रसिया टाइब्रेकरमा चुक्यो ,क्रोएसिया विश्वकपको सेमिफाइनलमा

मस्को,आषाढ २४ गते ।

आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले इंग्ल्याण्डको सामना गर्नेछ । शनिबार राति भएको खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हरायो ।

रसियाका फेडर स्लोल्वको पेनाल्टी क्रोएसियाका गोलकिपरले रोकेका थिए । रसियाका गोलकिपर इगर एकिनफिवले क्रोएसियाका मारियो मान्जुकिजको पेनाल्टी रोक्दै टिमलाई अवसर दिए ।

तर, रसियाका मारियो फर्नान्डेजको पेनाल्टी सही दिशा नै लिन सकेन । इभान र्‍याकिटिकले गोल गर्दै क्रोएसियालार्इ सेमिफाइनलमा पुर्‍याएका छन् ।

यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा दुबै टोलीले एक एक गोल गरे ।

निर्धारित समयको खेलमा रसियाले ३१ औं मिनेटमा डेनिस चेरसेवको गोलबाट अग्रता लिएको थियो । तर, ८ मिनेटपछि नै क्रोएसियाले बराबरी गोल फर्कायो । उसका लागि क्रमारिकले गोल गरे ।

निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०० औं मिनेटमा भिडाले गोल गरे ।

तर, खेल सकिन ५ मिनेट बाँकी छँदा फर्नान्डेजले रसियाका लोभलाग्दो बराबरी गोल गरेका थिए ।

 

Comment with Facebook

Share This News !

Ads




shares