एसिया कपको प्रारम्भिक टोली छनोट,टोलीबाट भेसवाकर बाहिर

काठमाडौं, साउन २५ गते ।
नेपालले एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि १९ खेलाडी प्रारम्भिक छनोट गर्दा भेट्रान ब्याट्सम्यान शरद भेसवाकर बाहिरिएका छन् । नेदरल्यान्डविरुद्धको ऐतिहासिक डेब्यु एकदिवसीय सिरिजमा चोटग्रस्त बनेका शरद कम्तीमा चार साता मैदान बाहिर रहनेछन् । चोटकै कारण उनी राष्ट्रिय टोलीबाट प्रारम्भिक छनोट खेलाडीमा समावेश नभएका हुन् । सागर पुनले अन्तिम १९ मा पुनरागमन गरेका छन् । ११ देखि २२ भदौसम्म मलेसियामा एसिया कप छनोट हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला र सुशन भारीलाई छनोट गरेको हो ।

अघिल्लो साता नेदरल्यान्ड्समा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलका क्रममा घाइते शरद भेषवाकर प्रारम्भिक टोलीमा परेका छैनन् । नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नरहेका सुनिल धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र किशोर महतो प्रारम्भिक टोलीमा परेका छन् ।

बन्द प्रशिक्षण यही साउन २९ गतेदेखि सुरु हुने नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमनकुमार सिवाकोटीले जानकारी दिए । उक्त प्रशिक्षणबाट एशिया कपका लागि १५ सदस्यीय टोली घोषणा गरिनेछ । छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ । उक्त प्रतियोगितामा युनाइटेड अरब इमिरेट, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

छनोट प्रतियोगितामा सहभागी ६ टोलीमध्ये शीर्षस्थानको टोली भदौ ३० गतेदेखि यूएईमा हुने एशिया कपमा छनोट हुनेछ । उक्त प्रतियोगिताबाट छनोट हुने टोली एशिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानका साथ रहनेछ ।

देसाई ब्याटिङ प्रशिक्षक
आइसिसीले एसियन कपका लागि नेपालको ब्याटिङ प्रशिक्षकमा अपूर्व देसाईलाई पठाउने भएको छ । देसाई २९ साउनमा काठमाडौंमा आउनेछन् । उनले एसिया कपसम्म नेपालको ब्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गर्नेछन् । गुजरातका देसाई ब्याटिङमा भारतबाट सी श्रेणीको कोचिङ कोर्स पूरा गरेका छन् । उनले गजुरातबाट पहिलो श्रेणीको क्रिकेट खेलेका थिए । बिसिसिआईको एकेडेमीमा रहेर उनले उमेर समूहका टिमलाई प्रशिक्षण दिँदै आएका छन् । देसाईसँग आइपिएल टिममा खेलाडी छनोटको अनुभवसमेत रहेको छ ।

श्रीलंकामा अभ्यास खेल
मलेसिया प्रस्थान गर्नुअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेल्नेछ । वैदेशिक तयारीका लागि श्रीलंका भ्रमणमा राम्रो मानिन्छ । श्रीलंकन क्रिकेट बोर्डले नै राम्रा टोलीसँगको एकदिवसीय सिरिजको व्यवस्था गर्ने भए पनि अहिले नै कस्ता टिमसँग प्रतिस्पर्धा गर्ने भन्ने टुंगो भने लाग्न बाँकी रहेको छ ।

विजेतालाई मौका
एसिया कप छनोटमा विजेता टिमले एसिया कप खेल्न पाउनेछ । १३ देखि २१ भदौसम्म हुने खेलमा नेपालसँगै हङकङ, ओमान, मलेसिया, सिंगापुर र युएई रहेका छन् । छनोट हुने टिमले एसिया कपमा टेस्ट मान्यता प्राप्त एसियाका पाँच देशविरुद्ध प्रतिस्पर्धा गर्ने मौका पाउनेछ । एसिया कप १५ देखि २८ सेप्टेम्बरसम्म युएईमा हुनेछ ।

१९ खेलाडी
कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुभाष खकुरेल, सुनील धमला र सुसान भारी रहेका छन् ।

भेसवाकर चार साता मैदानबाहिर
नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा शरद फिल्डिङ गर्ने क्रममा चोटग्रस्त बनेका थिए । उनको दाहिने हातको कान्छी औँलामा चोट लागेको छ । नेपालको डेब्यु एकदिवसीय खेलमा शरद ११औँ क्रममा ब्याटिङ गर्न आएका थिए । शरदले डाक्टरको सल्लाहअनुसारै चार साता मैदानबाहिर बस्ने निर्णय गरेको बताएका छन् । ‘डाक्टरको सल्लाहअनुसारनै चार साता मैदानबाहिर रहने निर्णय गरेको हुँ,’ शरदले भने, ‘चोट पूर्ण ठीक भएपछि पुनरागमन गर्ने विश्वास लिएको छु ।’

Comment with Facebook

Share This News !

Ads




shares