नेपाली क्रिकेटमाथि दबाब

काठमाडौँ, माघ २३ गते।(एजेन्सी)

नेपाली राष्ट्रिय क्रिकेट टोली यसपालि ६–७ वर्षयताकै सबैभन्दा बढी दबाबमा हुनेछ । नामिबियामा बिहीबार सुरु हुने विश्व क्रिकेट लिग डिभिजन २ ले नेपाली टोलीमाथि त्यो दबाब थपिएको हो । डिभिजन २ सँग नेपाली क्रिकेटको भविष्य पनि जोडिएको छ, जसले कम्तीमा आउँदो चारवर्षे अन्तर्राष्ट्रिय क्रिकेटको स्पष्ट खाका कोर्न सक्छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारमा पर्न नसकेपछि नेपालले डिभिजन २ खेल्न लागेको हो । ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपबाट पुछारको चार स्थानमा रहेपछि नेपाल घटुवा भएर डिभिजन २ मा आएको हो । विश्वकप छनोटमा पुग्ने आधार रहेको च्याम्पियनसिपमा नेपाल सातौं भएको थियो । च्याम्पियनसिपबाट घटुवा भएका केन्या, यूएई, नामिबियासँग नेपालले डिभिजन २ मा प्रतिस्पर्धा गर्नुपर्नेछ । डिभिजन ३ का शीर्ष दुई टोली ओमान र क्यानाडा अफ्रिकी भूमि नामिबियामा नेपालको अर्का दुई प्रतिद्वन्द्वी हुन् । डिभिजन २ का शीर्ष दुई टोलीमात्र मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् ।
‘डिभिजन २ कति महत्त्वपूर्ण छ भनेर हामी सबैलाई राम्रोसँग थाहा छ । यसले नेपालको आगामी चारवर्षे क्रिकेटको भविष्य बोकेको छ । त्यसैले डिभिजन २ बाट माथि जान निकै महत्त्वपूर्ण छ,’ प्रशिक्षक जगत टमाटाको यही भनाइले नेपालको नामिबिया यात्रा प्रस्टयाउँछ । पछिल्ला प्रदर्शनहरूले नेपालमाथि चुनौती थपिदिएको छ । च्याम्पियनसिपका पछिल्ला ६ खेलमा नेपालले एकमात्र जित पाउन सक्यो । यो अवधिमा नेपालको स्तर डिभिजन ३ बाट आएका टोली ओमान र क्यानाडाभन्दा पनि कमजोरमात्र नभई अझ झरेजस्तो देखिएको छ । डिभिजन ३ मै मुस्किलले अडिएको अमेरिकासँग नोभेम्बरमा यूएईमा अभ्यास खेल्दा नेपाल ८९ रनमा अलआउट हुँदै ५ विकेटले पराजित भएको थियो ।
विश्वकप छनोट चरणमा पुग्नुपर्ने दबाब नेपाली टोलीमा छ । डिभिजन २ पार गरे नेपाल लगातार दोस्रोपल्ट विश्वकप छनोटमा पुग्नेछ । २०१४ मा न्युजिल्यान्डमा १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल नवौं भएको थियो । सन् २०१२ मा डिभिजन ४ देखि जितेर विश्वकप छनोटमा पुगेकाले नेपालबाट ठूलो उच्च अपेक्षा र आकांक्षा थियो । नेपालको प्रदर्शन त्योअनुरुप हुन सकेन । पछिल्लो विश्वकप छनोटले सिकाएको सबक भनेको नेपालले त्यो स्तरमा प्रदर्शन गर्न अझै मिहिनेत गर्नुपर्ने हो । च्याम्पियनसिपका पछिल्ला खेलमा केन्या, हङकङ, यूएईलगायतको टोलीसँग हार बेहोरेपछि नेपाललाई धेरैले ‘फेभरेट’ टयाग राखेका छैनन् । अहिले प्रदर्शन दिन नसकिरहेको अवस्थामा आकांक्षा पनि नहुँदा दबाबबिना खेल्ने अवसर नेपालसँग छ । यसले दाबेदार मानिएका केन्या, यूएई र आयोजक नामिबियामाथि दबाब थपिन सक्छ ।
युवा जोश कस्तो रहन्छ त्यसले पनि नेपालको प्रदर्शनमा प्रभाव पार्नेछ । अनिल शाह र रोहित पौडेल पहिलोपल्ट राष्ट्रिय टोलीको पूर्ण भ्रमणमा छन् । दुवैको यू–१९ मा उच्च प्रदर्शन छ । यिनीहरूसँगै सन्दीप लामिछाने, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, दिलीप नाथ, करण केसी, सोमपाल कामी जस्ता युवा खेलाडी रहेकाले नेपाली टोली परीक्षण अवधिमा छ । यसले नेपाली टोलीमा युवा खेलाडी आइरहेको पनि देखाएको छ । नेपालले कस्तो प्रदर्शन गर्छ वा नेपाली क्रिकेटको भविष्य कतातिर जाँदै छ त्यसको निक्र्योल डिभिजन २ मा यिनै युवा खेलाडीको प्रदर्शनले गर्न सक्छ ।
प्रतिद्वन्द्वी तिखारिँदै
नेपालको तुलनामा डिभिजन २ का टोलीहरूले राम्रो तयारी गरेको देखिन्छ । नामिबियाको घाँसे विकेट सुहाउँदो दक्षिण अफ्रिकामा गई यूएई, ओमान र क्यानाडा तयारी गरेर नामिबिया पुगेका छन् । दक्षिण अफ्रिकाको क्षेत्रीय वान डेमा नामिबियाले प्रतिस्पर्धा गरिरहेको छ, जहाँ पछिल्ला तीन खेल जितेर नामिबिया समूहमा दोस्रो स्थानमा हुँदा डिभिजन २ खेल्न पुगेको छ । केन्या भने जिम्बावे लागेको थियो तयारी गर्न । जिम्बावे ‘ए’ सँगका सबै चार खेलमा टोलीले पराजय भोग्यो । तर जिम्बावेको स्तर केन्याभन्दा माथि छ । त्यसैले केन्या जित–हारभन्दा पनि तयारीमा केन्द्रित देखिएको छ ।
नेपालको तयारी सबैभन्दा कमजोर देखिन्छ । नेपालले एक साता यूएईमा बितायो । यूएईको दोस्रो दर्जाको टोलीसँग ३ खेलमा नेपालले २ खेल जित्यो । यूएई ‘ए’ सँग अन्तिम खेलमा ६४ रनले पराजित नेपालको जित–हारभन्दा पनि गुनासो दक्षिण अफ्रिका भ्रमणको तयारीलाई मौका नपाएकामा थियो । यसमा प्रशिक्षक टमाटा सन्तुष्ट देखिएका छैनन् । सन् २०१५ मा दक्षिण अफ्रिकामा गएर अभ्यास गर्दै नामिबिया पुग्दा नेपाल चौथो भएको थियो, जसले नेपाललाई च्याम्पियनसिप खेल्ने अवसर दियो । यूएईको अभ्यासले नेपाललाई कता डोर्‍याउँछ हेर्न बाँकी छ ।
Comment with Facebook

Share This News !

Ads




shares