नेइमारको चोट बल्झियो,ब्राजिल समस्या

मस्को,आषाढ ६  गते ।

ब्राजिलियन स्टार फवार्ड नेइमार खुट्टाको चोट फेरि बल्झिएपछि समस्या भएको छ, जसका कारण उनले अभ्यास गर्न सकेनन् । मंगलबार अभ्यासका क्रममा पुरानै चोट बल्झिएपछि नेइमार फिजियोथेरापिस्टसँग गएका छन् । उनी त्यहाँबाट छिट्टै अभ्यासमा फर्कन टिमको विश्वास छ ।

पेरिस सेन्ट जर्मेनबाट खेल्ने क्रममा चोट लागेपछि उनको दायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो । सिजनको अन्तिम खेलहरु गुमाएका उनी विश्वकप अघि मैदान फर्किएका थिए ।

विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डविरुद्ध पुरै ९० मिनेट खेले । तर, १-१ बराबरी भएको खेलका क्रममा नेइमारमाथि १० पटक फउल भएको थियो । २०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा चोट लागेपछि सेमिफाइनल खेल गुमाएका थिए । क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले फउल गरेका थिए ।

नेइमारविना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ ले स्तब्ध भएको थियो । यो पटक भने ब्राजिलियन टिमलाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिनु र स्टार स्ट्राइकर नेइमारको चोटले भने ब्राजिलियन टिममाथि केही दबाव थपिएको छ ।

 

Comment with Facebook

Share This News !

Ads




shares