इजिप्टमाथि रसिया को सानदार जित

मस्को,आषाढ ६  गते ।

विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ मा भएको खेलमा आयोजक रसियाले लगातार दुई खेलमा जित हात पारेको छ । इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेसँगै रसियाको विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश निश्चित जस्तै भएको छ ।पहिलो खेलमा साउदी अरबलाई ५–० गोलअन्तरले पराजित गरेको रसियाले दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

रसियाको जितका लागि डेनिस चेरिशेभ र आर्टिम ज्युबाले गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो । त्यस्तै, इजिप्टका लागि मोहमद सलाहले एक गोल फर्काए ।दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा दुबै टिमले पहिलो हाफमा अग्रता बनाउने मौका गुमाएका थिए ।

इजिप्टका कप्तान अहमद फाथीले आत्मघाती गोल गरेपछि रसियाले दोस्रो हाफमा १–० गोलको अग्रता लिएको थियो । खेलको ४७औं मिनेटमा इजिप्टका कप्तान फाथीले आत्मघाती गोल गर्न पुगे । इजिप्टले आत्मघाती गोल खाएपछि खराब प्रदर्शन गरेको थिए ।त्यस्तै, रसियाका डेनिस चेरिशेभ र आर्टिम ज्युबाले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । खेलको ५९औं मिनेटमा चेरिशेभले गोल गर्दै रसियालाई २–० गोलको अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि खेलको ६२औं मिनेटमा ज्युबाले गोल गर्दै रसियालाई ३–० गोलको अग्रतामा पुर्याएका थिए ।

खेलको ७३औं मिनेटमा इजिप्टले गोल फर्काएको थियो । रसियाका खेलाडीले डिबक्सभित्र इजिप्टका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट मोहमद सलाहले गोल गर्दै इजिप्टलाई ३–१ गोलको स्थितिमा पुर्याएका थिए । तर बाँकी समयमा इजिप्टले गोल गर्न नसकेपछि रसियाले ३–१ गोलले जित हात पारेको हो ।जितसँगै आयोजक रसियाको ६ अंक भएको छ । लगातार दुई खेलमा पराजित भएको इजिप्टको भने समूह चरणबाटै बाहिरिने सम्भावना प्रवल रहेको छ ।

 

Comment with Facebook

Share This News !

Ads




shares