देउवाका कारण पार्टीलाई थप हानी हुन सक्ने : कांग्रेस नेताहरु

सभापति शेरबहादुर देउवाकै कमजोरीका कारण पार्टी थप कमजोर हुन सक्ने कांग्रेस नेताहरुले बताएका छन् । विधानअनुसार नचलेर ‘मनलाग्दी’ गर्दा नेतृत्वप्रति जिल्ला स्तरीय नेतादेखि कार्यकर्तासम्ममा बितृष्ण पैदा भएको नेता प्रकाशमान सिंहले बताए ।

काठमाडौँमा आयोजित कार्यक्रममा पूर्वमहामन्त्री सिंहले देउवाप्रति लक्षित गर्दै भने, ’नेतृत्वले अझै कार्यकर्ता के चाहान्छन भन्ने कुरा थाहा पाउन सकेको जस्तो मलाई लाग्दैन, यसले पार्टीलाई थप हानी गर्न सक्छ ।’

Prakashman Singh

छुट्टै कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले प्रजातन्त्रका लागि लडेको पार्टी प्रजातान्त्रिक पद्दतिअनुसार चल्न नसक्दा कमजोर भएको उल्लेख गरे । तर, पार्टी सुधारमा नेतृत्व अझै गम्भीर नदेखिएको उनको भनाइ छ । ‘महाधिवेशन भएको दुईवर्ष बित्दा पनि पार्टीको केन्द्रीय समिति, पदाधिकारी र विभागले पूर्णता नपाउनु भनेको एउटा प्रजातान्त्रिक पार्टीका कार्यकर्ताका लागि कति दुःखद् पक्ष हो?’ उनले प्रश्न गरे ।

कोइरालाले चुनावमा पराजित पार्टीलाई नयाँ गति दिन महासमितिको बैठक नै बोलाउनुपर्ने बताए । उनले प्रत्यक्षतर्फ २ सय ४० सिटको संसद्लाई १ सय ६५ मा झार्नु, स्थानीय तह थोरै हुनु, नगरपालिकाहरू उपमहानगरपालिका र महानगरपालिकामा परिणत भएअनुसार संगठन विस्तार गर्न नसक्नु नेतृत्वको कमजोरी भएको बताए । विधानमा प्रादेशिक संरचना नै नरहेकाले पनि महासमिति अपरिहार्य रहेको उहाँले उल्लेख गरे ।

नेताहरु गगनकुमार थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदीप पौडेललगायतले पनि देउवाले तत्काल महासमिति बैठक बोलाएर कमजोरीको समिक्षा गर्नुपर्ने आवाज उठाइरहेका छन् । युवा नेताहरूले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुरानो पुस्ताले बिदा लिएर पार्टीमा नयाँ ऊर्जा प्रवाह गर्नुपर्ने बताउँदै आएका छन् । पराजयको कारण खोजेर पार्टीलाई थप ऊर्जासहित अघि बढाउनुपर्ने सभापति देउवा पक्षको तर्क छ भने युवा नेताहरू नेतृत्व नै परिवर्तन गर्नुपर्ने पक्षमा छन् । युवा नेतृत्वले चुनावमा पार्टी पराजित हुनाका कारण प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग, लोकमानविरुद्धको महाभियोगका पक्षमा लाग्नु, आईजीपी प्रकरण, आर्थिक लाभ लिएर राजदूत नियुक्ति, भारतीय नाकाबन्दीलगायत मुद्दामा नेतृत्वको मौनता नै रहेको दाबी गर्दै आएका छन् । तर, देउवाले भने तत्काल ती कमजोरी स्वीकारेर नेतृत्व हस्तान्तर नगर्ने संकेत गरेका छन् । उनले तत्काल देशका केही महत्वपूर्ण विषयमा ध्यान केन्द्रित गर्नुपर्ने भन्दै महासमिति बैठकसमेत पछि धकेल्दै आएका छन् । देउवा निकट मानिएका केन्द्रीय सदस्य एवं खानेपानी मन्त्री महेन्द्र यादवले राष्ट्रिय सभा निर्वाचनपछि महासमिति बैठक बस्ने बताए । उनका अनुसार सभापति देउवाले फागुन दोस्रो साता महासमिति बैठक बोलाउन तयारी गरे । तरुण दललगायत भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन रोक्ने काममा पौडेललगायत नेता नै रहेको उनको आरोप छ । यादवले चार दर्जनभन्दा बढी पार्टी विभाग र संगठनले पूर्णता पाउन नसक्नुमा पनि देउवा मात्र नभएर पौडेल र उनको गुटसमेत जिम्मेवार रहेको दाबी गरे । उनले भने, ‘विशेष महाधिवेशनको प्रश्न उठिरहेको छ, जुन आवश्यक छैन र हुँदैन पनि । महासमिति बैठक फागुन दोस्रो साता बस्नेछ ।’

Comment with Facebook

Share This News !

Ads




shares