माओवादी केन्द्रका केही नेताद्वारा असहमति प्रकट

काठमाडौँ, पुस ८ गते । पार्टीको नेतृत्व तहबाट नेकपा (एमाले)सँग एकीकरणको प्रक्रियालाई तीव्र ढङ्गले अघि बढिरहँदा नेकपा (माओवादी केन्द्र)का केही नेताहरूले असहमति प्रकट गर्नुभएको छ । पार्टीका कार्यालय सदस्य गोपाल किराँती र सचिवालय सदस्य विश्वभक्त दुलाल (आहुति) को नेतृत्वमा असन्तुष्ट नेताहरूले छुट्टाछुट्टै अभियान थाल्नुभएको छ ।
छलफल नगरी नै पार्टी एकीकरण गर्न लागिएको भन्दै दुवै जनाले असन्तुष्टि जनाउनुभएको हो । स्रोतका अनुसार एकीकरणअघि पार्टीको तल्लो तहसम्म छलफल गर्न पाउनुपर्ने भन्दै किराँतीले महाधिवेशनको माग गर्नुभएको छ । किराँतीले महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यलयमा पत्रसमेत दर्ता गर्नुभएको उहाँ निकट एक नेताले जानकारी दिनुभयो । यद्यपि यस’bout पार्टीले कुनै निर्णय गरेको छैन ।
अर्का नेता आहुतिले भने छलफलको कुनै सम्भावना नै नरहेको भन्दै फरक कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भन्नेहरूबीच छुट्टै बहस सुरु गरेको बताउनुभयो । ‘पार्टी एकीकरणको प्रक्रिया र विचार’bout कुनै छलफल नगरी एकैचोटि हामी एक भइसक्यौँ भन्नु भनेको कम्युनिस्ट आन्दोलनको विघटन हो,’ आहुतीले भन्नुभयो, ‘त्यसैले कम्युनिस्ट आन्दोलन बचाइराख्नुपर्छ भन्नेहरूबीच हामीले बहस सुरु गरेका छौँ । ’
किराँतीले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको ‘माओवाद’ एकीकरण प्रक्रियामा छाड्न लागिएको तथा उत्पीडित समुदायको पहिचानको मुद्दालाई राजनीतिक कार्यक्रमबाट हटाउने योजना बनाइएको भन्दै विरोध गरिरहनुभएको छ । यी दुई विषयलाई छाडेर पार्टी एकीकरण हुँदा आफू त्यसमा सामेल नहुने उहाँले बताउँदै आउनुभएको छ ।
आहुतिले भने दुई पार्टीबीचको एकीकरण ‘कम्युनिस्ट आन्दोलन सकियो’ भन्ने बुझाइबाट हुन लागेको टिप्पणी गर्दै आफूहरूले नयाँ ढङ्गले कम्युनिस्ट आन्दोलन अघि बढाउन छलफल बढाएको बताउनुभयो ।
यो एकीकरण दुई कम्युनिस्ट पार्टीबीचको एकीकरण नभएकोले त्यसमा सहभागी नहुने उहाँले जानकारी दिनुभयो । माओवादीका करिब चार सय जना पोलिटब्युरो सदस्यमध्ये दुवै नेतासँग झन्डै २५ जना पोलिटब्युरो तहका नेताहरू सहभागी रहेको बताइएको छ । पार्टीसँग असन्तुष्ट रहँदै चुनावअघि राजीनामा दिनुभएका लोकेन्द्र विष्ट मगर पनि यो अभियानमा सहभागी हुनुभएको आहुतिले बताउनुभयो ।
उहाँहरूले पार्टी एकीकरणको घोषणा हुने बित्तिकै छुट्टाछुट्टै पार्टी बनाउने योजना बनाउनुभएको बुझिएको छ । एमाले र माओवादीका शीर्ष नेताहरूले तत्काल पार्टी एकीकरण प्रक्रिया अघि बढाउने बताउँदै आउनुभएको छ ।
विगतमा कम्युनिस्ट पार्टीबीच एकीकरण हुँदा पार्टीको सैद्धान्तिक बाटो, तत्कालीन तथा दीर्घकालीन रणनीति, कार्यनीति लगायतका विषयमा छलफल भएको इतिहास भेटिन्छ । यस पटक मुलुकका दुई ठूला पार्टीबीच एकता हुँदा यी सब विषयमा छलफल हुने सम्भावना निकै कम देखिएको छ । दुई पार्टीका नेता कार्यकर्ताको बहस नयाँ पार्टीले लिने विचारभन्दा पार्टीमा लिने ‘पद र सरकारको नेतृत्व’मा केन्द्रित देखिएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares