मेस्सी को परिक्ष आज आइसल्यान्डसंग

मस्को, आषाढ २ गते।
लियोनल मेसीको अर्जेन्टिना विश्वकपको अपेक्षाकृत हुन नसकेको तयारीलाई पछाडि राख्दै शनिबार आइसल्यान्डसँग पहिलो खेल खेल्दा खरो रूपमा उत्रने प्रयासमा हुनेछ । आइसल्यान्ड विश्वकपमा पहिलोपल्ट सहभागिता जनाउँदै छ । विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन च्याम्पियनसिपको पहिलो सहभागितामै ठूला भनिएका देशलाई स्तब्ध बनाउन सफल आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध पनि त्यस्तै नतिजा निकाले आश्चर्य मान्नु पर्ने छैन।

खराब फर्म, चोटको शृंखला र विवादबीच दुईपल्टको च्याम्पियन अर्जेन्टिना विश्वकपमा प्रतिस्पर्धा गर्न रुस आइपुगेको हो । मेसी विश्वकपमा पहिलो विजयी पदक थाप्न आतुर छन् । त्यसका लागि उनी नै टोलीका प्रमुख हतियार हुन् । मस्कोको स्पार्टाक रंगशालामा नवप्रवेशी टोलीविरुद्ध उत्रँदा अर्जेन्टिना विपक्षीलाई कमजोर नलिने पक्षमा छ । ‘पछिल्लो युरोमा आइसल्यान्डले उनीहरूले जुनै टिमसँग पनि प्रतिस्पर्धा गर्न सक्छ भन्ने देखाइसकेको छ,’ दुई वर्षअगाडि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा आइसल्यान्डले गरेको प्रदर्शन औंल्याउदै मेसीले भने ।

युरोपियन च्याम्पियिनसिपमा गरेको प्रदर्शनले मात्र आइसल्यान्डलाई अर्जेन्टिनाको कठिन प्रतिस्पर्धीका रुपमा रुपमा उभ्याउनु हतार हुन सक्छ । ‘विश्वकपमा पहिलो खेल, त्यसमाथि प्रतिद्वन्द्वीका रुपमा दुई पटकको विजेता अर्जेन्टिना । हाम्रा लागि यो भन्दा राम्रो स्वागत अरु के हुन सक्छ,’ आइसल्यान्डका प्रशिक्षक हेइमार हलग्रिमसनले ६ महिनाअघि भनेका थिए, ‘हामी अर्जेन्टिनाविरुद्धको खेलका लागि उत्साही छौं।’

२००६ र २०१० को विश्वकपमा क्वार्टरफाइनलबाटै बाहिरिएको अर्जेन्टिना ब्राजिलमा ४ वर्षअघि जर्मनीसँग फाइनलमा १–० ले पराजित भएपछि उपाधिबाट विमुख भएको थियो । अझ २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पेनाल्टी सुटआउटमा निराश भएको पीडा पनि अर्जेन्टिनी टोलीसँग छ । लगातारका निराशा भुलाउन अर्जेन्टिना शनिबार प्रष्ट नतिजा निकाल्दै उपाधिमाथि दाबेदारी पेश गर्न चाहन्छ । ‘मैले टोलीलाई अन्तिम ४ सम्म प्रवेश गुर्नुपर्छ भनेको छु,’ अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीले भने, ‘कुनै पनि प्रतियोगितामा पहिलो खेलले धरै महत्व राख्छ । पहिलो खेलमा जित्यो भने टोलीको आत्मविश्वास बढ्छ।’

बार्सिलोनामा सफलताको बाढी नै ल्याए पनि ३१ वर्ष लाग्नैलाग्दा पाँचपल्ट विश्व वर्ष खेलाडी मेसीले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सकेका छैनन् । सन् २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएपछि उनले छोटो समयका लागि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा पनि गरेका थिए । रुसमा पनि सफलता हात पार्न नसके मेसीले स्थायी रूपमै राष्ट्रिय टोलीको यात्रा टुंग्याउने संकेत दिइसकेका छन् ।आलोचकहरूले समूह ‘डी’ को यस खेललाई मेसीनिर्भर अर्जेन्टिना र प्रतिष्ठाका लागि लड्ने योद्धाबीचको खेल भनेर व्याख्या गरेका छन् । कागजमा दक्षिण अमेरिकी टोलीलाई यो खेल जित्न खासै गाह्रो नपर्ने देखिन्छ । आइसल्यान्डको जनसंख्या ३ लाख ३० हजारमात्र छ । टोली विश्वकप खेल्ने कम जनसंख्या भएको देश हो । तर टोली युरो २०१६ मा देखाएको प्रदर्शन कुनै ‘फ्लुक’ नभएको प्रमाणित गर्ने दाउमा छ ।

आफ्ना समर्थकमाझ गएर ठूलो ताली पडकाउनेका कारण परिचित आइसल्यान्डले युरोमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई १–१ को बराबरीमा रोकेको थियो भने इंग्ल्यान्डलाई क्वाटरफाइनलमै हराएको हो । ‘हामीले रोनाल्डोलाई चल्नै दिएका थिएनौं, त्यसैले आशा छ मेसीलाई पनि त्यही गर्छौं,’ बर्नलीका विङ्गर जोहनबर्ग गुडमुन्डसनले भने, ‘उनी (मेसी) निश्चय पनि विश्वका उत्कृष्टमध्ये एक खेलाडी हुन्, त्यसैले उनका पछाडि लाग्नुपर्ने हुन्छ । उनले खेलै परिवर्तन गर्न सक्छन् ।’

आइसल्यान्ड विश्व वरीयतामा १७ औं स्थानमा छ । ऊ अर्जेन्टिनाभन्दा २२ स्थान तल छ । आइसल्यान्डले क्रोएसिया, युक्रेन र टर्कीलाई सजिलै उछिन्दै युरोपेली छनोट प्रतियोगिताबाट विश्वकप पुगेको हो । अर्जेन्टिनाका वैकल्पिक गोलरक्षक नाहुइल गुजमान आफ्नो टोलीले मेसीलाई सफलता दिलाउन सक्दो प्रयास गर्ने तर आइसल्यान्डसँगको खेल निकै कठिन हुने अपेक्षा गर्छन् । ‘हामीले धैर्य भएर खेल्दै बल अगाडि बढाउनुपर्छ र स्पेस पत्ता लगाउनुपर्छ,’ मेक्सिकन क्लब टाइगर्सबाट खेल्ने गुजमानले भने, ‘यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । त्यसैले हामी नियन्त्रित भएर खेल्नुपर्नेछ ।’

इक्वडेरसँगको छनोटको अन्तिम खेलमा मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिना विश्वकपमा छानिएको थियो । तर नोभेम्बरमा टोली नाइजेरियासँग मैत्रीपूर्ण खेलमा ४–२ ले र स्पेनसँग मार्चमा ६–१ ले पराजित भएको थियो । मेसी दुवै खेलमा थिएनन् । अर्जेन्टिनाले जेरुसेलममा हुने इजरायलसँगको अन्तिम अभ्यास खेल प्यालेस्टाइनको विरोधपछि रद्द गरेको थियो । यसले अर्जेन्टिनालाई विवादमा निम्त्यायो भने खेलाडीलाई म्याच प्राक्टिस पनि पुगेको थिएन ।

उता गोलरक्षक सर्जियो रोमेरो र मिडफिल्डर म्यानुयल लान्जिनी चोटका कारण अर्जेन्टिनाको विश्वकप टोलीबाट बाहिरिइसकेका छन् । सर्जियो अगुइरो, पाउलो डिबाला र गोन्जालो हिगुइन जस्ता खेलाडी रहनुका अलावा अर्जेन्टिनी टोली मेसीमै निर्भर रहेको देखिन्न ।

तर स्वयं प्रशिक्षक जोर्गे साम्पाओलीले मेसीमाथि यस्तै धारणा बनाएका छन् । ‘उनी आफ्नो टोलीलाई काँधमा राखेर अगाडि लैजाने क्षमता राख्छन्,’ बार्सिलोनाबाट यस सिजनमा ५४ खेलमा ४५ गोल गरेका मेसीबारेमा साम्पाओलीले भने, ‘यो उनकै नेतृत्वमा अगाडि बढ्ने टोली हो ।’

Comment with Facebook

Share This News !

Ads




shares