क्रोएसियाद्वारा नाइजेरीया पराजित,डेनमार्कको संघर्षपूर्ण जित

मस्को,आषाढ ३ गते ।
रसियामा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले नाइजेरीयालाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै समुह डि को शिर्ष स्थानमा उक्लीएको छ। रसिया स्थित कालिनिनग्राड रङ्शालामा सम्पन्न खेलमा क्रोएसियाले खेलको ३२ औं मिनेटमा अग्रता बनाएको थियो। नाइजेरीयाका ओगेनकारो इटेबोले आत्मघाती गोल गर्दा क्रोएसिया खेलमा अग्रता कायम गर्न सफल भएको थियो।

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको क्रोएसियाले दोश्रो हाफमा समेत एक गोल थप्यो। खेलको ७१ औं मिनेटमा नाइजेरीयाका विलीयम ट्रस्ट इकोङ्गले क्रोएसियाका मारियो म्यानजुकीकलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टिलाई सदुपयोग गर्दै लुका मोड्रिकले गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको निर्धारित समय सकीन केहि मिनेट बाँकी रहँदा आक्रामक बनेको नाइजेरीया खेलमा भने फर्कन सकेन । शनिबारको हारसँगै नाइजेरीयाको अर्को चरणको यात्रा कठिन बनेको छ।

रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ। मोर्डोभिया एरिना रंगशालामा शनिबार सम्पन्न तेस्रो खेलमा डेनमार्कलाई विजयी गराउन ५९ औं मिनेटमा युसुफ पौलसेनले गोल गरे।

Comment with Facebook

Share This News !

Ads




shares