ब्राजिलले विश्वकप इतिहासकै लज्जास्पद नतिजा मेटाउने दाउमा

मस्को,आषाढ ३ गते ।
रुसमा विश्वलाई आफ्नो हैसियत के हो भनेर देखाउने संकेत ब्राजिलले दिइसकेको छ । तर आइतबार विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा जब्बर स्वीट्जरल्यान्डसँग उत्रँदा टोलीले आफ्नो उत्कृष्ट तयारीलाई निरन्तरता दिनुपर्नेछ । चार वर्षअघि ब्राजिलले आफ्नै घरमा विश्वकप इतिहासकै लज्जास्पद नतिजा बेहोर्यो । सेमिफाइनलमा जर्मनीसँग ७-१ गोलले पराजित भएपछि पाँच पटकको विश्वकप विजेता ब्राजिल अघि बढ्न सकेन । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा समेत ब्राजिल नेदरल्यान्डसँग ३-० गोलले पराजित भयो ।

टिटेको प्रशिक्षणमा पाँचपल्टको विश्व च्याम्पियन ब्राजिलले उत्कृष्ट खेल्दै आएको छ । रुस विश्वकपलाई छनोट हुने पहिलो राष्ट्र पनि ब्राजिल हो । जबकि दक्षिण अमेरिकी छनोट चरणमा ब्राजिलको सुरुआत निकै दयनीय पारामा भएको थियो । अन्तमा ब्राजिल शीर्षस्थानमा रहँदै रुसको टिकट काट्न सफल भयो । छनोट चरण पार गर्दै विश्वकप फुटबलको प्रत्येक संस्करण खेल्ने मात्र एक्लो टोली ब्राजिलले विश्वकप फुटबलमा त्यसअघि कुनै पनि टोलीविरुद्ध कहिल्यै यो नतिजा बेहोरेको थिएन । त्यसको चार वर्षपछि फेरि रुस विश्वकप सुरु हुँदा ब्राजिल त्यही पराजयको पीडाबाट मुक्त हुँदै आफ्नो पुरानै गर्विलो छवि पछ्याउने प्रयासमा जुटेको छ । त्यसअघि ब्राजिल कम्तीमा स्विट्जरल्यान्डविरुद्ध आइतबार हुने समूहगत चरणको आफ्नो पहिलो खेलमा ठूलो जितसहित सशक्त पुनरागमन गर्न चाहन्छ ।

क्रोएसिया र अस्ट्रियासँगको अभ्यास खेलमा ब्राजिलले राम्रो प्रभाव देखाएको थियो । फरवार्डहरू विलियन, रोबर्टो फिर्मिनो, ग्याब्रियल जेसस, फिलिप कोटिन्हो र प्रमुख स्ट्राइकर नेयमर सबै राम्रो लयमा देखिएका थिए । पछिल्लो विश्वकप आयोजकको हैसियतमा खेलेको ब्राजिललाई सेमिफाइनलमा जर्मनीले ७–१ ले धुलो चटाइदिएको थियो । ब्राजिलको यस कमजोर प्रदर्शनले २०१५ र २०१६ को कोपा अमेरिकामा पनि निरन्तरता पायो । जसका कारण रक्षात्मक शैली अपनाएका प्रशिक्षक डुंगाले जागिरबाट हात धुनुपर्यो । उनकै स्थानमा टिटे ल्याइएको थियो ।

ब्राजिलले रुस विश्वकपअन्तर्गत आइतबार रोस्तोभ एरेनामा नेपाली समयअनुसार ११:४५ बजे स्विट्जरल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल सर्वाधिक सफल टोलीवरुद्ध सधैं मध्यम प्रदर्शन गरिरहने टोलीबीचको प्रतिस्पर्धा पनि हो । ब्राजिलले पाँचपटक उपाधि जित्दा स्विट्जरल्यान्ड क्वार्टरफाइनलभन्दा माथि जान सकेको छैन । धेरैलाई यही खेलको प्रतीक्षा पनि छ, ब्राजिलको नयाँ अवतार हेर्न । वास्तवमा चार वर्षअघि आफ आयोजक हुँदा जर्मनी र नेदरल्यान्ड्ससँग बेहोरेको पराजयपछि ध्वस्त देखिएको ब्राजिल अहिले धेरै फेरिएको छ । युरोपेली फुटबलमा स्थापित एकसेएक राम्रा खेलाडीले भरिएको ब्राजिल मुख्य खेलाडी नेमारबिना पनि सशक्त देखिने गर्छ ।

ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट रुस विश्वकपका लागि छनोट पक्का गर्ने पहिलो टोली हो । ब्राजिलले दक्षिण अमेरिकी छनोटको १८ मध्ये कुनै पनि खेलमा पराजय बेहोरेन । त्यसपछि रुस विश्वकपका लागि खेलिएको पछिल्लो ६ खेलमा पनि ब्राजिलले पाँच जितसहित आफूलाई अपराजित राखेको छ । यही प्रदर्शनले ब्राजिललाई रुस विश्वकपमा उपाधिकै दाबेदार पनि बनाएको हो ।

यद्यपि ब्राजिलले स्विट्जरल्यान्डलाई कमजोर आँक्ने गल्ती गर्न हुँदैन । स्विट्जरल्यान्डलाई रुस विश्वकपको छनोट पक्का गर्न केही मुस्किल देखियो । प्लेअफमा नर्दन आयरल्यान्डविरुद्ध दुवै लेगको खेलमा गरी १-० को जितपछि मात्रै स्विट्जरल्यान्ड रुस विश्वकपमा पुगेको हो । यद्यपि युरोपेली राम्रा लिगमा स्थापित खेलाडीको साथ रहेको स्विट्जरल्यान्डले कुनै पनि टोलीविरुद्ध अप्रत्याशित नतिजा निकाल्न सक्नेछ । त्यसैले उपाधिसम्म पुग्नुअघि ब्राजिलले यो सत्यतामा पनि ख्याल पुर्याउनु पर्नेछ । विश्वकप फुटबलमा यी दुई टोलीबीच यसअघि भएको प्रतिस्पर्धाको नतिजाले पनि त्यही तथ्यलाई संकेत गरेको छ । यी दुई टोलीले विश्वकप फुटबलमा मात्र एकपटक सन् १९५० मा भेट हुँदा २-२ गोलको बराबरी खेलेका थिए । त्यसयता भएका सात मैत्रीपूर्ण खेलमा भने ब्राजिलले तीनमा जित हात पार्दा दुई खेलमा पराजय बेहोरेको छ ।

हेड टु हेड
कुल खेल : ८
ब्राजिल विजयी : ३
स्विट्जरल्यान्ड विजयी : २
बराबरी : ३

ब्राजिल
विश्वकप सहभागिता : २१औं पटक
उपलब्धि : उपाधि पाँचपटक
फिफा वरीयता : २

स्विट्जरल्यान्ड
विश्वकप सहभागिता : ११औं पटक
उपलब्धि : क्वार्टरफाइनल तीनपटक
फिफा वरीयता : ६

प्रभाव पार्न सक्ने खेलाडी
नेमार, ब्राजिल
प्राविधिक रूपमा निकै छरिता नेमार उत्कृष्ट फुटबलर उत्पादन गर्ने ब्राजिलको विरासत थाम्ने खेलाडी हुन् । फुटबलमा पेले, रोनाल्डो, रोनाल्डिन्होलगायत महान् ब्राजिलियन खेलाडीको विरासत उनै नेमारले बोकेका छन् । यी २६ वर्षीय स्ट्राइकरले आफ्नो उदयको छोटो अवधिमै अन्तर्राष्ट्रिय फुटबलमा तहल्का मच्चाएका छन् ।
गत सिजन स्पेनी क्लब बार्सिलोना छाडेर विश्वकीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका नेमार अहिलेका सर्वाधिक महँगा खेलाडी हुन् । मैदानमा निकै सशक्त देखिने नेमारसँग फुटबलको भरपूर कला छ । खेलप्रतिको उनको ‘भिजन’, त्यही भिजनअनुसार बलसँग खेल्ने क्षमता र शैली विलक्षणको छ । उनको खुट्टामा बल हुँदा कुनै पनि टोलीका रक्षापंक्तिलाई मुस्किल पर्छ । दुईभन्दा बढी विपक्षी रक्षकलाई उनी सहजै छक्काएर बल अघि बढाउन सक्छन् ।
सन् २०१४ मा आफ्नै देशले आयोजना गरेको विश्वकपको क्वार्टरफाइनलमा नेमार चोटग्रस्त बनेपछि ब्राजिल सेमिफाइनलभन्दा माथि जान सकेन । बरु ब्राजिलले सेमिफाइनल खेलमा जर्मनीसँग ७–१ गोलको अहिलेसम्मकै लज्जास्पद हार बेहोरेको थियो । ब्राजिल अहिले हारको त्यो पीडा भुलेर रुस विश्वकपको तयारीमा छ । पछिल्लो केही समययता टोलीका महŒवपूर्ण सदस्य रहँदै आइरहेका नेमारले ब्राजिलले रुस विश्वकपमा तय गरेको उपाधिको योजनालाई अघि बढाउन महŒवपूर्ण भूमिका निर्वाह गर्नेछन् । उनको त्यही भूमिका रुस विश्वकपमा हेर्नलायकको हुनेछ । सन् २०१० मा ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका नेमारले त्यसयता ८५ खेलबाट ५५ गोलसमेत गरिसकेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares