खोटाङका १४ जनप्रतिनिधिले दिए सामुहिक राजिनामा

खोटांगको दिप्रुङ गाउँपालिकाको केन्द्र राख्ने स्थानका विषयमा बिबाद भएपछि १४ जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् । एक पक्षले रोशा भञ्ज्याङ र अर्को पक्षले डाडाँगाउँ वा नाराङ्गाको अडान लिएर बिबाद भएपछि डाडाँगाउँ वा नाराङ्गाको पक्षमा अडान लिने समूहले पालिका प्रमुख भूपेन्द्र राई समक्ष सामुहिक राजिनामा दिएका हुन् ।

सात वटा वडा रहेको दिप्रुङ गाउँपालिकाको केन्द्र डाडाँगाउँ वा नाराङ्गा नै राख्नुपर्ने अडान लिँदै आएका वडा नम्बर १ याम्खाका अध्यक्ष शमशेरबहादुर खत्री, २ डाडाँगाउँका अध्यक्ष भीमबहादुर खत्री र ७ टेम्माका अध्यक्ष धनबहादुर मगरसहित १४ जनाले शुक्रबार साँझ राजिनामा दिएका छन । केन्द्रको विषयमा कुरा नमिलेपछि बिहिबारदेखि शुरु भएको गाउँ कार्य पालिकाको बैठक स्थगित गरिएको छ ।

स्थानीय सरकार सञ्चालन सम्बन्धी ऐन २०७४ अनुसार पालिकाको केन्द्र र नाम छ महिनाभित्र टुङ्गो लगाइ सक्नुपर्ने प्रावधान छ । ऐन अनुसार यही पुस अन्तिमसम्ममा सबै नगरपालिका र गाउँपालिको केन्द्र टुङ्ग्याउनु पर्नेछ ।

बैठक शुरुबाटै बिबाद भएपछि पुस १० गतेसम्मका लागि स्थगित गरिएको पालिका प्रमुख राईले बताए । “केन्द्रको विषयलाई लिएर वडाअध्यक्षहरुले राजिनामा नै दिएका छन् ।” उनले भने, “कसैलाई असर नगर्नेगरी सहमतीमै निर्णय गरिनेछ ।”

यसअघि हलेसी तुवाचुङ नगरपालिकाका प्रमुखले आफू खुसी नगरपालिकाको कार्यालय राख्ने स्थान तोकेको भन्दै चार जना वडाअध्यक्षले बिरोध जनाएका छन् । नगर प्रमुख ईवन राईले दुर्छिमको छापडाँडामा रहनुपर्ने कार्यालयलाई आफू खुसी कोटगैरामा राख्ने निर्णय गराएको भन्दै विज्ञप्ती निकालेर बिरोध जनाएका हुन् ।

Comment with Facebook

Share This News !

Ads




shares