कोलम्बियालाई २-१ गोलले स्तब्ध पार्दै एसियाली टोली जापान विजय, सेनेगल पनि विजय

मस्को,आषाढ ६  गते ।

१० खेलाडीमा सीमित कोलम्बियालाई २-१ गोलले स्तब्ध पार्दै एसियाली टोली जापानले रुस विश्वकपमा सुखद सुरुआत गरेको छ।  समूह ‘एच’अन्तर्गत मंगलबार बेलुका भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बिया खेलको तेस्रो मिनेटमै १० खेलाडीमा समेटिएको थियो ।  डीबक्सभित्र बल बचाउने क्रममा कोलम्बियाका कार्लोस सान्चेजले ह्यान्ड गरेपछि उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। रुस विश्वकपका कार्लोसले पाएको यो पहिलो रातो कार्ड हो। विश्वकपको इतिहासमा भने यो खेल सुरु भएको कम समयमा पाएको दोस्रो रातो कार्ड हो।

यसअघि सन् १९८६ को विश्वकपमा स्कटल्यान्डविरुद्घको खेल सुरु भएको पहिलो मिनेटमै उरुग्वेका जोसे बाटिस्टाले रातो कार्ड पाएका थिए। कार्लोसको त्यही गल्तीमा जापानले पेनाल्टीको अवसर पाएको थियो।

जापानका सिन्जी कागावाले पेनाल्टीको सदुपयोग गरे। १० खेलाडीमा समेटिएपछि पनि आक्रामक देखिएको कोलम्बियाले ३९औं मिनेटमा बारबरी गोल फर्कायो। कोलम्बियाका हुवाँ क्विनटेरोले बराबरी गोल गरेका थिए।

क्विनटेरोको प्रहारलाई जापानका गोलरक्षकले गोल लाइनभित्र समाए पनि रेफ्रीले गोल दिएका थिए। पहिलो हाफमा संकट टारेको कोलम्बिया दोस्रो हाफमा त्यति जम्न सकेन। खेलको अन्तिमसम्म लयमा देखिएको जापानले ७३ औं मिनेटमा दोस्रो गोल गर्‍यो। जापानका युया ओसाकोले हेड गोल गर्दै टोलीलाई जित दिलाए। उनले केइसुके होन्डाको कर्नर पासमा गोल गरेका हुन्।

कोलम्बियाले दोस्रो हाफमा टोलीका प्रभावशाली खेलाडी जेम्स रोड्रिगेजलाई उतारे पनि सफलता पाउन सकेन। जितसँगै समूहमा जापानले महत्वपूर्ण तीन अंक बनाएको छ।

पुरानै खेलाडीको भरमा रुस यात्रा गरेको जापानले पहिलोपटक सन् १९९८ को विश्वकप खेलेको थियो। त्यसयता जापानले नियमित विश्वकप खेल्दै आएको छ। यसैगरी कोलम्बियाले २०१४ को विश्वकपमा डार्क हर्सको छवि बनाएको थियो।

कोलम्बियाले सन् २००२ देखि सन् २०१० को तीनवटा विश्वकप छनोट चरण नै पार गर्न सकेन। तर, रुस विश्वकपमा बलियो छाप छाड्ने अभियानमा रहेको कोलम्बियालाई पहिलो खेलको सुरुआतमै पाएको रातो कार्ड महँगो सावित भयो।

विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले विजयी सुरुवात गरेको छ। समूह ‘एच’ को खेलमा अफ्रिकी टोली सेनेगलले युरोपेली टोली पोल्यान्डलाई २–१ गोलले स्तब्ध बनाएको हो।

मस्को स्पार्कटक स्टेडियमममा पहिलो हाफको ३७ औं मिनेटमा पोल्यान्डका थिएगो सियोनेकले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता बनाएको थियो। काउन्टर अट्याकमा इद्रिसा गुइले प्रहार गरेको बल क्लियर गर्ने क्रममा थिएगोले आफ्नै पोस्टको जाली चुमाएका थिए।

पहिलो हाफ १–० गोलले अगाडि रहेको सेनेगलले दोस्रो हाफको ६०औं मिनेटमा अग्रता दोब्बर बनायो। सेनेगलका एमबाये नियाङले गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए।

दोस्रो गोल गरेपछि रक्षात्मक खेलेको सेनेगलको रक्षापंक्तिलाई पोल्यान्डका खेलाडीले भत्काउन सकेनन्। पोल्यान्डले आफ्ना स्टार खेलाडी रोबर्ट लेवान्डोवस्कीलाई सुरुवातदेखि नै मैदानमा उतारे पनि सेनेगलका रक्षकले नियन्त्रणमा राखेका थिए। जर्मन क्लब बायर्न म्युनिखका मुख्य खेलाडी समेत रहेका लेवान्डोवस्कीलाई नियन्त्रणमा राख्दा पोल्यान्डपछि परेको थियो।

खेलको ८५ औं मिनेटमा पोल्यान्डले फ्रिकिक पायो। पियोटर जिलिन्स्कीले प्रहार गरेको फ्रिकिकमा ग्रिजेगोर्ज क्रिचोविकले उत्कृष्ट गोल गरेका थिए। त्यसपछि पनि लगातार आक्रमण बुनेको पोल्यान्डले थप गोल गर्न नसक्दा पराजित भएको हो।

रुस विश्वकप अफ्रिकी टोली सेनेगलको दोस्रो सहभागिता हो। यसअघि सन् २००२ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा नै पहिलो खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेर सनसनी मच्चाएको सेनेगल त्यसबेला क्वार्टरफाइनलसम्म पुगेको थियो।

 

Comment with Facebook

Share This News !

Ads




shares