अर्जेन्टिनाको लज्जास्पद हार,फ्रान्स कठिन जित,डेनमार्क र अष्ट्रेलिया बराबरी

मस्को,आषाढ ८ गते ।

क्राेएसियासँग लज्जास्पद हारपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले विश्वकपमा खराब प्रदर्शनको दोष खेलाडीहरुमाथि थोपरेका छन् । लिओनल मेस्सीलाई साथ दिने खेलाडी अर्जेन्टिनी टिममा नभएको उनको टिप्पणी छ । बिहीबार राति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । यो हारसँगै समूह डीमा रहेको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

प्रशिक्षक साम्पाओलीले भनेका छन्, ‘अर्जेन्टिनी टिमका कारण मेस्सीको क्षमतामाथि बादल लागेको छ । लिओ सिमित छन् किनकी टिम उनीअनुसार छैन ।’ उनले गोलकिपर विली क्याबलेरोको पनि बचाउ गरे, जसको गल्तीले अर्जेन्टिनाले पहिलो गोल खाएको थियो । उनले भने, ‘क्याबलेरोलाई दोष दिनु उपयुक्त हुन्न ।’

आफूले फरक तरिकाले योजना बनाएको र, त्यसले विपक्षीमाथि दबाव बढ्छ भन्ने सोचेको भन्दै उनले भने, ‘पहिलो गोलपछि हामीले भावनात्मक रुपमा हा¥यौं ।’पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गर्दै क्रोएसियाले सहज जित हात पार्‍यो । ५३ औं मिनेटमा एन्टे रेबिकको गोल मार्फत अग्रता बनाएको क्रोएसियाले ८० औं मिनेटमा अग्रता दोब्बर पारेको थियो ।

दोस्रो गोल लुका मोर्डीचले गरे । ईज्युरी समयमा ईभान राकिटिकले गोल गर्दै टोलीलाई सानदार जित दिलाए । यो हारले अर्जेन्टिनाको अघिल्लो चरण प्रबेशको सम्भाबना कठिन भएको छ । पहिलो खेलमा आईसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिनाले लिग चरणको अन्तिम खेलमा नाईजेरियालाई फराकिलो अन्तरमा पराजित गर्नुपर्नेछ । साथै नाईजेरिया र आईसल्याण्ड तथा क्रोएसिया र आईसल्याण्डबीचको खेलको नतिजामा समेत भर पर्नुपर्नेछ ।

समुह सी अन्तर्गतको खेलमा भने फ्रान्सले पेरुलाई १–० ले हराउदै अघिल्लो चरणमा स्थान बनायो । केलियन एम्बाप्पेले ३४ औं मिनेटमा गरेको गोल उसको जितमा निर्णायक बनेको थियो । लगातार दोस्रो जितसंगै फ्रान्सले अन्तिम १६ को टिकट काटेको हो ।  सोहि समुहको खेलमा डेनमार्क र अष्ट्रेलियाले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । सुरुवाती अग्रता जोगाउन नसक्दा डेनमार्क अंक बाँड्न बाध्य बनेको थियो ।

 

Comment with Facebook

Share This News !

Ads




shares