सन्दीप डग आउट मै ,दिल्ली पाचौं खेलमा पनि पराजित

काठमाडौँ ,बैशाख १० गते।
इन्डियन प्रिमियर लिग (आईपीएल)को पाचौं खेलमा पनि सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स् पराजित भएको छ । शनिबार राति भएको खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरसँग दिल्ली ६ विकेटले पराजित भएको हो । प्रतियोगितामा ५ खेल खेलेको दिल्लीले एक खेलमा मात्र जित हात पारेको छ भने अंक तालिकाको पुच्छारमा रहेको छ ।
बैंग्लोरको घरेलु मैदानमा भएको खेलमा बैंग्लोरले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनायो । दिल्लीका लागि रिबस पन्तले सर्वाधिक ८५ रन बनाए भने श्रेयस लेयरले ५२ रन बनाए । अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन १० बल सामना गरेका कप्तान गौतम गाम्भिर ३ रनमै आउट भए ।
बैंग्लोरका लागि युजचेन्द्र चहलले सर्वाधिक २ विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पार गर्दै यस सिजनको दोस्रो जित दर्ता गर्यो । बैंग्लोरका लागि दक्षिण अफ्रिकी विस्फोटक ब्याट्सम्यान एबी डेभिलियर्सले ३९ बलमा बनाए । १० चौका र ५ छक्का सहति ९० रन बनाएर नटआउट रहे । कप्तान विराट कोहलीले ३० रन बनाए । दिल्लीका लागि ट्रेन्ट बोल्ट, हर्शल पटेल र ग्लेन म्याक्सवेलले १-१ विकेट लिए ।
सन्दीप लामिछानेले भने हालसम्म खेल्ने मौका पाएका छैनन् ।
सन्दीपलाई दिल्ली डेयरडेभिल्सले व्यापारका लागि मात्रै लिएको हो ?
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पर्ने पहिलो नेपाली खेलाडीमा परेसँगै चुलिएको सन्दीप लामिछानेको विश्व व्यापी चर्चा बेन्चमा सीमित भएपछि हाल धेरै मत्थर भएको छ । दिल्ली डेयरडेभिल्सले पहिलो ५ खेलमा नखेलाए पछि पनि चर्चामा आउनु कारण नेपाली समर्थक माझ सन्दीपले अवसर किन नपाएर हो भन्नु मात्र हो ।१७ वर्षे सन्दीप दिल्लीले खेलेका यी पाँच खेलमा आक्कल झुक्कल मात्र रेखि भएको जुँगा सहित देखा परेका छन्। हैन भने उनी ‘डग आउट’ मा पनि देखिएका छैनन्। जनवरीको तेस्रो साता भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारु भाउ लगाउदै लिएको थियो। आईपीएल विश्व क्रिकेटको धनी लिग हो। त्यसैले त्यहाँसम्म पुग्नु नेपाली खेलाडीको सानोतिनो सफलता पक्कै होइन्।
सन्दीपले अहिलेसम्म कुनै खेल खेल्न नपाउदा उनी आईपीएल खेलेको अनुभव नगरी फर्किने त होइनन् भन्ने आशंका नेपाली समर्थकले समाजिक सञ्जालमा पोख्दै आएका छन्। गत वर्षको आईपीएलमा युएईका चिराग सुरीलाई गुजरात लायन्सले लिएको थियो। तर भारतीय मुलका यी ब्याट्सम्यानले कुनै खेल खेल्न पाएका थिएनन्। कतै सन्दीप पनि सुरी पथमै हुने त होइनन भन्ने आशंका नेपाली समर्थकमा देखिन्छ।

गत वर्ष एसोसिएट क्रिकेटका खेलाडीले आईपीएलमा क्रान्ति नै ल्याएको थियो। त्यो क्रान्तिको बीऊ अफगानिस्तानका मोहम्मद नाबी र रशिद खानले रोपेका थिए। दुबैले सनराइजर्स हैदराबादबाट खेले। विशेष गरी रशिदले बेजोड प्रदर्शन गरे। रशिदले १४ खेलमा १७ विकेट लिएका थिए। रशिदको भाउ यसपटक अक्सनमा ९ करोड भारु पुग्यो। नाबी र रशिदकै प्रदर्शनमा सन्दीपलाई पनि आईपीलमा पुग्न सजिलो भएको थियो, यसमा कुनै शंका छैन।
आईपीएल अघि सन्दीप बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको ड्राफ्टमा भए पनि भाउ लागेको थिएन्। आइपीएलको सन्दीपको चर्चालाई चुल्याउँदा उनी क्यारेबियन प्रिमियर लिगमा पनि छनोट भइसकेका छन्। सन्दीपको यो यात्रा पक्कै सीमित हुने छैन। अझ ठुला नामसँग जोडिएर आउने उनको सम्भावना उस्तै छ।

सन्दीपको खेल्ने सम्भावना
दिल्ली ५ मध्येको ४ खेल हारेर ८ फ्रेन्चाईज टोली सहभागी आईपीएलको अंक तालिको पुछारमा छ। विगतमा पनि यो टोली पुछारमै रहँदै आएको थियो र अहिलेसम्म फाइनल पुगेको छैन। आईपीएल इतिहासको सबैभन्दा खराब प्रदर्शन गर्दै आएको दिल्लीले यसपटक पनि त्यही लय नै देखाएको छ।

विभिन्न कारण दिल्लीले पहिलो ५ खेल घरेलु मैदान बाहिर खेल्नु परेको थियो। दिल्लीले आगामी ९ मध्ये ७ खेल आफ्नो घरेलु मैदान फिरोज शाह कोटला मैदानमा खेल्दै छ। यसको सुरुआत शीर्ष स्थानमा रहेको किंग्स ११ पञ्जावसँग सोमबार घरेलु मैदानबाट गर्नेछ। त्यसपछिका ८ खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादसँग अवे खेल्ने छ। हैदराबादसँग दिल्लीले ५ दिनको अन्तरमा घरेलु मैदानमा पनि खेल्ने छ। दिल्ली गत सिजनमा घरेलु मैदानमा खेलेको पछिल्लो ५ मध्येको ३ खेल जितेको थियो।

फिरोज शाह कोटला मैदान परमपरागत रुपमा स्पिन विकेटलाई परिचित छ। सन्दीपले मौका पाए यसैमा सम्भावना धेरै रहन्छ। आईपीएलको यस संस्करणमा पहिला ब्याटिङ गर्दा बनाइएको २ सय रनको हाराहारी स्कोर सुरक्षित देखिएको छैन। अझ लेग स्पिनर बलरलाई नियन्त्रित बलिङ गर्नु झन चुनौती हो। सन्दीपको कठिनाई यसैमा हो। तर फिरोज शाह कोटलाको विकेटको विगत र दिल्लीको हारको शृंखला हेर्दा सन्दीपको आईपीएलमा ‘डेब्यु’ को प्रतिक्षा छोट्टिँदै गएको अनुमान गर्न सकिन्छ।

सन्दीप किशोर खेलाडी हुन्। उनको फिल्डिङ पनि बयस्क हुन सकेको छैन। आईपीएल ब्याट्सम्यानको खेल र ब्याट्सम्यानले प्रत्येक जस्तो शट आक्रामक खेल्ने हुनाले फिल्डिङका हिसाबमा पनि सन्दीपमाथि दिल्लीले जोखिम नलिएको हुनसक्छ। अर्को सन्दीपको जुन क्षमता छ त्यो अनुसार उनी ११ नम्बर बाहेक अर्को स्थानमा ब्याटिङ गर्न सक्दैनन्। यसले सन्दीपलाई बलिङमा मात्र खुम्च्याएको छ।

सन्दीपले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा ट्वान्टी–२० खेलेका छैनन्। त्यस अर्थमा सन्दीपको दिल्ली यात्रा परिको कथा नै जस्तै छ। सन्दीप जे हुन् बलिङका कारण हुन्। उनी बलिङमा विविधता छ। गुगली उनको विशेषता हो। ६ बल फरक फाल्न सक्छन् र नियन्त्रित बलिङ गर्न सक्छन्। आईपीएल जस्तो प्रतियोगितामा निश्चित केही हुँदैन। उनले अवसर पाइहालेमा पनि ब्याट्सम्यानको दबदबामा ठुलै चुनौतीको सामना गर्नुपर्छ।

विदेशी खेलाडीको कोटा
आईपीएलमा एउटा टोलीले अधिकतम ८ विदेशी खेलाडी राख्न पाउँछ, त्यसमा बढीमा ४ विदेशी खेलाडीलाई मात्र खेलाउन पाउँछ। दिल्लीले आफ्ना ८ विदेशी खेलाडी मध्ये लिएम प्लुनकेट र सन्दीपलाई मात्र खेलाएको छैन। दक्षिण अफ्रिकी बलर कागिसो राबाडा घाइते भएपछि उनको स्थान लिन प्लुनकेट आएका थिए। न्युजिल्यान्डका देब्रेहाते तीब्र बलर ट्रेन्ट बोल्टले मात्र दिल्लीबाट विदेशी खेलाडीको कोटामा सबै ५ खेल खेलेका छन्। क्रिस मोरिस र ग्लेन म्याक्सवेलले ४,४ जेसन रोयले ३, डानियल क्रिस्टियन र कोलिन मुन्रोले २–२ खेल खेलेका छन्।
पछिल्ला खेलहरु हेर्दा दिल्लीको विदेशी खेलाडीको कोटामा रोय, म्याक्सवेल, बोल्ट र मोरिस ‘सेट’ खेलाडी जस्ता छन्। रोय र म्याक्सवेल दिल्लीका प्रमुख ब्याट्सम्यान हुन्। बोल्टले दिल्लीबाट सर्वाधिक ७ विकेट लिइसकेका छन्। मोरिसले ३ विकेटमात्र लिन सकेका छन् र पछिल्लो खेलमा उनले ४ ओभरमा ४३ रन खर्चेका थिए। यसले उनको स्थान प्लेयिङमा अप्ठयारो स्थितिमा आइसकेको छ। त्यसै पनि घरेलु मैदानमा खेल्नु पर्ने हुनाले दिल्लीले एउटा फास्ट बलर हटाएर एउटा स्पिनर थप्न सक्छ

Comment with Facebook

Share This News !

Ads




shares