इटहरी गोल्डकपको मनाङ फाइनलमा

इटहरी,माघ ११ गते
तीन वर्षपछि घरेलु फुटबलमा फर्केका सन्तोष साहुखलको दुई गोलमा मनाङ मर्स्याङ्दी क्लब बिहीबार दोस्रो सेमिफाइनलमा गरिफा स्पोर्टिङ क्लब कोलकातालाई ३–० ले हराउँदै मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ । उपाधिका लागि शनिबार मनाङले चिरप्रतिद्वन्द्वी थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोली सर्वाधिक १२ लाख रुपैयाँ पुरस्कारका लागि दाबेदार बनेका छन् ।

मनाङले एक महिनाअघि दुहबीमा सम्पन्न मनमोहन स्मृति गोल्डकप फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै उपाधि जितेको थियो । यस प्रतियोगितामा आर्मीलाई रोक्दै मनाङ फाइनल पुगेको हो । इटहरी रंगशालामा बिहीबार गरिफा र मनाङले पहिलो हाफ गोलरहित बराबरी खेले मन्ध्यान्तर हुनैलाग्दा गरिफाका खेलाडीले रातो कार्ड पाएर मैदान छाडेका थिए । ४४ औं मिनेटमा गरिफाका अबु बोकाइले मनाङका सन्तोष साहुखललाई खतरनाक ट्याकल गर्दा रेफ्री कविन व्यञ्जनकारबाट रातो कार्ड पाएका थिए । कार्डपछि केहीबेर खेल तनावपूर्ण बन्यो । बोकाइ मैदानबाहिर निस्कन ढिला गर्दा खेल केहीबेर हुन सकेन ।

दोस्रो हाफमा १० खेलाडीसाथ मैदान उत्रेको गरिफाको बाँकी समय सुखद रहेन । दोस्रो मिनेटमै सन्तोषले गोल गर्दै मनाङलाई अगाडि बढाए । काउन्टर अट्याकमा मनाङका खेलाडीले हानेको बल गरिफाका डुम्बिआले नियन्त्रणमा लिन खोज्दा फितलो प्रहार गरे । त्यसमै नजिकै रहेका सन्तोषले प्रहार गर्दै गोलमा परिणत गरे । विदेशमा रहेकाले साहुखल ३–४ वर्ष नेपाली फुटबलभन्दा बाहिर थिए ।

दोस्रो हाफको २२ औं मिनेटमा पुन: सन्तोषले व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी बक्स अगाडि भिक्टरले मिलाइदिएको पासमा सन्तोषले गोल गरेका हुन् । मनाङका लागि तेस्रो गोल वैकल्पिक खेलाडी विमल रानाले गरे । उनले दोस्रो हाफको ३० औं मिनेटमा मध्यभागबाट अगाडि बढाउँदै लगेको बलमा गोल गरेका थिए । विमल कप्तान अनिल गुरुङको सट्टा मैदान छिरेका थिए । गरिफाले सुरुबाटै लय गुमाएपछि मनाङको दबाबमा पर्‍यो । पहिलो हाफमा टिमवर्कमा नदेखिँदा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले दोस्रो हाफमा रणनीति बदले । उनले टिमवर्कमा खेल्ने र स्कोर निकाल्ने गरी बनाएको रणनीतिले काम गर्‍यो । ५ नाइजेरियन खेलाडी उतारेको गरिफाले सर्टपास र लङ पाससमेत मिस गरेको थियो । राम्रो बल निकाले पनि पोस्टमा पुगेर फितलो प्रहार गर्दा उनीहरू चुकेका थिए । गरिफाका डीजीवी, डुम्बिया, मिथुन साह, सुमित मुखर्जीले पाएका सुन्दर अवसर सदुपयोग गर्न सकेनन् । मनाङका भिक्टर, अनिल गुरुङ, मुसा, सुवास गुरुङका प्रहार चुकेका थिए ।

म्यान अफ द म्याच मनाङका सन्तोष साहुखल भए । उनले १० हजार रुपैयाँ पाए । गरिफाका प्रशिक्षक प्रणव चक्रवर्ती पोस्टम्याच कन्फ्रेन्समा समेत उपस्थित भएनन् ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङले पहिलो हाफमा टिम गेम देखाउन नसक्दा स्कोर निकाल्न नसकेको र दोस्रो हाफमा टिम गेम खेलेकाले स्कोर निस्किएको बताए । बक्सभित्र ब्याक टयाकलमा पेनाल्टी दिनुपर्नेमा फ्रिकिक मात्र दिइएकोबारे उनले रेफ्रीप्रति असन्तुष्टि पोखे । गरिफाका खेलाडीले खुलेआम रेफ्रीलाई गालीगलौच गर्दा पनि कार्ड नदिनु कमजोरी भएको लोप्साङको तर्क थियो ।

शनिबारको फाइनलमा मनाङविरुद्ध थ्रीस्टार खेल्नेछ ।

Comment with Facebook

Share This News !

Ads




shares