वाम गठबन्धनले राष्ट्रियसभा चुनावमा ४३ पदमा उम्मेदवारी दिने

काठमाडौँ — माघ ३ गते,

एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा ४३ पदका लागि उम्मेदवारी दिने भएको छ । दुवै पार्टीका संयुक्त कार्यदलको बुधबार सिंहदरबारमा बसेको बैठकले उम्मेदवारको संख्या टुंगो लगाएको हो। बैठकको निर्णयअनुसार एमालेले २९ र १४ जना माओवादी केन्द्रले उम्मेदवार उठाउने छन्। बाँकी १३ सिटका लागि अन्य दलहरुसँग पनि कुराकानी गरेर उम्मेदवारी दिने/नदिने तय हुने कार्यदल संयोजक एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

कार्यदलमा एमालेका तर्फबाट नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका रामबहादुर थापा, वर्षामान पुन र मातृका यादव छन्।राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीनजनासहित ८ जना चुनिने छन्। त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना महिला सहित तीन जना राष्ट्रियसभामा मनोनित हुनेछन्।

सरकारले यही माघ २४ गतेका लागि राष्ट्रियसभा निर्वाचन तोकिइसकेको छ।माघ १० गते उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने निर्वाचन आयोगको तालिका छ। त्यस्तै माघ ७ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने र ११ देखि साँझ ५ बजेसम्म प्रकाशित नामावली उपर दाबी/विरोध तथा उजुरी दिन सकिने छ। यस्तै माघ ८ गते नामावली उपर परेका उजुरीमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशन हुनेछ। कुल मतदाताको संख्या २ हजार ५६ छन्।

 

Comment with Facebook

Share This News !

Ads




shares