विश्वकपका च्याम्पियन आयोजक

अहिलेसम्मकै महँगो विश्वकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । आयोजक राष्ट्रका रूपमा रसियाले कुनै कमी राखेको छैन । रसिया ३२ राष्ट्रका खेलाडी, समर्थक र विशिष्ट पाहुनालाई खुसी पार्न दिनरात खटेको छ । अबको एक महिनासम्म रसिया विश्वकपमयी बन्नेछ । विश्वकप फुटबल इतिहासमा एकपटक मात्र आयोजक राष्ट्र समूह चरण पार गर्न सकेन । सन् २०१० को आयोजक दक्षिण अफ्रिकाले यस्तो खराब रेकर्ड बनाएको छ । यसबाहेक अन्य संस्करणमा भने आयोजक राष्ट्र कम्तीमा पनि नकआउट चरणमा पुगेको छ । अझ ६ आयोजक राष्ट्र यस्ता छन्, जसले विश्वकप उपाधि नै घरभित्रै राखेका थिए ।

सन् १९३० (उरुग्वे)
उरुग्वेले पहिलो संस्करण आयोजना गर्‍यो । यसपटक फिफासँग आबद्ध १३ फुटबल राष्ट्रले छनोट चरण नै नखेली विश्वकपमा सहभागी बन्यो । पहिलो संस्करणको विश्व च्याम्पियनका लागि आयोजक उरुग्वे र अर्जेन्टिनाबीच थियो । ३० जुलाईमा इस्टाडियो सेन्टनारियो रंगशालामा फाइनल खेल भयो । उरुग्वेले छिमेकी राष्ट्र अर्जेन्टिनालाई ४–२ ले स्तब्ध पार्दै विश्व च्याम्पियन बन्यो । सो खेलमा डोराडो, सेए, इरिएटे तथा कास्ट्रोले विश्व च्याम्पियनका लागि गोल गरेका थिए । अर्जेन्टिनाबाट पेउसेले र स्टाविलेले मात्र गोल फर्काउन सके ।

१९३४ (इटाली)
दोस्रो संस्करण इटालीले गर्‍यो । सन् १९३४ मा इटालीले विश्वकप आयोजना गर्दा १६ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । इटालीले आठ सहरका आठै रंगशालामा विश्वकप खेलाएको थियो । फाइनलमा आयोजक इटालीले चेकोस्लोभाकियासँग प्रतिस्पर्धा गरेको थियो । निर्धारित समयमा इटाली र चेकोस्लोभाकियाले १–१ को बराबरी खेलेका थिए । अतिरिक्त समयमा इटालीका स्चिआभियोले गोल गर्दै इटालीलाई पहिलोपटक विश्वकप उपाधि दिलाए । चेकोस्लोभाकियाका पुकले खेलको ७१औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । खेलको ८१औँ मिनेटमा ओरिसले इटालीलाई १–१ को बराबरीमा पुर्‍याए ।

१९६६ (इंग्ल्यान्ड)
इंग्ल्यान्डले आठौंँ विश्वकप संस्करण आयोजना गर्‍यो । विश्व फुटबलकै शक्तिशाली राष्ट्र मानिने इंग्ल्यान्डले अहिलेसम्म जितेको विश्वकप नै घरमा आयोजना गरेको संस्करण हो । त्यसयता इंग्ल्यान्डको विश्वकप सहभागिता फितलो रहँदै आइको छ । सन् १९६६ को विश्वकपमा १६ राष्ट्रले आठ सहरमा प्रतिस्धर्पा गरेका थिए । फाइनलमा इंग्ल्यान्डको सामना तत्काल पश्चिम जर्मनीविरुद्ध भएको थियो । उपाधि भिडन्तमा इंग्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा ४–२ ले हरायो । इंग्ल्यान्डका लागि हर्सटले ह्याट्रिक लगाए । उनले खलको १८औँ, १०१ र १२०औँ मिनेटमा गोल गरेका थिए । जर्मनीले निर्धारित ९० मिनेटमा २–२ का लागि बराबरी गोल फर्काएको थियो ।

१९७४ (पश्चिम जर्मनी)
पश्चिम जर्मनीले पहिलोपटक विश्वकप आयोजना सन् १९७४ मा गरेको थियो । यो विश्वकपमा १९ राष्ट्रले नौ सहरमा प्रतिस्पर्धा गरेका थिए । आठ वर्षअघि पश्चिम जर्मनी उपविजेता बनेको थियो । यसपटक घरमै आयोजना भएको विश्वकप भने पश्चिम जर्मनीले नै जित्यो । पश्चिम जर्मनीले फाइनलमा नेदरल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेको थियो । फाइनलमा पश्चिम जर्मनीले २–१ ले बाजी मार्‍यो । खेलको दोस्रो मिनेटमै निस्केन्सले पेनाल्टी गोल गर्दै नेदरल्यान्डलाई १–० को अग्रता दिलाए । त्यसपछि पश्चिम जर्मनीका ब्रन्टर र मुलरले गोल गर्दै च्याम्पियन बनाए ।

सन् १९७८ (अर्जेन्टिना)
पहिलो संस्करणको फाइनलिस्ट अर्जेन्टिनाले पहिलोपटक विश्वकप ट्रफी सन् १९७८ को संस्करणमा उचाल्यो । अर्जेन्टिनाले घरमै आयोजक गरेको विश्वकप उचाल्दा नेदरल्यान्ड उपविजेता बन्यो । विश्वकप इतिहासमा पहिलोपटक ब्याक टु ब्याक आयाजक राष्ट्र नै विजेता बने । यसपटकको संस्करणमा १६ राष्ट्रले ६ सहरमा प्रतिस्धर्पा गरेका थिए । अर्जेन्टिनाले अतिरिक्त समयमा साबिक उपविजेता नेदरल्यान्डलाई ३–१ ले निराश पार्‍यो । अर्जेन्टिनाका लागि केम्पेसले दुई तथा बेर्टोनीले एक गोल गरेका थिए । नेदरल्यान्डका नानिगाले एक गोल मात्र फर्काए ।

सन् १९९८ (फ्रान्स)
फ्रान्सले सन् १९९८ मा विश्वकप आयोजना गर्दा सर्वाधिक ३२ राष्ट्रले विभिन्न १० सहरमा प्रतिस्पर्धा गरेका थिए । घरमै आयोजित विश्वकपको फाइनलमा फ्रान्सले साबिक विजेता ब्राजिललाई फाइनलमा ३–० ले स्तब्ध पारेको थियो । उत्कृष्ट फर्ममा रहेको ब्राजिलले फ्रान्सलाई सहजै हराउने अपेक्षा गरिएको थियो । तर, प्ले मेकर जिनेदिन जिदानको जादुमयी खेलका अगाडि ब्राजिलले घुँडा टेक्यो । जिदानले फाइनलमा दुई गोल गरेका थिए ।

Sorce: enayapatrika

Comment with Facebook

Share This News !

Ads




shares