अलबिदा स्टेफन हकिङ

लन्डन,चैत्र १ गते।(एजेन्सी)
संसारप्रसिद्ध भौतिकशास्त्री तथा खगोलविद् स्टेफन हकिङको ७६ वर्षको उमेरमा बुधबार मृत्यु भएको छ। मोटर न्युरोन रोगबाट ग्रस्त हकिङलाई आफ्नो समयका अति सम्मानित वैज्ञानिक तथा सर्वत्र ख्याति बटुलेका ‘विज्ञानका लोकप्रिय दूत’ रूपमा लिइन्थ्यो। पर्याप्त हास्यचेतका धनी उनी आफूले गरेका विज्ञानसम्बन्धी कार्यबारे सर्वसाधारणले सहजै बुझून्/पहुँच पाऊन् भन्नेमा सचेत थिए।

उनको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ (समयको संक्षिप्त इतिहास) अभूतपूर्व रूपमा ‘बेस्टसेलर’ भयो, यद्यपि किताब पढेकामध्ये कतिले सो किताबको अन्त्यसम्म पढ्न सके भन्नेबारे प्रस्ट छैन। थुप्रै टीभी शोहरूमा उपस्थित भएर हकिङले आफ्ना अन्तर्वार्ता दिएका थिए। सहजरूपमा बोल्न नसक्ने उनी उपकरणमार्फत ‘सिन्थेसाइज’ गरिएको आवाजमार्फत बोल्ने गर्थे। उनको पूरा नाम स्टेफन विलियम हकिङ थियो र उनी बेलायतको अक्सफोर्डमा १९४२ को जनवरी ८ मा जन्मेका थिए। जीव विज्ञानका अनुसन्धाता उनका पिताले जर्मनीको बम प्रहारबाट बच्नका लागि हकिङकी आमासँगसँगै लन्डन छोडेका थिए। अक्सफोर्डबाट पहिलो श्रेणीको डिग्री हाँसिल गरेपछि हकिङले आफ्नो जीवन लन्डन र सेन्ट अल्बान्समा बिताए। यसपछि उनी ब्रह्माण्ड विज्ञानमा स्नातकोत्तर गर्नका लागि क्याम्ब्रिज गए। विश्वविद्यायलमा छँदा नै उनलाई मोटोर न्युरोन रोग रहेको पत्ता लागेको थियो।
ठिटो छँदा उनी घोडा चढ्न र ‘धेरैजना मिलेर चलाउने डुंगा’ चलाउन मन पराउँथे तर क्याम्ब्रिज छँदा नै मोटर न्युरोन नामक रोग लागेपछि उनको शरीर पूर्णरूपमा निस्क्रिय भयो। आफ्नी पहिलो श्रीमती जेनसँग विवाहको तयारी गर्दागर्दै यस्तो गम्भीर रोग लागेको थियो। सन् १९६४ मा डाक्टरले उनलाई दुईदेखि तीन वर्षसम्म मात्र बाँच्ने बताइदिए। तर अपेक्षा गरेभन्दा कम गतिमा उनको शरीरमा रोग फैलियो। हकिङ दम्पतीबाट तीन बच्चा जन्मिए। उतिखेरसम्म श्वासप्रश्वाससम्बन्धी समस्या झेलेर भोइस सिन्थेसाइजसर नामक प्रविधिको सहायताबाट मात्र बोल्न सक्ने भए पनि सन् १९८८ मा हकिङले सर्वसाधारणका लागि ब्रह्माण्ड विज्ञानका बारेमा जानकारी दिने उपयोगी ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक उनले पूरा गरेका थिए। यो पुस्तक एक करोडभन्दा बढी बिक्यो, तर लेखकले यसलाई ‘कहिल्यै नपढिएको चर्चित किताब’ का रूपमा चर्चा भएको पुस्तकका रूपमा बुझेका थिए।

सेलेब्रिटी
हकिङले यस्तो तथ्य पत्ता लगाए, जुन ‘हकिङ रेडिएसन’ का रूपमा चिनियो। यसअनुसार ब्ल्याक होल्सले ऊर्जा निकाल्छ र त्यत्तिकै सकिएर जान्छ। क्याल्कुलेसन र प्रयोगविनै वैज्ञानिक उपायहरूलाई चित्रण गर्नमा उनी प्रसिद्ध थिए। तर सम्भवतः राम्रोसँग परिभाषित सिद्धान्तअनुसार ब्रह्माण्ड विकसित भइरहन्छ भन्नेतर्फ संकेत गर्ने उनको ‘थ्योरी अफ एभ्रिथिङ’ (सबथोकको सिद्धान्त) ले नै धेरैको ध्यान खिच्यो। ‘यिनै पूर्ण सिद्धान्तले नै ब्रह्माण्ड कसरी सुरु भयो’ उनी भन्थे, ‘यो कता जाँदैछ र यो सकिन्छ ? त्यसो भए ब्रह्माण्ड कसरी सकिएला त ? हामीले यस्ता प्रश्नको उत्तर खोज्न सक्यौं भने हामीले साँच्चै ईश्वरकै मस्तिष्क (ज्ञान) समेत जान्नेछौं।’ हकिङले प्राप्त गरेको ‘सेलिब्रिटी हैसियत’ लाई ‘द सिम्प्सन्स’ नामक एनिमेटेड फिल्ममा समेत उतारिएको थियो। हकिङलाई सिम्प्सन्सको प्रमुख पात्र होमरसँग भट्टीमा बसेर रक्सी खाइरहेको र ब्रह्माण्डको स्वरूप दुनोटजस्तै हुन्छ भन्ने होमरको धारणा हकिङ्सले चोर्लान् भनी त्यस फिल्ममा व्यंग्य गरिएको थियो। बीबीसी प्रहसनका शृंखलाहरू, रेड ड्वार्फ र स्टार ट्रेकको द नेक्स्ट जेनेरेसनमा होलोगामका रूपमा उनी हकिङकै रूपमा प्रस्तुत भएका थिए। रक समूह पिंक फ्लोइडले उनको मौलिक सिन्थेसाइज्ड आवाजलाई सन् १९९४ मा निक्लेको द डिभिजन बेल नामक एल्बमको किप टेलिङको भूमिकाका लागि प्रयोग गर्यो। आफ्नो कठिन भौतिक अवस्था हुँदाहुँदै उनले ‘गणितको लुकासियन प्रोफेसर’ का रूपमा क्याम्ब्रिज विश्वविद्यालयमा पढाए र सन् २००१ मा उनको दोस्रो पुस्तक युनिभर्स इन अ नटसेल (संक्षेपमा ब्रह्माण्ड) छापियो।

अस्थिर
आफ्नो बिरामीपनाका कारण आफूलाई उल्टै लाभ भएको ठान्थे हकिङ; यो रोग लाग्नुपूर्व जीवनदेखि आफूलाई वाक्क लाग्ने गरेको बताउँथे उनी। बिरामी भएपछि उनी निर्विकल्प रूपमा अरूमा आश्रित हुन पुगे। रोग लागेपछिका २० वर्षसम्म आफ्नो रेखदेख गर्ने श्रीमतीलाई प्रायः उनी श्रद्धा व्यक्त गरिरहन्थे तर तिनै हकिङले आफ्ना नर्सहरूमध्ये एक महिलाका लागि आफ्नी श्रीमती त्यागे र उनै नर्ससँग १९९५ मा बिहे गरे। सन् २००० सम्ममा हकिङ आफ्ना अनेक स्वास्थ्यसम्बन्धी समस्याको उपचार गर्न क्याम्ब्रिजस्थित याडेनब्रु्रक्स अस्पतालको आकस्मिक कक्षमा लगातार पुग्ने गर्थे। वर्षौंदेखि हकिङ शाब्दिक र भौतिक हिंसाको सिकार भएको सन्दर्भमा प्रहरीले कतिपय व्यक्तिहरूसँग सोधपुछ पनि गर्ने गथ्र्यो।
हकिङ आफ्नो विद्युतीय ह्विलचेयरकोे बेपरवाह तथा चञ्चल चालकका रूपमा चिनिन्थे र भन्ने गर्थे कि अरूको अपशब्द/दुर्व्यवहारका कारण उनी घाइते भएका होइनन्। तर कसैलाई पनि उनलाई दुव्र्यवहार गरेको केसमा मुद्दा चलाइएन। सन् २००७ मा उनी ‘प्यारालाइसिसका कारण चल्न नसक्ने हुँदाहुँदै पनि शून्य तौलको अनुभव गर्ने पहिलो व्यक्ति’ का रूपमा दर्ज भए। एक रूपान्तरित जहाजमा शून्य गुरुत्वाकर्षण शक्तिको अवस्था उत्पन्न गरेर बनाइएको विशेष ठाउँमा उनले त्यस्तो अनुभव गर्ने अवसर पाएका थिए। हकिङले अन्तरिक्ष भ्रमणमा मान्छेलाई चाख बढाउन आफू यस काममा सामेल भएको बताए।

‘मलाई लाग्छ, पृथ्वीमा जीवनको संकट अहिलेसम्मकै खतरापूर्ण अवस्थामा छ र न्युक्लियर युद्ध, आनुवंशिकरूपमा तयार पारिएको भाइरस तथा अन्य खालका संकटका कारण यो अवस्था आएको हो। मानव जाति अन्तरिक्षमा जाँदैन भने अब उसको भविष्य छैन। सोही कारण मैले सर्वसाधारणलाई अन्तरिक्षमा जान प्रोत्साहित गरेको हुँ।’ जेन हकिङ (हकिङकी पहिलो श्रीमती) को हकिङसँगको प्रेमसम्बन्ध र विवाहको व्याख्यामा आधारित भएर सन् २०१४ मा ‘थ्योरी अफ एभ्रिथिङ’ नामक चलचित्र प्रदर्शनमा आयो। वैज्ञानिक हकिङको भूमिका निर्वाह गर्ने कलाकार एडी रेडमेनलाई हकिङ आफैंले चलचित्र बनाउन सहज बनाउने प्रयोजनका लागि भेटे पनि।
डिस्कभरी च्यानलका केही शृंखलामध्ये एकमा उनले ‘कहींकतै अर्को बुद्धिमान प्राणी छ भनेर अनुमान गर्नु पूर्णरूपमा औचित्यपूर्ण रहेको’ बताए र सचेत गराए कि अर्को ग्रहका प्राणीले हाम्रा साधन स्रोतहरूमा आक्रमण गरी लुटेर लैजानसमेत सक्छन्। उनले एकपटक योसमेत लेखे– वयस्क भएपछिको आफ्नो सम्पूर्ण जीवन मोटोर न्युरोन रोगले लियो तर आफूलाई सुन्दर परिवारसहित जिउन र आफ्नो पेसामा सफल हुनमा भने त्यसले कहिल्यै रोकेन। ‘यसले देखाउँछ’, उनले भनेका थिए, ‘कसैले पनि आशा मार्नु हुन्न।’ –बीबीसीबाट

Comment with Facebook

Share This News !

Ads




shares