राजपा महाधिवेशन तयारीमा

काठमाडौँ ,चैत्र २० गते।

राष्ट्रिय जनता पार्टी (राजपा) ले ६ महिनाभित्र महाधिवेशन गर्ने तयारी अघि बढाएको छ । एक वर्षअघि ६ पार्टी एकीकरण गरेर बनेको राजपाले एकता महाधिवेशनअघि कस्तो नेतृत्व प्रणालीमा जाने भन्नेबारे बहस पनि सुरु गरेको छ ।

राजपामा अहिले एकीकरणअघिका ६ पार्टीका अध्यक्षकै सामूहिक नेतृत्व कायम छ, जसलाई अध्यक्षमण्डल भनिएको छ । त्यसको संयोजक तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर छन् ।

‘सामूहिक या एकल नेतृत्व प्रणालीबाट जाने भन्नेबारे छलफल गर्दै छौं,’ राजपा नेता राजेन्द्र महतोले भने । उनका अनुसार संघीय संरचनाअनुसार केन्द्र र प्रादेशिक संरचनाका लागि विधान संशोधन गर्नुपर्ने भएकाले छलफल हुने बताए ।

राजपाको चैत २१ गते अध्यक्ष मण्डलको, चैत २२ गते संसदीय दलको र चैत २७ गते राजनीतिक समितिको बैठक बस्दै छ । यी बैठक महाधिवेशन तयारीमा केन्द्रित हुने महतोले बताए । राजपा नेता केशव झाले राजनीतिक समितिको बैठकमा महाधिवेशन तिथि प्रस्तावित हुने बताए । ‘कात्तिकमा महाधिवेशन गर्ने गरी तिथि र स्थान तोक्नेबारे अनौपचारिक छलफल जारी छ।’ उनले भने ।

अहिले कायम भएको अध्यक्षमण्डललाई सल्लाहकार समूहको रूपमा राख्ने या बहुपदीय प्रणालीमा जाने भन्नेबारे राजपाभित्र अन्योल छ । अध्यक्षमण्डलका ६ सदस्यको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमै अप्ठ्यारो परेको छ । गत वैशाखमा ठाकुरले नेतृत्वको गरेको तराई मधेस लोकतान्त्रिक, राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना, शरदसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवार्दी, महेन्द्र यादवले नेतृत्व गरेको तराई मधेस सद्भावना, राजकिशोयर यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको थियो ।

चुनाव चिह्नबारे टुंगो लागिसके पनि पार्टीको विचार र संगठन स्वरूपमा अझै बहस जारी छ । ‘कति संख्यामा पदाधिकारी राख्ने र केन्द्रीय कार्यसमिति कत्रो हुने भन्नेबारे छलफल गर्छौं,’ नेतृत्वका लागि दाबी गर्दै आएका महतोले भने, ‘अबका बैठकमा यसबारे औपचारिक छलफल हुन्छ ।’

 

Comment with Facebook

Share This News !

Ads




shares