आईसीसीको मान्यता ईपीएल क्रिकेटलाई

विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई आधिकारिक मान्यता दिएको छ । ईपीएल प्रालिको आयोजनामा ६ फ्रेन्चाइज टोली सहभागी हुने प्रतियोगिता सोमबार सुरु हँुदै छ ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीको स्वीकृति अनुमति मापदण्ड पूरा गरेपछि मान्यता पाएको जनाएको छ । आईसीसीले अघिल्लो सातामात्र ईपीएललाई मान्यता नभएको प्रतियोगिता र यसमा खेल्न सम्बन्धित राष्ट्रका दर्ता रहेका खेलाडीलाई एनओसी दिन नमिल्ने जनाएको थियो ।

गत वर्षको वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेयता आईसीसीले नै नेपालको क्रिकेट व्यवस्थापन हेर्दै आएको छ । त्यसयता आईसीसीले नेपालको क्रिकेट पुन: सुचारु गर्न सल्लाहकार समिति बनाएको छ । आईसीसीले मंगलबार साँझ सल्लाहकार समितिसहित क्रिकेट सरोकारवालाहरूलाई ईपीएलको आधिकारिताबारे सोधेर त्यसबारे जानकारी दिन इमेल पठाएको थियो ।

आईसीसीको स्वीकृति अनुमति मापदण्ड पूरा गरेअनुरुप ईपीएलले आईसीसीलाई २० हजार डलर तिर्नुपर्नेछ । आईसीसीले त्यो रकम नेपालको क्रिकेट विकासमा खर्च गर्ने जनाएको छ । आईसीसीको स्वीकृति पाएपछि ईपीएलमा कुनै पनि देशका दर्ता भएका खेलाडीले खेल्न चाहेमा खेलाडीलाई खेल्न चाहिने अनुमतिपत्र (एनओसी) लिएर खेल्न सक्छन् ।

 

Comment with Facebook

Share This News !

Ads




shares