पक्षमा चर्को आलोचना भएको थियो । त्यसवेला अर्जेन्टिना विश्वकपमा पुग्ने वा नपुग्ने सँघारमा थियो ।

Comment with Facebook

Share This News !

Ads




shares