पहिलो वान–डे अन्तर्राष्ट्रिय शृंखला क्रिकेट टोली युरोप यात्रामा

काठमाडौं, साउन ३ गते ।

पहिलो वान–डे अन्तर्राष्ट्रिय शृंखला तथा लर्ड्समा हुने त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नका लागि नेपाली क्रिकेट टोली बिहीबार बेलायत जाने भएको छ । मार्चमा सम्पन्न विश्वकप छनोटबाट वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको नेपालले नेदरल्यान्ड्ससँग दुई वान–डे खेल खेल्दैछ ।

प्रशिक्षक जगत टमाटाले नेपालले खेल्ने पहिलो वान–डे अन्तर्राष्ट्रिय खेलका लागि प्रशिक्षकको भूमिका पाउँदा निकै उत्साहित रहेको बताए । ‘राष्ट्रिय खेलाडीका रूपमा क्रिकेटमा रहेर अहिले वान–डे खेल्दा प्रशिक्षकको भूमिकामा हुँदा निकै खुसी लागिरहेको छ । म मात्र हैन, टोली नै उत्साहित छ । हामीसँग चार वर्षका लागि वान–डे मान्यता छ । अब यसलाई लिएर कसरी अगाडि बढ्छौं भन्ने हाम्रो हातमा छ । सबै खेलाडीले यो भ्रमणलाई गम्भीरतापूर्वक लिएर मिहिनेत गरिरहेका छन्,’ टमाटाले भने ।

युवा र अनुभवी खेलाडीको समिश्रण रहेको टोली निकै सन्तुलित रहेको टमाटाको बुझाइ छ । ‘हामीले डिभिजन–२ देखि राम्रो क्रिकेट खेल्दै नतिजा ल्याइरहेका छौं । टोलीभित्र प्रतिस्पर्धा बढ्नुले मौका पाएको खण्डमा राम्रो प्रदर्शन गर्न सबै खेलाडी दृढ छन्,’ उनले भने । ओपनर सुवास खकुरेलको राष्ट्रिय टोलीमा पुनरागमनसँगै टोलीले उनीमाथि राखेको विश्वास र महत्त्व पूरा गर्नेमा टमाटा विश्वस्त देखिए ।

 लड्र्समा त्रिकोणात्मक सिरिज
नेपाली राष्ट्रिय क्रिकेट टिमले २९ जुलाईमा बेलायस्थित लड्र्समा त्रिकोणात्मक टी–२० सिरिज खेल्दै छ । नेपाली टिमले नेदरल्यान्ड तथा मेरिलबोन क्रिकेट क्लब (एमसिसी)सँग प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्डविरुद्धको खेल अन्तर्राष्ट्रिय टी–२० मान्यताप्राप्त प्रतियोगिताका रूपमा रहनेछ । त्यसपछि नेपाल पहिलो एकदिवसीय प्रतिस्पर्धाका लागि नेदरल्यान्डतर्पm लाग्नेछ ।

मैत्रीपूर्ण खेल युरोप भ्रमण तालिका
साउन ५, शनिबार – नेपालविरुद्ध हग (५० ओभर)
साउन ७, सोमबार – नेपालविरुद्ध सेन्ट क्रस (टी–२०)
साउन ९, बुधबार – नेपालविरुद्ध इस्ट लन्डन ११ (५० ओभर)
साउन १०, शुक्रबार – नेपालविरुद्ध इस्ट लन्डन सार्क्स (टी–२०)

त्रिकोणात्मक सिरिज लर्ड्स मैदान, लन्डन
साउन १३, आइतबार – नेपालविरुद्ध मेरिलेबोन क्रिकेट क्लब (टी–२०)
साउन १३, आइतबार – नेपालविरुद्ध नेदरल्यान्ड्स (टी–२० अन्तर्राष्ट्रिय)

वानडे अन्तर्राष्ट्रिय शृंखला नेपालनेदरल्यान्ड्स (एमस्टिलभिन मैदान)
पहिलो वान–डे – साउन १६, बुधबार
दोस्रो वान–डे – साउन १८, शुक्रबार

नेदरल्यान्डसँगको खेलबाट एकदिवसीयमा डेब्यु
नेपाली राष्ट्रिय टिमले नेदरल्यान्डसँगको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नेछ । यसअघि नेपालले खेलेका खेलहरू ‘लिस्ट ए’को मान्यतका रूपमा रहने गरेका थिए । नेपालले एकदिवसीय विश्वकप छनोटका दौरान गत १ चैतमा एकदिवसीय मान्यता पाएको थियो । नेदरल्यान्डमा नेपालले १ र ३ अगस्टमा घरेलु टिमविरुद्ध दुईवटा एकदिवसीय खेलको शृंखला खेल्नेछ ।

खकुरेल २०१५ पछि राष्ट्रिय टिममा
नेपाली राष्ट्रिय टिममा विकेटकिपर ब्याट्सम्यानको भूमिका निभाउने गरेका सुवास खकुरेलले २०१५ पछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । खकुरेलले विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको खेलका दौरान पपुवा न्युगिनीविरुद्धको खेलपछि राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएनन् । फर्मबाहिर रहेपछि टिममा नपरेका खकुरेल बीचमा इन्जुरीका कारण पुनरागमनमा असफल भएका थिए । राष्ट्रिय खेलमा भने खकुरेलले गत जेठमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै उत्कृष्ट पुनरागमन गरेका थिए ।

नेपाली राष्ट्रिय टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ सेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् । त्यस्तै, चार खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ । वैकल्पिक खेलाडीमा विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी छन् ।

 

Comment with Facebook

Share This News !

Ads




shares